व्यवस्थापनद्वारा उद्योग बन्दको तयारी

हेटौँडा, ३० फागुन । गङ्गा सोप उद्योग व्यवस्थापनले उद्योग बन्द गर्ने तयारी गरेको छ । उद्योगका मजदुरले सोमबारदेखि उद्योगमा आन्दोलन सुरु गरेपछि बन्दको मनस्थिति बनाएको हो ।
‘नो वर्क नो पे का लागि खबर गरिसकिएको छ’, उद्योगका व्यवस्थापक दीपक उप्रेतीले भने, ‘व्यवस्थापनले मजदुरको मागलाई सम्बोधन गर्दागर्दै मजदुरले उद्योग बन्द गरेकाले सञ्चालक समिति नै उद्योग बन्द गर्ने पक्षमा पुगेको हो ।’
मजदुरले राखेको चार हजार रुपियाँ वृद्धिको मागलाई सम्बोधन गर्दै एक हजार एक सय रुपियाँमा सहमति बन्ने प्रयास भइरहँदा मजदुर आन्दोलनमा गएको सञ्चालक व्यवस्थापनले बताएको छ ।
एकीकृत नेकपा (माओवादी) निकट औद्योगिक मजदुर सङ्घ इकाइ गङ्गा सोपका मजदुरले राखेको ६ बुँदे मागमा व्यवस्थापकले सुनुवाइ नगरेको आरोप लगाउँदै आएका छन् । मजदुरले कामकाज ठप्प पार्दै उद्योगको मूलगेटमा धर्ना दिँदै आएका छन् । तलब सुविधा, स्वास्थ्य बिमाको व्यवस्था, अस्थायीलाई स्थायीलगायत ६ बुँदे माग एक महिनाअघि व्यवस्थापकलाई दिइएको तर वार्तामा सहमतिको सट्टा खाइपाई आएको सुविधा घटाउँदै सहमति गर्ने भनेपछि आन्दोलन थालिएको सङ्घका इकाइ अध्यक्ष पूर्णबहादुर सुवेदीले बताए । उद्योगमा ४४ स्थायी र २५ अस्थायी मजदुर छन् ।

प्रतिक्रिया