गर्भावस्थामा यौनसम्पर्क कत्तिको उचित ?

गर्भावस्थामा यौनसम्पर्क राख्न उचित कि अनुचित ? थाहा नभएर दम्पतीहरू चिन्तामा पर्ने गर्छन् । त्यसमाथि हाम्रो समाजमा दम्पतीबीच नै पनि यौनबारे खुलेर कुरा गर्ने चलन पाइँदैन । चिकित्सककै अगाडि पुगे पनि कतिपय दम्पती खुलेर समस्या राख्न सकिराखेका हुँदैनन् । चिकित्सकले पनि प्रस्टसँग कुरा राख्न नसकेको हुन सक्छ । गर्भावस्थाका बेला महिलाको शारीरिक असहजता, अनुहारमा आउने  परिवर्तनसँगै गर्भमा रहेको बच्चालाई हानि पुग्ने हो कि भन्ने चिन्ताले यौनजीवन प्रभावित पारिरहेको हुन्छ । यस किसिमको मनोवैज्ञानिक असरले दम्पतीले यौनसम्बन्धको आनन्द त लिन पाउँदैनन् नै, दाम्पत्य सम्बन्धमा एक्लोपनको अनुभूति गराइदिन सक्छ ।
गर्भावस्थामा यौनसम्पर्कका क्रममा महिलाको पाठेघरको मुखमा लिङ्गले धक्का दिने अथवा गर्भको शिशुलाई छोपेर राख्ने झिल्ली च्यातिएर सङ्क्रमण हुन सक्ने तर्क पनि गरिन्छ । तर, यो तर्कमा खासै आधार नभएको विज्ञहरू बताउँछन् । उनीहरूका अनुसार गर्भावस्थाको यौनसम्पर्कले महिला तथा गर्भस्थ शिशुलाई असर पर्दैन । यो अवस्थामा भावनात्मक सुरक्षाका दृष्टिले यौनसम्बन्ध झनै महत्वपूर्ण हुने बताइन्छ । गर्भावस्थामा पतिपत्नीले एकअर्काका समस्या बुझ्न झनै जरुरी हुन्छ । यौनसम्पर्कले पाठेघर तथा यौनाङ्ग क्षेत्रको कसरत पनि हुने बताइन्छ ।
सामान्य अवस्थामा हुने यौनसम्पर्कभन्दा गर्भावस्थाको यौनसम्पर्क केही जटिल भने हुन सक्छ । त्यस अवस्थामा विशेष किसिमको आसनको प्रयोग गर्नुपर्छ । महिलाको गर्भमा पुरुष शरीरको भार पर्ने आसनबाट यौनसम्पर्क गर्नु हुँदैन । महिलालाई सजिलो व्यवहारतर्फ ध्यान पु¥याउनुपर्छ । गर्भावस्थाका सुरुवाती चरणमा स्तनमा हल्का दुखाइ हुने, थकाइ लाग्ने, वाकवाकी लाग्नेजस्ता समस्या हुने भएकोले यौनसम्पर्कमा महिलालाई कम रुचि हुन सक्छ । यस्तो बेलामा पुरुषले महिलाको भावना बुझ्न जरुरी छ । यौनसम्पर्कपश्चात् योनिमा रक्तस्राव भएमा, पेट दुखेमा वा गर्भ तुहिने खालका अन्य लक्षण देखिएमा भने यौनसम्पर्क राख्न बन्द गर्नुपर्छ । अनि तुरुन्त चिकित्सकको परामर्श लिइहाल्नुपर्छ ।

प्रतिक्रिया