चाउरे “ठिटा”

तपाईंको उमेर कति भयो ? कसैले यसो भनेर सोधे वरिष्ठ कलाकार आनन्द थापाको उत्तर हुन्छ, ‘अरे यार उमेरमा के छ र, जाँगर हेर न जाँगर ।’ चार बीस काटेको उमेरले थप तीन वर्षको उकालो चढिसक्यो, तर उनको शारीरिक स्फूर्तिलाई बुढ्यौलीले कज्याउन सकेको छैन । अहिलेका युवा एक किलोमिटर पर जानुपरे टेम्पो कुरेर बस्छन्, उनलाई भने दिनको ५–६ किलोमिटर नहिँडेसम्म चित्तै नबुझ्ने । ग्यास्टिकले पेलिएर आलस्य भिरेका लक्काजवानका अगाडि लोभलाग्दो नै छ, यी उमेरविजेताको सक्रियता । अनुहार अलिअलि चाउरी परेर के भो त, दुनियाँ बूढाहरू औषधि खाने टाइम मिल्दैन भनेर कहीँकतै निस्फिक्री जान पनि डराउनुपर्ने अवस्थामा पुग्दा यी चाउरे ‘ठिटा’ले चाहिँ अहिलेसम्म आफ्नै लागि भनेर डाक्टर गुहार्नुपरेकै छैन ।
‘तैपनि हिजोआज ढाडचाहिँ अलिअलि दुख्न थालेको छ है’, यसो भने पनि बूढो भएँ भन्नेचाहिँ सोच्नै चाहँदैनन् आनन्द– ‘त्यो त युवा उमेरमै पनि हुन सक्छ नि, बुढ्यौलीका कारण नै हो भन्ने कहाँ छ
र ?’ हुन पनि उनले आफ्नो सक्रियतामा अलिकति पनि कमी आउन दिएका छैनन्, न त शरीरले नै ‘अब बूढो भइस्, घरै बसिराख्’ भनेको छ । समकक्षीहरू भने उनीभन्दा कम उमेरमै घरै थन्किन थालिसकेका छन्  ।
छोराछोरीले कहिलेकाहीँ भन्छन् रे– ‘अब काम नगर्नुस् ।’ च्वास्स घोच्दो रहेछ उनको तन्नेरो चित्तलाई । चुनौती दिएजस्तो लाग्दो रहेछ, अनि त के थियो, छोराछोरीभन्दा बढी सक्रिय भइदिन्छन् । ‘केको आराम ? चल्दाचल्दैको सकुशल मेसिनलाई त्यत्तिकै थन्क्यायो भने त्यो कामै नलाग्ने हुन्छ । त्यसैले मलाई  नरोक ।’ –छोरोछोरी अवाक पर्दा हुन्, उनको जवाफ सुनेर ।
बिहान उठेर चियाको चुस्कीसँगै सुरु हुन्छ उनको दैनिकी । त्यसपछि सामान्य एक्सरसाइजमार्फत ‘शारीरिक मेसिन’ लाई चुस्त–दुरुस्त बनाउन लागिपर्छन् । घरका काम सकेसम्म आफैँ गर्छन्, कसैलाई कचकच गर्दैनन् ।
त्यसपछि लाग्छन् कामतिर । कहिले अरूको चलचित्रमा अभिनय गर्न त कहिले आफ्नै बनाउन । त्यहाँ पनि नयाँ पुस्ताका अगाडि आफूलाई कम पर्न कहाँ दिन्छन् र, उत्तिकै चुस्त–दुरुस्त । सकेसम्म गाडी चढ्दैनन्, ५–६ किलोमिटर हिँडाइ त सामान्य नै हो । ‘के व्यर्थमा हिँडिरहेको नि, गाडी नचढेर ?’ कसैले हेपेर भन्न खोज्यो भने दार्शनिक उत्तर ठीक पारेका छन् उनले, ‘समयले आफूलाई पर्खंदैन । गाडीमा हिँड्दा कतिखेर पुगिने हो टुङ्गो हुँदैन, जामले धोका दिन्छ । बरु आफ्नै खुट्टामा भर प¥यो, आनन्द ! यसले धोका त दिँदैन नि !’
यो खान मन लाग्दैन भनेर अहिलेसम्म मुख खुम्च्याउनुपरेको छैन ।  ‘जे पाउँछु, मज्जाले खान्छु । त्यसैले पनि म यत्तिको सक्रिय हुन सकेको हुँ, शरीरमा कुनै रोग छैन, आनन्दै छ,’ बिन्दास बूढाको केटौले उत्तर ।
आजभोलि राति केहीबेर निद्रा लागिहाल्दैन रे । जब निदाउँछन्, त्यसपछि चाहिँ ब्युँझने एकैचोटि बिहान मात्रै हो । केही न केही काम नगरी बस्ने बानी नभएर होला, अरूको सुटिङ नपर्दा उनी लेखनमा व्यस्त हुन्छन् । लेखेको कुरालाई सिरियल बनाउनतिर उनको ध्यान खिचिन्छ । अनि हिँडछन्, कथा र स्क्रिप्टका ठेली बोकेर टेलिभिजन च्यानलतिर ।
चिन्तारहित जिन्दगीलाई उनी आफ्नो सुस्वास्थ्यको रहस्य बताउँछन् । चिन्ताले समस्या समाधान नगर्ने बरु थप बिगार मात्र गर्ने उनको बुझाइ छ । ‘मलाई चिन्ता लाग्दैन’, उनले सुनाए, ‘फेरि गाउँमा सानैदेखि स्वच्छ खानपिन गरेर लागेको ज्यान भएर होला, यो सहरिया वातावरणले मलाई गाल्न सकेको छैन ।’
चिटिक्क परेका लुगा उनका रोजाइ हुन्छन् अझै पनि । टलक्क सजिएर ऐनाअगाडि उभिँदा चाउरी परेका गालाले आफ्नो जाँगरलाई जिस्क्याएजस्तो लाग्दो हो यिनलाई । अनि सोच्दा हुन्, ‘के भो त हिजो बूढोको रोल गर्न छुट्टै मेकअप गर्नुपथ्र्यो, अब झन् नेचुरल गर्न पाइने भो । जे भए पनि जाँगर घटेको छैन क्यारे !’

प्रतिक्रिया