सडक छेउका घरटहरा डोजर लगाएर हटाईंदै

चितवन, १ चैत्र । चितवनको नारायणगढ बजारको सडक किनारामा बनाइएका घर टहरा हटाउन सूचना जारी गर्दा अटेर गरेपछि जिल्ला प्रशासन कार्यालयको सहयोगमा भरतपुर नगरपालिकाले डोजर लगाएर सडक किनाराको अबैध घर टहरा हटाउन थालेको छ ।
नगरपालिकाले आजदेखि डोजर लगाएर सडकको २५ मिटर दायाँबायाँ रहेका घर टहरा हटाउन थालेको हो । देशकै मध्य भागमा पर्ने नारायणगढ बजारमा वर्षौदेखि जर्बजस्ती अतिक्रमण गरि बनाईएका घरटहराका कारण नगर अस्तव्यस्त बन्दै गएको छ । एकातर्फ नगरको सौन्दर्य मासिँदै जानु र अर्कातर्फ सडक किनारमा रहेका फुटपाथे पसलका कारण दुर्घटना एवं भिड बढदै गएपछि स्थानीय प्रशासन एवं नगरपालिकाले डोजर नै लगाएर घर टहरा भत्काउन सुरु गरेको हो ।
प्रशासनले एक एवं भरतपुर नगरपालिकाले एक महिना अघि सर्वपक्षीय छलफल गरि नारायणगढ बजार भित्र मुख्य राजमार्ग छेउका घरटहरा हटाउन सार्वजनिक सूचना जारी गरेको थियो । तर, सूचनाको म्याद सकिएपनि घरटहरा नहटाईपछि प्रशासनले डोजर नै लगाउन थालेको हो ।
चितवनका सिडिओ आफैं उपस्थित भएर राजमार्ग छेउछाउ बनाईएका घरटहरा भत्काउन लगाएका हुन् । नगरपालिकाले एक महिना ति सबै हटाउन पर्चा, पम्लेट तथा माईकिंग समेत गरेको थियो । तर अटेर गर्दै नहटाईएपछि डोजर लगाउनुपरेको उनले बताए ।
नगरको सौन्दर्य बढाउन नगरपालिकाले गरेको यो प्रयासलाई उद्योग वाणिज्य संघ चितवनले पनि स्वागत गरेको छ । व्यवसायीहरुले फुटपाथमा पसल थापेर जीविकोपार्जन चलाईरहेकाहरुको हकमा भने वैकल्पिक व्यवस्था गरिनुपर्नेमा जोड दिएका छन् ।
यता फुटपाथमा फलफुल, कपडा, चियानास्ता व्यवसाय गरिरहेकाहरुले भने आफूहरु वैकल्पिक व्यवस्था नगरे कुनै पनि हालतमा यो ठाउँ नछोडने अडान लिएका छन् । एक वर्ष अघिपनि बजार अस्तव्यस्त भएपछि बजार व्यवस्थित अभियान थालिएको थियो । तर, सडक किनारमा व्यपार गर्दै आएका व्यवसायीहरुले अटेर गरेपछि अभियान रोकिएको थियो ।

प्रतिक्रिया