गुठीको जग्गामा भूमाफियाको आँखा

दाङ, २९ फागुन । नारायणपुर गाविस वडा नम्बर ७ जलौराका गिरिराज चौधरीले सिद्धरत्ननाथ मन्दिर गुठीको केही जग्गा आफ्नो हक लाग्ने बनाएका छन् । चौधरीले गुठीको नारायणपुरस्थित कित्ता नम्बर ५ क ७९८ अन्तर्गतको दुई बिघा १३ कठ्ठा जग्गा बाबुबाजेको पालादेखि जोतभोग गर्दै आएको कागजपत्र बनाएका हुन् । गुठीको जग्गा जोतभोग गर्ने किसान भने माओवादी युद्धकालमा तत्कालीन गुठी सचिवलाई धम्क्याएर चौधरीले मोहीको रसिद प्राप्त गरेको बताउँछन् ।
गुठी जग्गाको मोहियानी रसिद जोताहा किसानले मात्र पाउने व्यवस्था भए पनि नक्कली किसानले जग्गा हत्याउन खोजेको स्थानीयवासी बताउँछन् । गुठीमा जोताहा किसानले बाली बुझाएको रसिद जोतभोग गर्ने किसानलाई मात्र दिनुपर्ने व्यवस्था छ ।
जग्गा नजोते पनि नारायणपुरको दक्षिण अम्राईका त्रिवेणी चौधरीले दुई बिघा जमिन दाबी गरेका छन् । चागुका तिलकराम थारूले पनि ‘केही किसानको औँठाछाप लगाई’ सात बिघा पाँच कठ्ठा दाबी गरेका छन् । त्यस्तै दक्षिण अम्राईकै महँगु चौधरी, रमैया थारू र भुठ्ठा थारूले पनि क्रमशः एक बिघा चार कठ्ठा, एक बिघा चार कठ्ठा र दुई बिघा १९ कठ्ठा जग्गा दाबी गरेका छन् । सबैले दाबी गरेको जग्गा स्थानीय मूल्यलाई आधार मान्दा ९० करोड रुपियाँभन्दा बढी पर्न जान्छ ।
जोतभोगबिना नै गुठीको जग्गा हत्याउन खोजिएपछि जलौरा, दक्षिण अम्राई, उत्तर अम्राई, चाँगु र ढिकपुर दुबीचौरका गरी पाँच गाउँका किसानले विरोध जनाउँदै आएका छन् । गुठीले किसानलाई ठेक्कामा जमिन जोत्न दिएको भए पनि बाली बुझाउने किसानको नाममा रसिद नआएकामा उनीहरू आक्रोशित बनेका छन् ।
‘पुस्तौँदेखि गुठीको जग्गा जोत्दै र गुठीलाई बाली पनि बुझाउँदै आएका छौँ,’ स्थानीय किसान गद्दुलाल चौधरी भन्छन्, ‘वास्तविक किसानलाई नभई नक्कली किसानलाई मोहियानी रसिद दिइएको छ । यसलाई हामी कार्यान्वयन हुन दिँदैनाँै ।’
किसान किरणप्रसाद चौधरीले दुःख नगरेरै यति धेरै जग्गा खान खोजिएको बताए । नक्कली किसानले जग्गा हत्याउन ४० देखि ५० लाख रुपियाँ खर्च गरिसकेको उनी दाबी गर्छन् । ‘उनीहरूसँग यति धेरै खर्च गर्ने पैसा कताबाट आयो ?’ उनको प्रश्न छ । उनी केही राजनीतिक दलका नेताले उनीहरूलाई जग्गा कब्जा गर्न उक्साइरहेको आरोप लगाउँछन् ।
दुई बिघाभन्दा बढी जग्गा कब्जाको आरोप लागेका गिरिराजले भने आपूmले बाबुबाजेको पालादेखि नै जोतभोग गर्दै आएको दाबी गरे । ‘जग्गाको प्रमाण मसँग छ,’ उनले भने, ‘मठले जग्गा मैले जोतेको प्रमाण दिइसकेको छ ।’ उनले उल्टै अरू किसानले आफ्नो जग्गा कब्जा गर्न खोजेको बताए । सिद्धरत्ननाथ जग्गा संरक्षण समितिको नामबाट समितिका अध्यक्ष मनकलाल थारूलगायतले विभिन्न मठको स्रेस्ता भएको र मोही किसानलाई जोतभोग गर्न नदिई जग्गा कब्जा गरेको उनको भनाइ छ ।
समितिका सचिव हीरानाथ योगी स्वर्गीय कृष्णनाथ योगी गुठीको अध्यक्ष हुँदा धम्क्याएर गिरिराज चौधरीलगायत व्यक्तिले जोताहा किसानको कागजपत्र लगेको बताउँछन् । गुठीको जग्गा भूमाफियाले अस्तव्यस्त पार्न खोजेको योगीको भनाइ छ ।
नारायणपुर र ढिकपुर गाविसमा रहेको गुठीको दुई सय ५० बिघा जमिन स्थानीय ६ सयभन्दा बढी किसानले जोतभोग गर्दै
आएका छन् ।

प्रतिक्रिया