अखिलेश नयाँ मुख्यमन्त्री

लखनउ, २७ फागुन । समाजवादी पार्टीका नेता अखिलेश यादव भारतीय राज्य उत्तर प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन् । हालै भएको राज्य विधानसभा निर्वाचनमा सत्तारुढ बहुजन समाज पार्टी, काङ्ग्रेस आइ र भारतीय जनता पार्टीलाई पछि पार्दै समाजवादी पार्टीले विजय हासिल गरेपछि उनी मुख्यमन्त्री बन्ने भएका हुन् ।
लखनउमा शुक्रबार भएको समाजवादी पार्टीका विधायकहरूको बैठकले मुख्यमन्त्रीमा अखिलेशको नाम सिफारिस गरिसकेको छ । लोकसभा सदस्य रहेका उनी समाजवादी पार्टीका अध्यक्ष मुलायमसिंह यादवका छोरा हुन् । १५ मार्चको बिहान ११ बजे अखिलेशले मुख्यमन्त्रीको पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने तय भइसकेको छ । विधायकहरूको बैठकमा पार्टीका वरिष्ठ नेता आजम खानले मुख्यमन्त्रीका लागि अखिलेशको नाम प्रस्ताव गरेका थिए । उनको प्रस्तावमा अर्का नेता शिवपाल यादवले समर्थन जनाएपछि बैठकले प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको थियो ।
बैठकपछि संवाददतासँग कुरा गर्दै ३८ वर्षीय अखिलेशले उत्तर प्रदेशमा कानुनी व्यवस्था कायम गर्नु नयाँ सरकारको मुख्य लक्ष्य हुने बताए । जात अथवा धर्मका आधारमा राज्यमा कसैमाथि पनि भेदभाव नगरिने उनले प्रस्ट पारे । हरेक जिल्लामा इमान्दार कर्मचारीलाई नियुक्त गरिने बताउँदै उनले काममा ढिलासुस्ती गर्ने कर्मचारीमाथि कारबाही गरिने चेतावनी दिए । कानुन उल्लङ्घन गर्ने कसैलाई नछाडिने उनले घोषणा गरे । (एजेन्सी)

प्रतिक्रिया