२८ करोडमा गाई पालन फार्म

रूपन्देही, २९ फागुन । परम्परागत तरिकाको पशुपालनले जीवनयापन कष्टकर भएको गुनासो आइरहेका बेला रूपन्देहीको टिकुलीगढमा मुलुककै ठूलो र आधुनिक पशुपालन तथा दुग्ध उत्पादन उद्योग (फार्म) सञ्चालनमा आएको छ । जिल्लाको टिकुलीगढ गाविस–७ मा एक वर्षअघि २८ करोड रुपियाँको लगानीमा १२ बिघा क्षेत्रफलमा लुम्बिनी एग्रो प्रोडक्ट्स एन्ड रिसर्च सेन्टर प्रालिका नाममा मुलुककै ठूलो फार्म सञ्चालनमा आएको हो ।
यस क्षेत्रका सञ्चार उद्यमी, राजनीतिक दलका नेता, किसान र समाजसेवीलगायत सात जनाको संयुक्त लगानीमा सो अत्याधुनिक कृषि फार्म स्थापना भएको हो ।
फार्मले हालै उत्पादनका काम सुरु गरे पनि पूर्णक्षमताको उत्पादन भने हुन सकेको छैन । फार्ममा दुग्ध उत्पादनका अतिरिक्त बायो ग्याूसबाट एक मेगावाटको बिजुली उत्पादन, प्राङ्गारिक मल, क्याटल फिड, ब्रिडिङ सेन्टर र भेटेनरी डिप्लोमा तहको कक्षा सञ्चालनका लागि तीव्र तयारी भएको र प्रक्रिया अन्तिमचरणमा पुगेको सञ्चालक शशिधर शर्मा पौडेलले बताए । ‘दूध फागुनको पहिलो सातादेखि नै बजारमा पठाएका छाँै, तर त्यो पनि मागअनुरूप पठाउन सकिएको छैन’, सञ्चालक पौडेलले भने, ‘राम्रा जातका गाई पाउन नसक्दा उत्पादन पनि पर्याप्त गर्न सकिएको छैन ।’ पौडेलका अनुसार फार्मले अब प्याकिङ गरेको प्राङ्गारिक मल पनि छिट्टै बजारमा पठाउने तयारी गरेको छ । बायो ग्यासबाट एक मेगावाटको बिजुली उत्पादन हुने निश्चित भएको उल्लेख गर्दै सञ्चालक पौडेलले त्यसको डिपिआर तयार गर्नेलगायतका काम सुरु गरिसकेको जानकारी दिए  ।
व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादनको उद्देश्यले स्थापना गरिएको सो फार्ममा अहिले होलस्टन, जर्सीलगायत विभिन्न पाँच प्रजातिका तीन सय ५० गाई, १५ भैँसी, तीन  साँढे र एक सयको हाराहारीमा बाच्छाबाच्छी रहेका छन् । फार्ममा पाँच सय गाई पु¥याउने लक्ष्य रहे पनि गाईको अभाव रहेको सञ्चालकहरूको भनाइ छ । फार्ममा दूध चिस्याउने र दूध दुहुने अत्याधुनिक मेसिन राखिएको छ । सो फार्मबाट उत्पादन भएको दूध १ फागुनदेखि नै बिक्रीवितरणका लागि बजारमा पठाइएको छ । एउटा गाईले बढीमा ४०–४५ लिटर र कम्तीमा १० लिटर दूध दिएको सञ्चालक बताउँछन् । आधुनिक गोठसहितको फार्ममा अहिले ३५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।  दुग्ध उत्पादन वृद्धिसँगै डेरी सञ्चालन, पशु आहार उत्पादन, नश्ल सुधार, भेटेनरी डिप्लोमा सञ्चालन, गोबर ग्यास प्लान्टबाट विद्युत् उत्पादन, जैविक मल उत्पादन, जैविक तरकारी खेती विस्तार र अनुसन्धानमूलक सूचना सङ्कलन तथा अनुसन्धान गर्नेलगायतका योजना रहेको अर्का सञ्चालक देवीदत्त ज्ञवालीले बताए । उत्पादित दूधलाई बजारको कुनै समस्या नरहेको तर उत्पादन लागतअनुसार दूधको उचित मूल्य पाउन नसक्नु, घाँस उत्पादनको लागि आवश्यक जग्गा अभाव, उन्नत नश्लको पशुबीजको अभावजस्ता समस्या रहेको उनले बताए ।
फार्म सञ्चालकमा नेता, सञ्चार उद्यमी, किसान र विदेशमा रोजगार गरेर फर्केका सहित सातजना रहेका छन् । रूपन्देहीमै सेमलार गाविसमा पनि करिब तीन करोड लगानीमा सनराइज डेरी फार्म सञ्चालनमा छ । त्यसै सौफसाटिकर गाविसमा एक करोड लगानीमा भैँसी फार्म, मैनहिया गाविसमा करिब ५० लाख लगानीमा कामधेनु गाई फार्म तथा सालझन्डीको बनकटुवामा ३५ लाख लगानीमा गाई फार्म, मक्रहर गाविसको गणेश नगर र देवदहको केरवानीमा एक÷एक गरी झन्डै एक दर्जन व्यावसायिक पशुपालन फार्र्महरू रहेका जिल्ला पशु सेवा कार्यालय रूपन्देहीले जनाएको छ ।

प्रतिक्रिया