जुत्तामा अल्झिएको सपना

दुब्लो शरीर, झुस्स बढेका दाह्री, कान्ति उडेको फुङ्ङ अनुहार । मानौँ, शरीरमा रगतै छैन । पुस–माघको जाडो होस् या चैत वैशाखको टन्टलापुर घाम, कुनै परबाह छैन एउटा बूढो शरीरलाई । हरेक दैनिकी अर्काको जुत्ता पालिस गर्दैमा बित्छ, लालबाबु रामको ।
नयाँ बानेश्वरचोकमा बसेर यो पेसा अँगाल्ने क्रममा २० वर्ष खर्चिसके लालबाबुले । निजामती सेवामा भए पेन्सन हुने बेला भइसक्यो । तर, उनी उस्तै छन् । बानेश्वर बदलिइसक्यो, सडक थप चिल्लो हुँदै छ । उनका हात भने थोत्रा जुत्ता टल्काउँदाटल्काउँदै झनै खस्रिँदै जाँदै छन् । दस–पाँचको अफिस गर्नेलाई जस्तो साप्ताहिक छुट्टी छैन उनलाई । बिसन्चो हुँदा पनि उसै गरी घोटिइरहन्छन् । भन्छन्– ‘हातले छुट्टी पाएको दिन त मुखले पनि छुट्टी मनाउनुपर्छ ।’
दैनिक २०–२५ जनाको जुत्ता सिलाउन या पालिस गर्न नपाए उनको चुलो बल्दैन । उनले टल्काइदिएका जुत्ता लगाएर कयौँ मानिसले जागिरका अन्तर्वार्ता पास गरी दह्रिलो आर्थिक हैसियत बनाइसके होलान् । उनको बुरुसले ठाँटिएर मानिसहरू चिल्ला गाडीमा चढ्छन् अनि उनैको कान टट्टाउने गरी हर्न बजाएर हिँड्छन् । चिडचिडाहटले दिमाग रन्थनिएका लालबाबु कालाम्मे आँैला अनायास कानभित्र घुसार्छन् । तर, धेरैबेर यसो गरिरहन पाउँदैनन्, फेरि हतारहतार सियोले जुत्ता खोप्न थालिनहाले ती हातले भरे मुख छुन पाउनेवाला छैनन् ।
लालबाबुले पसल जमाएको स्थानबाट सडक पार गरेपछि संविधानसभा भवन पुगिन्छ । त्यहाँभित्र लालबाबुजस्ताको अवस्था अनि सपनालाई पटकपटक कागजी अनि बजेटी आश्वासनले गिज्याइन्छ । टलक्क भवन अनि त्यहाँ छिर्ने गाडीहरूको चमकले धेरैचोटि उनको आँखा तिर्मिराइसकेको छ । ग्राहक नआएका बखत यतैतिर हेरेर सुस्ताउँदा हुन् । तर, उनलाई थाहा छैन– त्यहाँभित्र के हुन्छ, अनि को–को छन् । पछाडिपट्टि स्ट्यान्डर चार्टर्ड बैंक छ, जहाँ धनवान् व्यक्तिहरू आर्थिक कारोबार गरिरहन्छन् । उनी आजसम्म त्यहाँ छिरेका छैनन्, छिरुन् पनि किन र, त्यहाँ जम्मा गर्ने गरी पैसा कमाउन नसकेपछि । सुनाउँछन्– ‘त्यहाँ जाने मान्छेहरू कहिलेकाहीँ मकहाँ जुत्ता पालिस गर्नचाहिँ आउँछन् ।’
सर्लाहीको पिपरिया हो उनको घर । उमेर जम्मा ५६ वर्ष, तर देखिन्छन् उमेरभन्दा बूढो । घरमा बुबाआमा र छोराबुहारी छन् रे ! श्रीमतीले दुई वर्षअघि संसार छाडिछन् । ‘खोइ के बिमार हो, मैले थाहा पाइनँ । एक हप्तासम्म पाटन अस्पतालमा भर्ना गरेको थिएँ, पछि त मरिगयो’, मधेसी लवजमा आफ्नो पीडा ओकले उनले ।
आफ्नो जिन्दगी सधैँ अभाव र पीडामै बितेको सुनाउँछन् उनी । दिनमा दुई–तीन सय कमाउँछन्, त्यसले यो काठमाडौँको महँगीमा छोप पनि लाग्दैन । दिउँसो देशका कुरा गरेर समय कटाउने साथीसङ्गी उनीसँग छैनन् । अगाडिका पालिस, ब्रस, सियो र धागो नै उनका साथी हुन्, जोसँग उनी खेल्छन् अनि बात मार्छन् । ‘गाउँघरमा बाह्र वर्षमा अवस्था फेरिन्छ भन्ने उखान गर्थे । खोइ यो उखानले मेरो गरिबीलाई चाहिँ झापड हान्न सकेन’ घतलाग्दो गरी भने  ।
बिहान ७ बजेतिर नै लालबाबु बानेश्वर चोकमा पुगिसक्छन् । बिहानको खाना होटलमा खान्छन्, ८० रुपियाँ तिरेर । बेलुकीको खानाचाहिँ कोठामै खान्छन् ।  शङ्खमूलको कोठामा उनी अरू चार जना साथीसँग सामूहिक रूपमा बस्छन् । उनको भागमा महिनाको पाँच सय रुपियाँ भाडा पर्छ । ‘भाडामा त्यत्ति अप्ठ्यारोचाहिँ छैन’ कालो अनुहार अलिकति चम्किलो देखियो । एक जोर जुत्ता पालिस गरेबापत कति पाउँछन् त उनले ? ‘२० रुपियाँ, कति हुनु र ?’ महँगो काठमाडौँमा सस्तो भाउ सुनाए उनले– ‘जुत्ता सिलाएको चाहिँ न्यूनतम १० रुपियाँ ।’ एक वर्षमा ६ वटा ऋतु हुन्छन् । सबै मानिसले सबै ऋतु भोग्छन् । तर, लालबाबुको जीवनमा चाहिँ सधैँ एउटै ऋतुको बास छ– सुनसान, अभाव, उजाड अनि खुसीहरूको खडेरी मात्र ।
– सरिता

प्रतिक्रिया