‘असाद–अन्नान भेट निरर्थक’

दमास्कस, २८ फागुन । संयुक्त राष्ट्र सङ्घका पूर्वमहासचिव कोफी अन्नानले सिरियाली राष्ट्रपति बासर अल असदसँग दोस्रो चरणको छलफल गर्ने भएका छन् । सिरियामा एक वर्षभन्दा अघिदेखि राष्ट्रपति असदको शासनविरोधी प्रदर्शन अन्त्य गरी सिरियामा शान्तिबहाली गर्ने उद्देश्यले अन्नान सिरिया पुगेका थिए ।
शनिबार राष्ट्रपति असदसँगको भेटवार्ताका क्रममा असदले ‘हतियारधारी आतङ्कवादी समूहहरू’ मुलुकमा क्रियाशील भइरहेकाले विपक्षीसँग वार्ता नगर्ने अडान लिएका थिए । दुवै पक्षलाई युद्धविराम गर्न सहमत गराउन र मानवीय सहायता गर्ने समूहहरूलाई सिरिया प्रवेश गराउन उनी त्यहाँ पुगेका हुन् । त्यहाँबाट उनी सिरियाका छिमेकी राष्ट्रतर्फ लाग्ने बताइएको छ । सिरियाबाट उनी टर्की प्रस्थान गर्ने कार्यक्रम रहेको बताइएको छ । टर्कीले राष्ट्रपति असदलाई सत्ता त्याग गर्न दबाब दिँदै आएको छ ।
तर, सिरियाका प्रतिपक्षीले राष्ट्रपति असद र अन्नानबीचको भेटवार्तालाई ‘निरर्थक’ बताएका छन् । सिरियाको सरकारी टेलिभिजनले भने भेटघाट सकारात्मक भएको जनाएको छ । सिरिया पुगेलगत्तै अन्नानले राष्ट्रपतिसँग भेटवार्ता गरेकाले प्रतिपक्षीहरू अन्नानसँग असन्तुष्ट रहेको बताइन्छ । अन्नानले सिरियाका प्रतिपक्षीसँग भेट्ने कार्यक्रम छैन । उनले सिरियाबाहिरै प्रतिपक्षीहरूसँग भेटघाट गर्ने कार्यक्रम बनाएको बताइन्छ । सिरियामा जारी हिंसा अन्त्यका लागि अन्नानको यो भ्रमण फलदायी हुने अनुमान गरिएको छ ।
संयुक्त राष्ट्र सङ्घका अनुसार राष्ट्रपति असदविरोधी आन्दोलनमा अहिलेसम्म आठ हजार पाँच सयभन्दा बढीको मृत्यु भइसकेको छ । संयुक्त राष्ट्र सङ्घ तथा अरब लिगका दूत अन्नानलाई चीन र रुसजस्ता असदका सहयोगी राष्ट्रले समेत समर्थन गरेका छन् । (एजेन्सी)

प्रतिक्रिया