नेपालको उत्साहप्रद सुरुआत

काठमाडौं, ३० फागुन । कप्तान पारस खड्काको उत्कृष्ट ब्याटिङ र प्रतिभाशाली नयाँ खेलाडी चन्द्र साउदको धारिलो बलिङले गर्दा नेपालले दुबईमा मङ्गलबार प्रारम्भ भएको आइसीसी ट्वान्टी–ट्वान्टी विश्वकप छनोट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । समूह ‘ए’ मा प्रतिस्पर्धा गरिरहेको नेपालले परिचित प्रतिद्वन्द्वी हङकङलाई २८ रनले पराजित गरेको हो ।
पहिले ब्याटिङ गरेको नेपालका लागि पारसले ६८ रन बनाएका थिए भने पछि चन्द्र साउदले चार ओभरमा २३ रन खर्चेर चार विकेट लिए । उन्नाइस वर्षमुनिका टोलीको नियमित खेलाडी रहेका चन्द्र साउद सिनियर टोलीमा भने पहिलोपटक खेल्दै छन् ।
त्यस्तै, किफायती बलर शक्ति गौचन र वसन्त रेग्मीले २–२ विकेट लिए । पारस, सन्जम रेग्मी र महबुब आलमको खातामा कुनै विकेट परेन ।
विजयका लागि १ सय ३१ रनको लक्ष्य पछ्याएको हङकङ निर्धारित २० ओभरको खेल सकिँदा ९ विकेट गुमाएर १ सय २ रन मात्र बनाउन सफल रहेको थियो ।
एक समय हङकङका लागि अलराउन्डर नजाकत खानले खतराको सङ्केत गरेका थिए । उनले वसन्त रेग्मीको बलमा शक्ति गौचनद्वारा क्याच हुनुअघि सङ्घर्षपूर्ण ३१ रन जोडेका थिए । नजाकतले २७ बल खेल्ने क्रममा एक छक्का र तीन चौका प्रहार गरेका थिए ।
हङकङको सुरुआत नै पनि राम्रो थिएन । चन्द्र साउदले गरेको इनिङको पहिलो ओभरको दोस्रो बलमै ओपनर इरफान अहमद (४) खड्काद्वारा क्याचआउट भएका थिए । त्यसपछि पनि बी हयात २ रन, कप्तान जे जे एट्किन्सन १४, मुनिर दार ०, सी के क्रुगर २, जेपीआर लम्सम ६, वकास बर्कत १५ र एजाज खान २ रन बनाएर नियमित अन्तरालमा आउट भएका थिए । दलजित सिंह ८ रन र आसिफ खान १५ रनमा नटआउट रहे । कसिलो बलिङ र फूर्तिलो फिल्डिङ गरेको नेपालले अतिरिक्तको रूपमा केवल एक रन मात्र दिएको थियो ।
यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले कप्तान पारसको सानदार अद्र्धशतकको सहयोगमा ६ विकेटको नोक्सानीमा ६.५० औसतले १ सय ३० रन बनाएको थियो ।
स्टम्पआउट हुनुअघि सात चौका प्रहार गर्दै पारसले ६२ बलमा ६८ रन बनाएका थिए । उनलाई ज्ञानेन्द्र मल्लले नेपाली इनिङको एक मात्र छक्कासहित २४ बलमा २६ रन बनाएर बलियो साथ दिएका थिए । उनीहरूबीच चौथो विकेटका लागि ५६ रनको साझेदारी भएको थियो ।
दुई रनको स्कोरमा प्रदीप ऐरीको रूपमा पहिलो विकेट र शरद भेषवाकरको रूपमा दोस्रो विकेट १२ रन छँदै ढलेपछि नेपालको स्थिति नाजुक देखिएको थियो । तर पारसले तेस्रो विकेटका लागि परेस लोहनीसित २६ रनको साझेदारी गरेका थिए । पछि इनिङलाई पारस र उपकप्तान ज्ञानेन्द्रको साझेदारीले निरन्तर उकास्दै लगेको थियो ।
ओपनर परेस लोहनी (१२) र महबुब आलम (१३) बाहेक अन्य कुनै नेपाली ब्याट्सम्यानले दोहोरो अङ्क छुन सकेनन् । अर्का ओपनर प्रदीप ऐरी १ र शरद भेषवाकर २ रनमा आउट भए भने वसन्त रेग्मी २ रनमा नटआउट रहेका थिए । नेपालले ६ रन अतिरिक्त पाएको थियो । हङकङका लागि मुनिर दारले तीन तथा दलजीत सिंह, नजाकत खान र एजाज खानले एक–एक विकेट लिएका थिए ।
मङ्गलबार भएका अन्य खेलमा अफगानिस्तान (११३, ४) ले पपुआ न्युगिनी (११२ , ६) लाई ६ विकेटले, नामिबिया (१६०, ८) ले आयरल्यान्ड (१५६, ९) लाई चार रनले, इटाली (९०, १) ले ओमान (८९, ९) लाई नौ विकेटले, युगान्डा (१२४, ६) ले अमेरिका (१२३, ८) लाई चार विकेटले, डेनमार्क (११७, ३) ले बर्मुडा (११६, ७) लाई सात विकेटले, नेदरल्यान्ड्स (१३५, ६) ले क्यानाडा (९३) लाई ४२ रनले र स्कटल्यान्ड (१७८, ७) ले केन्या (१६४) लाई १४ रनले पराजित गरेका थिए ।

प्रतिक्रिया