खोलाभन्दा दुईसय मिटर पर पुल

हेटौँडा, २७ फागुन । पहिला गाउँमा पुल चाहियो भनेर आन्दोलित हाँडीखोलाका बाासिन्दा अहिले पुल नबनाऊ भन्दै आन्दोलनमा उत्रिएका छन् ।
‘भन्न पनि लाजै हुने, राप्ती खोलामा पुल बनाउन आन्दोलन गरियो । पुल बन्न लाग्यो, खोलाभन्दा दुईसय मिटर पर खोल्सीतिर’, हाँडीखोलाका पूर्वगाविस अध्यक्ष राजाराम स्याङ्तानले भने, ‘कर्मचारीको बदमासीले पुल त अन्तै पो बन्न लाग्यो ।’
डिभिजन सडक कार्यालय हेटौँडाले हाँडीखोलाको कङ्गेरी कालीदमार बीचमा रहेको बगरमा सर्भेक्षण गरेर पुल बनाउने तयारी गरेपछि स्थानीय बासिन्दा आक्रोशित भएका हुन् ।  स्थानीयले मनहरीको रजैँयाबाट हाँडीखोला जोड्ने पक्की पुल निर्माणको माग गरेका थिए । तर पुलको सर्भेचैँ खोलाभन्दा दुईसय मिटर परको गाउँको खाली बगरमा भएको छ ।
गाउँमा पुल बनाउन पटक पटक जिल्ला विकास समिति र स्थानीय विकास मन्त्रालयमा डेलिगेसन गएपछि रातो किताबमा नै हाँडीखोलामा पुल बनाउने योजना परेको थियो । रजैँयाबाट हाँडीखोला जाने पुलको योजना परे पनि डिभिजन सडक कार्यालयले भने तोकिएको स्थानमा नभई अन्यत्र पुलको सर्भे गरेर टेन्डर गरेको हाँडीखोला गाविस सचिव वसन्तराज सिटौलाले बताए ।
रातो किताबमा मनहरीको रजैँयाबाट हाँडीखोला जोड्ने पक्की पुल निर्माण गर्न दुई पटक गरी ७० लाख रुपियाँ बजेट छुट्याइको छ । डिभिजन सडक कार्यालयले खहरे खोलामा सर्भेक्षण गरेर बोलपत्र पनि आह्वान गरिसकेको छ ।
२५ हजार जनसङ्या रहेको हाँडीखोलाका बासिन्दालाई सहजसँग सदरमुकाम हेटौँडा आउनका लागि पुल निर्माण गर्न लागिएकामा अन्यत्रै बन्न लागेपछि तत्काल टेन्डर रद्द गरेर रातो किताबमा तोकिएकै ठाउँमा पुल बनाउन दबाब दिन स्थानीयले सङ्घर्ष समिति बनाएको हाँडीखोला रजैँया पक्की पुल निर्माण सङ्घर्ष समितिका संयोजक गजाधर सुवेदीले बताए ।
डिभिजन सडक कार्यालय हेटौँडाका इन्जिनियर अरुण श्रीवास्तवले सडक विभाग काठमाडौँमा रहेको ब्रिज युनिटले नै इस्टिमेट गरेर हाँडीखोलामा ४० मिटर को पुल बनाउनू भनेकाले सोही अनुसार काम गर्न लागिएको बताए । रातो किताबमा रजैँयाबाट हाँडीखोला जोड्ने एक सय २० मिटरको पुल उल्लेख भए पनि विभागको ब्रिज युनिटले भने अनुसार कङ्गेरी कालीदमारमा सर्भे भएर काम सुरु हुन लागेको उनले बताए । बर्सेनि राप्ती खोला तर्ने क्रममा सर्वसाधारणको ज्यान गएपछि हाँडीखोलाका बासिन्दाले पुलको माग गर्दै राजमार्ग बन्द, घेराउ लगायतका आन्दोलन गरेर गाउँको योजना रातो किताबमा
पारेका थिए ।

प्रतिक्रिया