साढे आठ महिनामा चार सयको मृत्यु

काठमाडौँ, १ चैत । रोजगारीका सिलसिलामा बिदेसिने नेपाली कामदारको वृद्धिसँगै मृत्यु हुनेको सङ्ख्या पनि बढ्दै गएको छ ।
सरकारले विदेश जाने कामदारलाई अनिवार्य अभिमुखीकरण तालिमको व्यवस्था गरे पनि सम्बन्धित मुलुकको ट्राफिक नियम, कामको प्रकृति र कानुनी उपचारका विषयमा जानकारी कम हुँदा रोजगारीका क्रममा मर्नेको सङ्ख्या बढेको हो ।
चालु आर्थिक वर्षको साढे आठ महिना अवधिमै रोजगारीकै क्रममा करिब चार सय कामदारको मृत्यु भएको छ । गत आवमा रोजगारीका लागि विभिन्न मुलुक गएका चार सय ६६ नेपाली कामदारको मृत्यु भएको थियो । यो सङ्ख्या आव ०६६, ०६७ भन्दा १७ प्रतिशत बढी हो ।
चालु आवमा सबैभन्दा बढी मलेसियामा कार्यरत कामदारको मृत्यु भएको छ । सो अवधिमा मलेसियामा मात्र एक सय ५१ जना कामदारको मृत्यु भएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ । सो अवधिमा मलेसियामा एक सय ४६ पुरुष र पाँच महिलाको मृत्यु भएको बोर्डको तथ्याङ्क छ ।
यस्तै, चालु आवको साढे आठ महिनामा साउदीमा ९८, कतारमा ७५ र युएइमा २९ कामदारको मृत्यु भएको छ । ती मुलुक नेपाली कामदारका लागि प्रमुख गन्तव्य भएकाले पनि बिदेसिने र मृत्यु हुनेको सङ्ख्या बढेको हो । आफू कार्यरत कम्पनी, त्यहाँका मेसिनरी पाटपुर्जा र सडकको राम्रो ज्ञान नपाएकाले नै विदेशमा कामदार मृत्यु हुने क्रम बढेको बोर्डले जनाएको छ । गत आवमा पनि सबैभन्दा बढी मलेसियामा कार्यरत कामदारको मृत्यु भएको थियो । सो अवधिमा मलेसियामा दुई सय १३ नेपाली कामदारको मृत्यु भएको छ । साउदीअरबमा एक सय पाँच, कतार एक सय दुई, संयुक्त अरब इमिरेट्स (युएई) २६, कुवेत नौ, लेबनानमा चार र बहराइनमा तीन नेपाली कामदारको मृत्यु भएको थियो ।
२०६४ साउनदेखि चालु आवको १५ फागुनसम्म रोजगारीका लागि बिदेसिएका मध्ये करिब एक हजारजनाको मृत्यु भएको बोर्डको तथ्याङ्क छ । यसमा अधिकांश पुरुष रहेका छन् । आव ०६६, ०६७ मा विदेशमा तीन सय ९८ र ०६५, ०६६ मा ८७  नेपाली कामदारको मृत्यु भएको थियो । यो सङ्ख्या बर्सेनि बढेर गएको सरकारी तथ्याङ्क छ ।
बोर्डका कार्यकारी निर्देशक स्थानेश्वर देवकोटा विदेशमा बिभिन्न कारणले कामदारको मृत्यु हुने गरेको र केही वर्षयता त्यो सङ्ख्या बढेको बताउँछन् । ‘विगतमा कति कामदारको विदेशमा मृत्यु हुन्छ भन्ने यकिन हुन्नथ्यो’, उनले भने, ‘अहिले बोर्डअन्तर्गतको कामदार कल्णकारीकोषबाट राहत पाइने भएकाले पनि मृतकका परिवार सम्पर्कमा आउने भएकाले त्यो जानकारी हुने गरेको छ ।’
गैरकानुनी रूपमा रोजगारीमा गएर मर्नेको सङ्ख्या पनि उत्तिकै रहेको बोर्डले जनाएको छ । तर, तिनको यकिन तथ्याङ्क बोर्डमा हँुदैन । बोर्डका कार्यकारी निर्देशक देवकोटाका अनुसार गैरकानुनी ढङ्गबाट गएका कामदारले कल्याणकारी कोषमा रकम नतिर्ने हुँदा उनीहरूका हकवालाले क्षतिपूर्ति पाउँदैनन् । विदेशमा मृत्य भएका कामदार परिवारलाई ६ महिनाभित्र निवदेन दिएमा एक लाख ५० हजार रुपियाँ, सो अवधिपछि २५ हजार रुपियाँ र करार अवधि सकिएकालाई १० हजार रुपियाँ दिँदै आएको बोर्डले जनाएको छ ।
खाडी मुलुक र मलेसियामा ५०, ५५ डिग्री तापक्रमको घाममा काम गरी कोठामा एसी चलाएर बसेको र ट्राफिकसम्बन्धी जानकारी नहुँदा सडक दुर्घटनाका कारणले नेपाली कामदारको मृत्यु हुने गरेको कार्यकारी निर्देशक देवकोटाको भनाइ छ ।

प्रतिक्रिया