एलर्जिक राइनाइटिसधुलो र धुवाँको चङ्गुल

गर्मी मौसमको सुरुवात र फागुन–चैतको हावाहुरीले उपत्यकामा बढेको धुलो र धुवाँका कारण मोटरसाइकलमा नियमित यात्रा गर्ने कमल पाण्डेलाई लगातार हाच्छिउँ आउने र नाकबाट पानी बहने समस्याले सतायो । सुरुमा सामान्य रुघा भनेर बेवास्ता गरेका केसीलाई बिस्तारै नाक बन्द हुने, आँखा–नाक रातो हुने तथा चिलाइरहने समस्याले गाँजेको गाँज्यै ग¥यो । उनले मोटरसाइकल नै चलाउन छाडे, तर पनि समस्या समाधान नभएपछि उपचारका लागि वीर अस्पताल पुगे । आइतबार भेटिएका पाण्डेलाई अस्पतालका चिकित्सकले धुलो, धुवाँ र प्रदूषणले एलर्जिक राइनाटिस भएको भन्दै औषधि दिएर पठाएका छन् । चिकित्सककै सल्लाहमा उनले धुलो–धुवाँबाट जोगिन मुखमा मास्क लगाएर मोटरसाइकल चलाउने भएका छन् ।
अस्पतालको नाक, कान, घाँटी विभागका प्रमुख डा. यज्ञबहादुर भण्डारीका अनुसार फागुन–चैतको मौसममा पाण्डेजस्ता एलर्जिक राइनाटिसको समस्या लिएर आउनेको सङ्ख्या निकै बढी हुन्छ । अधिकांश पीडित मोटरसाइकल चालक हुने उनले बताए । ‘पछिल्लो समयमा वातावरणीय प्रदूषण बढ्दो छ,’ डा. भण्डारीले भने, ‘अझ उपत्यकामा पछिल्लो समयमा सडक फराकिलो पार्न भत्काइएका बाटोबाट उड्ने धुलोले रोगीको सङ्ख्यामा वृद्धि गराइरहेको छ ।’ उनका अनुसार प्रदूषित हावा मानिसको नाकबाट श्वासप्रश्वासको समयमा शरीरभित्र प्रवेश हुँदा हुने एलर्जीलाई राइनाटिस भनिन्छ । यो समस्यामा लगातार १० देखि २० पटकसम्म हाच्छिउँ आइरहने, नाक बन्द हुने, नाकबाट पानी बगिरहने र नाकको भित्रपट्टि चिलाउने गर्दछ । साथै आँखा रातो हुने, आँसु बगिरहने र चिलाउने हुन्छ । तालु र घाँटी चिलाउने पनि हुन्छ । कसैकसैलाई त श्वासनलीमा सङ्कुचित भएर सास फेर्नसमेत गाह्रो हुने गर्छ ।
चिकित्सकहरूका अनुसार शरीरलाई कुनै चिज नफाप्नु नै एलर्जी हो । कसैलाई धुलोले त कसैलाई खानेकुरा या पानीले एलर्जी हुन्छ । कसैलाई भने सिटामोल, ब्रुफिन वा अन्य कुनै औषधिले एलर्जी गराउँछ । कतिपयलाई लुगाबाट पनि एलर्जी भइदिन्छ । कसैलाई झारपात या बोटबिरुवाको एलर्जी हुन्छ भने कतिलाई त लामखुट्टे, भुसुना आदि कीटपतङ्गको टोकाइले एलर्जी हुने गरेको पाइन्छ । यसका साथै कसैलाई केरा, मासको दाल, अन्डाले पनि एलर्जी गराउने डा. भण्डारीले बताए । पछिल्लो समयमा चाहिँ प्रदूषणले राइनाटिसका बिरामी बढाएको छ ।
‘साधारण भाषामा भन्ने हो भने एलर्जिक राइनाइटिस भनेको नाकमा हुने एलर्जी हो,’ डा. भण्डारीले भने, ‘यस अवस्थामा शरीरमा बाह्य वस्तु प्रवेश गरेपछि त्यसविरुद्ध शरीरमा भएको प्रतिरक्षात्मक शक्तिले नकारात्मक प्रतिक्रिया देखाउँछ ।’ उनका अनुसार धुलो, धुवाँ, ढुसी, घरपालुवा जनावरको रौँ आदि वस्तुका कारणले राइनाटिसको समस्या उत्पन्न हुन्छ । यस्ता वस्तुबाट निस्कने कण श्वास फेर्दा हावासँगै नाकभित्र प्रवेश गरेपछि रगतमा रहेको प्रोटिन इमिनोग्लोबुलिनमा असर गर्छ र फलस्वरूप शरीरमा विभिन्न रसायनको उत्पादन गराई समस्या उत्पन्न गराउँछ ।
धुलो, धुवाँ भएको क्षेत्रमा बस्ने बच्चादेखि बूढा सबैमा यो समस्या आउन सक्छ । ‘धुलो उड्ने समयमा मात्र होइन केही व्यक्तिलाई त यस्तो समस्याले बाह्रै महिना सताउन सक्छ’, डा. भण्डारीले भने, ‘वर्षैभरि यस्तो समस्या बेहोर्नेहरूलाई रुघा लागिरहने, नाक बन्द रहने, गन्ध थाहा नहुने, कान कम सुन्ने, घाँटी खसखस भइरहने र जीर्ण खोकी हुने हुन्छ भने कोहीलाई रोग धेरै पुरानो भएमा स्वर केही रुखो हुने हुन्छ ।’ उनका अनुसार यो रोगबाट बँच्ने सबैभन्दा राम्रो उपाय भनेको के कारणले एलर्जी भएको हो त्यसबाट जोगिनुपर्छ ।
राइनाइटिस पीडितलाई पिनास, दम हुने, नाकमा मासु पलाउने, कानमा सङ्क्रमण हुने तथा पाक्ने, मुखमा विभिन्न समस्या आउने, दाँतमा समस्या आउने सम्भावना बढी हुने भएकाले समयमै उपचार गर्न डा. भण्डारी सुझाउँछन् ।

प्रतिक्रिया