भारु नोट अभाव

कैलाली, ३० फागुन । सुदूरपश्चिममा भारतीय रुपियाँको अभाव भएपछि व्यवसायीलाई भारतसँगको कारोबारमा समस्या सिर्जना भएको छ ।
नोट अभावमा भारतीय निर्यातकर्तालाई रकम भुक्तानीमा समस्या देखिएको स्थानीय ब्यापारीले बताएका छन् । सोही कारण भारतीय ब्यापारीले सामान पठाउन रोक लगाएको उनीहरूले बताए ।
भारु अभावमा सामान मगाउनसमेत गाह्रो भएको किसान ट्रेडिङका नवाज साह बताउँछन् ।
नेपाल राष्ट्र बैंकले भारु आवश्यकताअनुसार व्यापारीलाई उपलब्ध गराउन नसक्दा कालोबजारीसमेत बढेको छ । स्रोतका अनुसार भारु नोटको कारोबार गर्नेले एटिएम प्रयोग गर्ने गरेका छन् ।
व्यवसायी दीपक बम भारततर्फ सामान निर्यात गर्ने नेपाली ब्यापारीले भारु नोटमा भुक्तानी लिएका कारण अभाव अझ चर्केको बताउँछन् ।
उनका अनुसार पहाडतिर सामान पठाउने ब्यापारीले समेत पहाडबाट भारु नोट सङ्कलन गरेर महङ्गोमा भारु नोट बिक्री गरिरहेका छन् । ‘विनिमय दरभन्दा तीनदेखि पाँच हजार नेपाली रुपियाँ बढी तिरेर एक लाख भारु किन्नु परिरहेको छ,’ व्यवसायी बमले भने, ‘केही दिनअघि मात्रै बिरामीको उपचारका लागि कञ्चनपुर झलारीका एक व्यक्तिले एक लाख भारुका लागि ३५ हजार नेपाली रुपियाँ बढी तिरेका छन् ।’
नेपाल राष्ट्र बैंकले धनगढीमा ओम र भण्डारी मनिचेन्जरलाई र महेन्द्रनगरमा न्यु भागेश्वर र राष्ट्रिय मनिचेन्जरलाई भारु नोट साट्ने अनुमति दिएको छ । त्यसैगरी, धनगढीको द होटल डिभोटीले पनि राष्ट्र बैंकसँग भारु नोट साट्ने अनुमति लिएर काम गरिरहेको छ ।
राष्ट्र बैंकको सुदूरपश्चिम क्षेत्रीय कार्यालयका कायममुकायम नायव  व्यवस्थापक कृष्णप्रसाद बगालेले राष्ट्र बैंकबाट बजारमा न्यून मात्रामा भारु नोट गए पनि बजारमा छ्याप्छ्याप्ती रहेको बताए । उनले अहिले ब्यापारीहरू आफँैले जोहो गरेर कारोबार गरिरहेको दाबी गरे ।

प्रतिक्रिया