पौडी खेल्दा झण्डै डुबेको

बामदेव गौतम, उपाध्यक्ष, एमाले

भाइबहिनीहरू, म २८ असार २००५ मा राप्ती अञ्चल, प्युठान जिल्लाको दाखाक्वाडी गाविसस्थित क्वाडीमा जन्मेको हुँ । क्वाडी जिल्ला सदरमुकामबाट नजिकैको दूरीमा पर्छ । बुबाको नाम कविराम उपाध्याय हो भने आमाचाहिँ पद्मादेवी । उच्च किसान वर्गमा पथ्र्यो हाम्रो परिवार, मलाई लाडप्यारमै हुर्काइयो ।
मैले गाउँकै आधार पाठशालाबाट शिक्षारम्भ गरेको हुँ । एकीकृत नेकपा
(माओवादी) का उपाध्यक्ष मोहन वैद्य किरणका बुबा सो पाठशालाका हेडमास्टर थिए । मैले दुर्गाकवच पढ्न सुरु गर्दा किरणजी कौमुदी पढ्दै हुनुहुन्थ्यो । एउटै पाठशालामा पढे पनि उहाँसँग भेरो भेट कहिलेकाहीँ मात्र हुन्थ्यो ।
मेरो बुबाका पाँच दाजुभाइ । उहाँहरू भिन्न हुँदा हाम्रो धनी किसान परिवार मध्यमवर्गीय आर्थिक हैसियतमा झ¥यो । गाउँको मध्यमवर्गीय परिवारको सदस्यले गर्नुपर्ने काम सबै मैले पनि गरेँ । बिहान जङ्गलमा गएर घाँस काट्थेँ, दिउँसो स्कुल जान्थेँ ।
पछि ममा अङ्ग्रेजी पढ्ने रहर पलायो । पल्लो रातमाटा गाउँमा रहेको मुक्ति मिडिल स्कुलमा भर्ना भएँ । मुक्तिसेनाले पैसा उठाएर चलाएका कारण त्यो स्कुलको नाम मुक्ति मिडिल राखिएको रहेछ । मेरो औपचारिक पढाइ २००८ सालदेखि सुरु भयो । कक्षामा मध्यम खालको विद्यार्थी गनिन्थँे । धेरै जेहेनदार पनि होइन, कमजोर पनि होइन । सामाजिक गतिविधिमा भने अगाडि नै हुन्थेँ । देवीलाल पौडेल त्यतिबेलाका मेरा सहपाठी थिए । राष्ट्रिय अनुसन्धान विभागका आइजिपी उनी भर्खरै रिटायर्ड भए । सँगैका साथी धेरैजसो निजामती क्षेत्रमै छिरे । कतिपयचाहिँ गाउँमै शिक्षण पेसामा छन् ।
बाल्यकालको एउटा घटना स्मृतिमा आइरहन्छ । म डन्डीबियो र खोपी असाध्यै खेल्थेँ । कहिलेकाहीँ स्कुलै नगई खेलेर बसिन्थ्यो । यतिसम्म कि खेल्दाखेल्दै खाना खानै बिर्सिइन्थ्यो । एकपल्ट त केसम्म गरियो भने स्कुल जान भनेर हिँडेको मान्छे, असाध्यै पौडी खेल्न पो मन लाग्यो । सीधै लागियो नजिकैको झिमरुक खोलातिर । बिदाको दिनमा पनि त्यहाँ पौडी खेल्न गइरहन्थँे, माछा पनि मार्थें । त्यसपछि त स्कुल जान मन लागेन कि  सधैँ झिमरुकमै । एक दिन साथीहरूसँग स्कुल गइरहेको थिएँ । पौडी खेल्न मन लाग्यो, झरेँ झिमरुकतिरै । सबै साथी स्कुलै गए, मसँग कोही आएनन् । एक्लै पौडी खेल्न थालेँ । त्यस दिन त खेल्दाखेल्दै झन्डै डुबेको । एक–दुई घुट्का पानी पनि खाइएछ । पछि बल्लबल्ल किनारामा आइपुगेँ । लामो सास फेरँे । साह्रै डर लागेको थियो ।
मुक्ति मिडिल स्कुलमा राजनीतिक गतिविधि तीव्र रूपमा हुन्थे । त्यहाँ त्यतिबेलै वाइसिएल गठन भएको थियो । कांग्रेसी सङ्गठन पनि क्रियाशील थियो । मेरो परिवारका अधिकांश सदस्य कांग्रेससँग नजिक हुनुहुन्थ्यो । मलाई चाहिँ पहिल्यैदेखि कम्युनिस्ट गतिविधि असाध्यै मन पर्न थालेको थियो, लुकिछिपी तिनै गतिविधिमा सहभागी हुन थालेँ । म कम्युनिस्टमा लागेको मामाले थाहा पाउनुभएछ, सातै लिउँलाजसरी हपार्नुभयो । मेरा मामाहरू कांग्रेस हुनुहुन्थ्यो, सुधारवादी धारणाका हुनुहुन्थ्यो ।
स्कुलमा बाल कम्युनिस्ट मञ्च गठन भएको थियो । त्यसका गतिविधिमा म नियमित सहभागी हुन्थेँ । यसमा मलाई खेमराज पण्डितको उत्प्रेरणा थियो । उहाँका विचार र व्यवहारले ममा गहिरो छाप पारेका छन् । त्यसै कारण पनि म कम्युनिस्ट विचारबाट टाढिन सकिनँ, अझ पनि सक्दिनँ जस्तो लाग्छ ।
मेरो एसएलसी ०२३ सालको हो । एसएलसीपछि तुरुन्तै पार्टी सदस्यता पाएँ । ०२६ सालमा पार्टीको पूर्णकालीन कार्यकर्ता भएँ, जुन म अहिलेसम्म पनि छु ।
प्रस्तुतिः सरिता सुवेदी

प्रतिक्रिया