पश्चिमाञ्चल महोत्सवमा ‘ढोरपाटन’ टुर

बाग्लुङ, १ चैत । ढोरपाटन शिकार आरक्ष घुम्ने इच्छा छ भने अब तपाईं  सहज रूपमा जान सक्नुहुनेछ । चैतमा बाग्लुङमा हुने पश्चिमाञ्चल स्तरीय औद्योगिक ब्यापार मेला तथा तेस्रो बाग्लुङ महोत्सवको अवसर पार्दै बाग्लुङ उद्योग वाणिज्य सङ्घले आन्तरिक तथा बाह्य पर्यटकलाई हेलिकोप्टरबाट घुमाउने व्यवस्था गरेको हो ।
सङ्घका अध्यक्ष वसन्तकुमार श्रेष्ठका अनुसार ढोरपाटन शिकार आरक्ष बाग्लुङ सदरमुकामदेखि एक सय ४४ किलोमिटरको दुरीमा पर्छ । आगामी १३ देखि २१ चैतसम्म सञ्चालन हुने सो महोत्सवमा नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनका साथै भकुन्डेको गाँजादह, घुम्टेलेक, बाग्लुङ कालिका, पर्वतको गुप्तेश्वर, म्याग्दीको गलेश्वरसमेत हेलिकोप्टरबाटै दृश्यावलोकन गर्नसक्ने व्यवस्था गरिएको छ ।
ढोरपाटनमा पर्यटकका लागि निर्माणाधीन सामुदायिक लज पनि महोत्सव सञ्चालनका बेलासम्म सम्पन्न भइसक्ने र बाग्लुङदेखि त्यहाँ लगेका पर्यटकलाई एक दिन ढोरपाटनमा राखी फेरि महोत्सवमा फर्काउने योजना रहेको श्रेष्ठले बताए । यसअघि ढोरपाटनमा होटल नहुँदा पर्यटकहरू बाग्लुङबजारबाटै फर्कने गरेका थिए । निर्माण सम्पन्नगर्न करिब १० प्रतिशत काममात्र बाँकी रहेको लजमा करिब ३० वटा कोठा रहेका छन् । बाग्लुङ बजारदेखि ढोरपाटनसम्म पुग्नका लागि पैदलयात्राको बीचबाटोमा व्यवस्थित होटल नहुँदा पर्यटकले समस्या झेल्दै आएका थिए । बाग्लुङका पर्यटन व्यवसायीले ढोरपाटनमा लज निर्माण र हेलिकप्टरबाट महोत्सवमा सयरको व्यवस्था गरेपछि जिल्लामा पर्यटन आगमनमा समेत वृद्धि हुने अपेक्षा गरिएको छ । महासङ्घले बाग्लुङलाई लोक्ता र नेपाली कागजको जिल्लाका रूपमा घोषणा गरिसकेको छ । स्टल संयोजक बासु श्रेष्ठले आन्तरिक तथा बाहिरी पर्यटकलाई महोत्सवमा भित्र्याउन कला संस्कृति र घरेलु उत्पादनका दुई सय ५० स्टल राख्ने तयारी गरेको जानकारी दिए ।  महोत्सवमा ५ करोड रुपियाँको आर्थिक कारोबार हुने र तीन लाख पर्यटकले अवलोकन गर्ने लक्ष्य आयोजकले राखेका छन् ।

प्रतिक्रिया