उपलब्धिहीन भ्रमण रोक

मितव्ययिताको नारा दिँदै सत्तारुढ बनेको वर्तमान मन्त्रिमण्डल इतिहासमै सबैभन्दा बढी खर्चालु साबित भएको छ । राज्यको ढुकुटी रित्याउनमा पनि यो मन्त्रिपरिषद्ले सबैलाई उछिनेको छ । जम्बो मन्त्रिमण्डल गठन गरेर अहिलेसम्मको कीर्तिमान तोडेका प्रधानमन्त्री डा बाबुराम भट्टराईले जनताले तिरेको करबाट राज्यकोषमा जम्मा भएको रकममा आफ्ना मन्त्रीलाई ब्रह्मलुट गर्न दिएर अर्को कीर्तिमान कायम गरेका छन् । जिल्ला भ्रमणको नाममा मन्त्रीहरूले ठूलो धनराशि हिनामिना गरेको खुल्न आएको छ । यो अत्यन्त नाजायज र फजुल खर्च हो । यो प्रवृत्ति तुरुन्त रोकिनुपर्छ ।
वर्तमान सरकारका मन्त्रीले एक वर्षलाई भनेर छुट्याएको भ्रमण बजेट ६ महिनामै समाप्त पारेका छन् । त्यो पनि कामविशेषमा खर्च भएको होइन । विदेश र जिल्ला भ्रमण गर्दै सकेका हुन् । फजुल खर्च गर्न नियमकानुनले पनि बन्देज गरेको छ । तर, वर्तमान सरकारका मन्त्री भने जनताले तिरेको करको रकममा विदेश र जिल्ला भ्रमणका नाममा प्रयोजनहीन यात्रा गर्दै छन् । कतिपय मन्त्रीले चार महिनाको छोटो समयमा जिल्ला भ्रमण गर्दा पा“च लाखसम्म खर्च गरेको देखिन्छ । ती मन्त्रीले जिल्लामा कुनै काम गरेका छैनन् र उपलब्धिमूलक भ्रमण पनि गरेका छैनन् । यसले के स्पष्ट पार्छ भने भ्रमण बजेटमा पनि मन्त्रीहरूले ‘बाडिचुडी खाऊ“’ को नीति अपनाएका छन् । पदीय दायित्वमा रहेका व्यक्तिबाट नाजायज तरिकाले सरकारी ढुकुटी रित्याउने काम भइरहेको देखेर पनि प्रधानमन्त्री डा भट्टराई चुपचाप रहनु गैरजिम्मेवार काम हो । कुनै पनि भ्रमण औचित्यपूर्ण र उपलब्धिमूलक छैन भने प्रधानमन्त्रीले त्यस्ता भ्रमणमा तुरुन्त बन्देज लगाउनुपर्छ । जनताको सम्पत्तिमाथि ‘उल्फाको धन, फुपूको श्राद्ध’ गर्न पाइँदैन ।
नेपालका दुर्गम जिल्लाका जनताले सामान्य रोगको औषधि नपाएर मर्नु पर्दैछ । सिटामोल खान नपाउने बिरामी हाम्रै मुलुकमा छन् । भोक, रोग र गरिबीले बस्तीबस्तीमा दरिद्रता भित्रिएको छ । सरकारले उनीहरूसम्म कुनै प्रकारको राहत पुर्‍याउने कोसिस गरेको छैन । तर, मन्त्रिपरिषद्का सदस्य भने भ्रमणभत्ताका नाममा करोडौ“ खर्च गरिरहेका छन् । योभन्दा दुःखद् पक्ष के हुन सक्छ ? जनअपेक्षा एकातिर, सरकारका मन्त्रीको मन पैसातिर भएपछि यस्ता फजुल खर्च गर्ने प्रवृत्ति बढेको हो । यस्ता अनावश्यक, उपलब्धिमूलक फजुल खर्च रोकेर भ्रमणमा जाने मन्त्रीहरूलाई अङ्कुश लगाउने कानुन निर्माण गर्नुपर्छ ।
नेपालमा बडो अनौठा र लज्जाजनक घटना पदीय दायित्व बोकेकाहरूबाटै हुने गरेको छ । यसको पुष्टि वर्तमान अवस्थामा भएको छ । वर्तमान मन्त्रिपरिषद् गठन हुँदा नाम समावेश गरिएका तर सपथ नलिएका र मन्त्री हुन नमानेका दुईजनाले मन्त्रीकै हैसियतमा भ्रमण भत्ता बुझेका छन् । मन्त्री पद त्याग्नेले समेत रकम भने त्याग्न सकेनन् । योभन्दा कृतघ्नता र लाजमर्दो कार्य के हुन सक्छ ? यस्ता घिनलाग्दा, अव्यावहारिक र अमर्यादित कार्य नरोक्ने हो भने विकृति अझ मौलाउ“दै जान्छ । यसर्थ बौद्धिक ठानिएका वर्तमान प्रधानमन्त्रीले अन्य काम गर्न नसके पनि भ्रमणभत्ताका नाममा भइरहेको फजुल खर्च रोक्नैपर्छ । यसका लागि तुरुन्तै गृहकार्य थालनी हुनुपर्छ ।

प्रतिक्रिया