अपराधी संरक्षणमा सरकारः ओली

झापा, २९ फागुन । एमाले वरिष्ठ नेता केपी ओलीले प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकार अपराधीलाई संरक्षण र उन्मुक्ति दिने मात्रै बनेको आरोप लगाएका छन् ।

गृह जिल्ला झापामा आज प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अपराधी संरक्षणमा लागेकाले बर्तमन सरकार पूर्ण रुपमा असफल हुँदै गएको दाबी गरे । उनले सरकारले ३ सय ६७ जना आपराधिक प्रबृत्तिका मुद्दा फिर्ता लिएर गलत गरेको बताए । उनले अपराधिलाई उन्मुक्ति नदिन आग्रह समेत गरेका छन् ।

द्वन्द्वकालको बहानामा २०६७ साल यताका डाँका र हत्याराहरुको मुद्दा फिर्ता लिएर अपराधिलाई बचाउन प्रधानमन्त्री भट्टराई लागेको नेता ओलीको आरोप थियो । उनले भने, ‘कसैको आर्थिक र भौतिक क्षति पुराएका मान्छेको मुद्दा फिर्ता लिन अब ऐन कानून र अदालत नचाहिने भयो ।’

उनले आर्थिक क्षतिको बिगो भराउने भन्दापनि अपराधिलाई राजनीतिक रंग दिएर मुद्दा फिर्ता लिनु कानूनी राज्यको बर्खिलाप रहेको बताए ।

प्रतिक्रिया