२७ नेपाली महिला भारतीय जेलमा

नेपालगन्ज, ३० फागुन । सस्तो सामान किन्न भारतीय बजार रुपैडिया जान नेपालगन्ज आएकी ५० वर्षीया सुमपुरा रोकालाई अपरिचित व्यक्तिले ‘सामान लगिदिन’ आग्रह गरे । ती व्यक्तिले तीन सय रुपियाँ दिने प्रलोभन देखाएपछि बैजापुर–६ की उनी रुपैडियासम्म सामान पु¥याउन राजी भइन् ।
ती व्यक्तिले उनलाई स्टकोट लगाइदिए । सुमपुरालाई सामान भिराएपछि रुपैडियामा भेट्ने भन्दै ती व्यक्ति हिँडिहाले । सामान के हो भन्ने विषयमा उनी अनभिज्ञ थिइन् । सामान पु¥याइदिए पैसा पनि मिल्ने र सहयोगी पनि भइने सोच्दै सुमपुरा रुपैडिया लागिन् । सीमा प्रहरी चौकी जमुनाह पार गर्दागर्दै उनलाई प्रहरीले रोक्यो । उनीमाथि केरकार हुन थाल्यो । प्रहरीले स्टकोट खोलेर भुइँमा फाल्यो । भुइँमा चरेस छरियो ।
चरेसबारे अनभिज्ञ उनी प्रहरीलाई उल्टै सोध्दै थिइन्, ‘यो कस्तो औषधि रहेछ ?’ पाँच किलोग्राम चरेस बरामद भएपछि प्रहरीले उनलाई पक्राउ गरेर लागुऔषध ओसारपसारमा संलग्न भएको अभियोगमा मुद्दा चलायो । उनलाई लागुऔषध बोकाउने व्यक्ति फरार छन् ।
सुमपुराकै छिमेकी ३९ वर्षकी मनकुमारी श्रेष्ठलाई पनि लागुऔषध तस्करले फसाए । सामान किन्न नेपालगन्ज आएका बेला गत २६ कात्तिकमा तस्करले पैसाको प्रलोभन देखाएर लागुऔषध बोकाए । उनी पनि जमुनाह प्रहरीको फन्दामा परिन् ।
प्रहरीका अनुसार सीमामा सक्रिय तस्करले उनीहरूजस्ता सर्वसाधारणलाई लागुऔषध ओसारपसारमा प्रयोग गरिरहेका छन् । वृद्धालाई प्रहरीले कमै जाँच गर्ने देखेर तस्करले यस्तो उपाय अपनाएका हुन् । सर्वसाधारण पनि पैसाको प्रलोभनका कारण प्रहरीको फन्दामा पर्ने गरेका छन् ।
त्यसो त ‘लागुऔषधको भरिया’का रूपमा प्रयोग भएका २७ नेपाली महिला भारतको बहराइज जेलमा कैद सजाय भुक्तान गरिरहेका छन् । सो जेलका जेलर एके सिंहका अनुसार उनीहरूले लागुऔषधसम्बन्धी मुद्दामा जेल सजाय भोगिरहेका हुन् । भारतमा चरेसलगायत लागुपदार्थविरुद्धको कानुन कडा भएका कारण धेरै नेपाली जेल परेको सिंहले बताए ।
प्रहरीले पनि सुमपुरा र मनकुमारीजस्ता सर्वसाधारण लागुऔषध ओसारपसारजस्तो जघन्य अपराधमा जानी–नजानी संलग्न भइरहेका जनाएको छ । ‘प्रहरीले लागुऔषध नियन्त्रणमा कडाइ गरेपछि यस्तो धन्दा चलाइरहेकाले वृद्धा प्रयोग गर्ने नयाँ उपाय अपनाएका छन्,’ सीमा प्रहरी चौकीका इन्चार्ज महेन्द्र रानाले भने, ‘सानो प्रलोभनमा पर्दा धेरै वृद्धा जेल गइरहेका छन् ।’
तस्करले नेपालगन्जलाई ‘ट्रान्जिट’ बनाएर नेपाल र भारतमा लागुऔषधको धन्दा चलाइरहेका छन् । प्रहरीका अनुसार सुर्खेतको बाटो भएर चरेस तस्करी गर्दा कोहलपुरमा भण्डारण गरिन्छ । भण्डारण गरिएको चरेस भरियामार्फत रुपैडिया पु¥याउने गरिएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी उदय तामाङले लागुऔषध ओसारपसारमा वृद्धाको प्रयोग बढेपछि निगरानी बढाइएको बताए ।

प्रतिक्रिया