‘किरियाखर्च पनि पाएनौँ’

सुर्खेत, २७ फागुन । ‘हाम्रो नाममा आएको क्षतिपूर्ति अरुले नै पो खाए कि’, सुर्खेत बाँसपानीका रत्नबहादुर विकले भने, ‘न दोषीमाथि कारबाही भयो, न राज्यले दिने भनेको क्षतिपूर्ति पाइयो ।’
२६ फागुन ०६६ मा काउलो टिप्न गएका हरिहरपुर– २ का २८ वर्षीया अमृता विक, ३९ वर्षीया देवीसरा विक र १२ वर्षीया चन्द्रा विकको सेनाको गोली प्रहारबाट मृत्यु भएको दुई वर्ष पुगेको छ । तर पीडितका परिवारले राहत पनि पाएनन् र घटनाका दोषीमाथि कारबाही पनि भएको छैन । पत्नी, भाउजू र छोरी गुमाएका विक सदरमुकाम वीरेन्द्रनगर आइपुगेका छन् र न्यायका लागि अधिकारकर्मी गुहार्दै छन् । ‘धेरै धाएपछि निकुञ्जले किरिया खर्च ७५ हजार रुपियाँ चैँ दियो, अरु केही पाइएको छैन’, विकले भने, ‘नदिने भनेको भए आस हुन्नथ्यो, जीवनभरि साथ दिने पत्नी र फूलजस्ती छोरी अनि भाउजू त गुमाइयो भने पैसा के थियो र ?
सभासद् विनोद पहाडीको संयोजकत्वमा गठित १० सदस्यीय संसदीय छानबिन समितिले घटनाको अनुसन्धान गरेको थियो । टोलीले पीडितलाई प्रतिमृतक १० लाख रुपियाँ क्षतिपूर्ति दिनुपर्ने प्रतिवेदन सरकारलाई बुझाए पनि पीडितले क्षतिपूर्ति पाएका छैनन् ।
दोषीलाई नागरिक अदालतमा ल्याउन, कारबाही गर्न र पीडितलाई राहत दिन संसदीय समितिले सरकारलाई निर्देशन दिएपछि मन्त्रिपरिषद् बैठकले किरिया खर्च २५ हजार रुपियाँका दरले दिने निर्णय गरे पनि किरिया खर्च पनि विक परिवारले पाएका छैनन् । ‘दुई वर्ष बित्दा पनि दोषीलाई कारबाही पनि भएन र पीडितले राहत पनि पाएनन्’ सभासद् विनोद पहाडीले भने, ‘क्षतिपूर्तिस्वरुप जनही १० लाख रुपियाँ दिन सरकारलाई दिइएको निर्देशन समेत पालना भएन ।’
घटनाको निष्पक्ष छानबिन गर्न सरकारले ४ चैत २०६६ मा सहान्यायाधिवक्ता सरोजप्रसाद गौतमको संयोजकत्वमा वन तथा भूसंरक्षण र रक्षा मन्त्रालयका प्रतिनिधिसम्मिलित तीन सदस्यीय छानबिन समिति पनि गठन गरेको थियो । बर्दिया राष्ट्रिय निकुञ्जका चारजना वनरक्षक (गेम स्काउट) र निकुञ्जको सुरक्षार्थ खटिएको ज्वाला दल गणका १७ नेपाली सेनाको टोलीले बाँसपानी कालिकास्थानमा काउलो टिप्न गएका तीन दलितलाई गोली हानेर मारेको थियो । जङ्गलमा तस्करी गर्न आएको आरोपमा उनीहरु मारिएका थिए ।
व्यवस्थापिका–संसद, महिला तथा बालबालिका समितिले पनि सर्वसाधारण हत्या घटनामा संलग्न बर्दिया निकुञ्जका दोषी सैनिकलाई कारबाहीका लागि सरकारलाई निर्देशन दिएको थियो । समितिले ज्वाला दल गणका सहसेनानी सुबोध कुँवरसहित १७ जनालाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो । हत्याबारे सार्वजनिक भएका संसदको महिला समितिका अलावा राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानवअधिकार आयोग, गैरसरकारी संस्था र इन्सेकका प्रतिवेदनले घटनामा सेनालाई दोषी ठह¥याई तत्काल कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
२३ फागुन २०६६ मा बाँसपानी कालिकास्थानमा बलदेव गिरी, छोरा भक्तराज, रत्नबहादुर विक र तुलबहादुर विक काउलो काट्न गएपछि २६ फागुनमा १२ वर्षीया भूमिसरा, रत्नकी पत्नी अमृता, तुलबहादुरकी पत्नी देवीसरा र छोरी चन्द्रा काउलो लिन जाँदा जङ्गलमै बास बसेका थिए । बर्दिया राष्ट्रिय निकुञ्जका चारजना वनरक्षक र निकुञ्जको सुरक्षार्थ खटिएका ज्वाला दल गणका सहसेनानी सुबोध कुँवरको नेतृत्वमाा पुगेको १७ जनाको टोलीले गाउँले सुत्ने तयारी गरिरहेका बेला हवाई फायरिङ गरेपछि पुरुष भागेका थिए भने महिला ओढारको ढुङ्गामा लुकेका थिए । महिला लुकेको स्थानमा पुगेका सेना र वनरक्षकको टोलीले उनीहरूलाई घेरा हालेर नियन्त्रणमा लिई हत्या गरेको थियो ।

प्रतिक्रिया