किर्ते गर्नेलाई पाँच लाख जरिवाना

चितवन, १ चैत । चितवन जिल्ला अदालतले विकल्प नेपाल सामाजिक संस्थाका कार्यकारी निर्देशक बिलबहादुर अधिकारीलाई किर्ते काम गरेको भन्दै पाँच लाख रुपियाँ जरिवाना गरेको छ । अदालतले अधिकारीले किर्ते कागजका आधारमा हेटौँडा नगरपालिका–४ का राजन लम्सालको जग्गा संस्थाको नाममा नामसारी गरेकामा सो समेत बदर गरिदिएको छ ।
अधिकारीले किर्ते कागज तयार गरी झुटो व्यहोराबाट गैरकानुनी आधारमा दाखिल खारेज नामसारी गराएको चितवन भरतपुर १÷ख कि नं. १३८५ जग्गा बदर गरिएको छ । जग्गाको बिगो २० लाख रुपियाँको २५ प्रतिशतका दरले पाँच लाख रुपियाँ अधिकारीलाई जरिवाना गराएको अदालतको फैसलामा उल्लेख छ । न्यायाधीश लेखनाथ ढकालको एकल इजालसले यस्तो फैसला गरेको हो ।
भरतपुर नगरपालिका–११मा रहेको जग्गा हेटौँडाका लम्सालले स्थानीय हरिप्रसाद उप्रेतीसँग २०६४ साल फागुनमा राजीनामा गरी लिएका थिए । सोही जग्गालाई अधिकारीकै सक्रियतामा १२ माघ २०६५ मा किर्ते कागजका आधारमा मालपोत कार्यालय भरतपुरबाट विकल्प नेपालको नाममा नामसारी गरिएको पत्ता लागेपछि जग्गावाला लम्सालले अदालतमा मुद्दा दायर गरेका थिए ।
अदालतमा मुद्दा परेपछि अधिकारीले १९ साउन २०६७ सम्म प्रतिउत्तर लगाउनुपर्नेमा सो नलगाई सुरु म्यादै गुजारेका थिए । अदालतले सुरु म्यादै गुजारेकाले अधिकारीलाई पुनरावेदन गर्ने म्यादसमेत दिएको छैन ।

प्रतिक्रिया