आठ युवतीको उद्धार

वीरगन्ज, रोजगारीको प्रलोभनमा भारत लैजाँदै गरेको अवस्थामा माइती नेपालले वीरगन्ज नाकाबाट आठ युवतीको उद्धार गरेको छ ।
भारतीय आर्केस्ट्रा ग्रुपमा नृत्यका लागि जान लागेका मकवानपुर पदमपोखरीकी १८ वर्षीया मीना परियार, १६ वर्षीया रिना परियार, तनुँहकी शोभा परियार र वीरगन्जकी १७ वर्षीया काजल साहलाई सीमा नाकाबाट उद्धार गरिएको माइती नेपाल आवधिक गृह प्रमुख सङ्गीता पुरीले जानकारी दिइन् । उनीहरूलाई लैजाने एक युवकलाई पनि नियन्त्रणमा लिइएको माइती नेपालले जनाएको छ । मङ्गलबार बेलुकी टाँगामा रक्सौल जाँदै गरेका तिनलाई शङ्का लागेर सोधपुछका क्रममा नियन्त्रणमा लिइएको हो ।
त्यस्तै भारतको कास्मिर जान हिँडेकी नुवाकोटकी ३० वर्षीया गममाया तामाङ, २२ वर्षीया कविता गुरुङ र २० वर्षीया माइली तामाङको  उद्धार गरिएको माइती नेपालले जनाएको छ । रामेछापकी १६ वर्षीया विद्या कार्कीलाई पनि माइती नेपालका स्वम्यसेवकले उद्धार गरेका छन् । उनलाई लैजाने एक युवकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । (सौस)

प्रतिक्रिया