पहिलो दिन शिवराम अगाडि

काठमाडौं, १ चैत । नेपालका शिवराम श्रेष्ठले गोकर्ण गोल्फ कोर्समा बुधबारदेखि सुरु सूर्य नेपाल मास्टर्समा पहिलो दिन अग्रता लिएका छन् । दिनको समाप्तिमा १८ होलको खेल सकिँदा शिवरामले ७ अन्डर ६५ को स्कोर बनाउँदै एक स्ट्रोकको अग्रता हासिल गरेका हुन् ।
भारतका शङ्कर दास ६ अन्डर ६६ को कार्ड बनाउँदै दोस्रो स्थानमा छन् भने श्रीलङ्काका अनुरा रोहना र भारतका सञ्जय कुमार ५ अन्डर ६७ को प्रदर्शनसहित संयुक्तरूपमा तेस्रो स्थानमा छन् । त्यसैगरी ४ अन्डर ६८ को कार्ड बनाएका भारतकै विक्रान्त चोपडा र अभिजित सिंह चड्ढाले चौथो स्थान बाँडेका छन् ।
भर्खरै सम्पन्न सूर्य नेपाल गोल्फटुर सत्रमा ११ मध्ये सात उपाधि जित्नुका साथै अर्डर अफ मेरिटको पहिलो स्थान ओगटेका शिवरामले घरेलु कोर्सको फाइदा उठाउँदै दोस्रो र तेस्रो होलमा वर्डीसहित उत्कृष्ट सुरुआत गरेका थिए । उनले सातौं तथा नवौं होलमा थप दुई वर्डी बनाउँदै पहिलो भागलाई चार अन्डरमा राखेका थिए । पछिल्लो नौ होलमा नेपाली व्यावसायिक खेलाडीले एघारौं होलमा इगल बनाउनुका साथै १२ औं होलमा थप एक स्ट्रोक जोगाउँदै ७ अन्डरको कार्ड तयार पारेका थिए । थप ६ होलको खेल बाँकी छँदा शिवरामले दुईपटक वर्डी गुमाएका थिए ।
‘मैले दुईवटा वर्डीको अवसर गुमाए पनि आजको खेलबाट खुसी छु । यो त सुरुवात हो र मैले अझ तीन राउन्ड खेल्न बाँकी छ । आशा छ, मैले आफ्नो यही प्रदर्शनलाई कायम राख्नेछु ।’ पहिलो दिनको खेलपछि शिवरामले भने, ‘खेलको वातावरण निकै नै राम्रो छ र म यसमा रमाएको थिएँ । १२ होलमा १२ अन्डर छँदा पनि मैले आफ्नो खेलको गतिलाई कम गरिन किनभने म रक्षात्मक हुन सक्दिन ।’ अन्य नेपाली खेलाडीमा तोरण शाही, रवि खड्का र सञ्जय लामा इभनपार ७२ को कार्ड बनाउँदै २३ औं स्थानमा छन् ।
उता एमेच्योरतर्फ भने ७५ जनामा अग्रता हासिल गरेका टासी घले समग्रमा ४५ औं स्थानमा रहेका छन् । सूर्य नेपाल एनजिए गोल्फ डेभलपमेन्ट प्रोग्रामका लागि  छानिएका चारमध्ये दुई युवा खेलाडी दिनेश प्रजापति र विकास बोगटीले पनि ठूला खेलाडीसँग खेल्दै क्रमशः ७७ र ७८ को प्रदर्शन गरेका छन् । दोस्रो स्थानमा रहेका शङ्कर दासले दोस्रो, चौथो, छैटौं, सातौं, नवांै, एघारौं, १२ औं तथा १७ औं होलमा वर्डी बनाए पनि आठौं तथा १३ होलमा बोगीबाट जोगिन सकेनन् । उता दोस्रो, तेस्रो, नवौँ, एघारौँ तथा १२ औँ होलमा वर्डी बनाएका सञ्जय कुमारले बोगी रहित राउन्ड खेलेकाथिए । सात वटा वर्डी बनाएका अनुराले १५ औँ होलमा डबल बोगी बनाएका थिए ।

प्रतिक्रिया