नष्ट भए दुर्लभ तस्बिरहरु

काठमाडौँ, २७ फागुन । सङ्ग्रहालय बनाइएको नारायणहिटी दरबार उचित संरक्षण अभावमा लथालिङ्ग बनेको छ । इतिहास झल्काउने दुर्लभ तस्बिरहरू तथा महत्वपूर्ण कागजात पानी चुहेर नष्ट हुन थालेका छन् ।
८५ फिट अग्लो प्यागोडा शैलीको मुख्य भवन र अन्य केही कोठामा वर्षायाममा पानी चुहिने गरेकाले नारायणहिटीको नक्सा, लालपुर्जालगायत महत्वपूर्ण कागजात तथा एक हजारभन्दा बढी तस्बिर नष्ट भइसकेको स्रोतले बतायो ।
बाँकी तस्बिर पनि दरबारभित्र मङ्गलसदन छेउको पानी चुहिने ग्यारेजमा डम्पिङ गरिएकाले सुरक्षित छैनन् । पानीले भिजेर आधाभन्दा बढी तस्बिर नष्ट भइसकेका छन् भने पानीले नभेटेका तस्बिर पनि संरक्षण अभावमा नष्ट हुन थालेको सङ्ग्रहालयका कर्मचारी बताउँछन् ।
राजा सुरेन्द्रवीरविक्रम शाहको पालादेखिका विभिन्न कालखण्ड झल्कने तस्बिर दरबारमा सङ्कलन गरी राखिएको थियो । त्यतिबेला विदेशी पाहुना नेपाल आउँदा तथा तत्कालीन राजाहरू विभिन्न स्थानमा भ्रमणमा जाँदाका तस्बिर सुरक्षित रूपमा राखिएका थिए । राजा त्रिभुवनले टुँडिखेलमा उभिएर भाषण गरेको र राजा महेन्द्रले महेन्द्र राजमार्गको उद्घाटन गर्दै बाटो खनिरहेको तस्बिर पनि दरबारमा थियो । नयाँ पुस्ताले ठूलो चासो राख्ने ती तस्बिर राज्यको सम्पत्ति हुन सक्थे ।
पूर्वप्रधानमन्त्री तथा विदेशी पाहुना तत्कालीन राजासँग कसरी प्रस्तुत हुन्थे भन्ने ती तस्बिरबाट झल्किने स्रोतले बतायो । बिपी कोइराला र राजा महेन्द्र सँगै बसेको तस्बिर त्यहाँ थिए । अधिकांश पुराना तस्बिर श्यामश्वेत छन् भने पछिल्लो समयका तस्बिर रङ्गीन छन् । राजा वीरेन्द्रका पालादेखि सङ्कलन गरेर राखिएका डकुमेन्ट्री र भिडियो फुटेज पनि दरबारमा थिए । यी सबै सामग्री अहिले कस्तो अवस्थामा छन् भन्ने कुनै पत्तो छैन ।
पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटीमा बसुन्जेल सबै सामग्रीको राम्रो हिफाजत हुन्थ्यो । तर, ज्ञानेन्द्रले नारायणहिटी दरबाट छाडेपछि ऐतिहासिक सामग्रीको संरक्षण हुन सकेको छैन । नारायणहिटी सङ्ग्रहालयका प्रमुख रेखबहादुर कार्कीले सङ्ग्रहालयको मर्मत–सम्भारका लागि संस्कृति मन्त्रालयबाट बजेट मागिएको बताए । अहिलेकै स्थितिमा पनि नारायणहिटीभित्रको ऐतिहासिक सम्पदालाई संरक्षण गर्ने प्रयास भइरहेको उनको भनाइ छ ।
‘हामीले बजेट माग गरेका छाँै, पानी चुहिए पनि  ऐतिहासिक सम्पदा नष्ट हुन दिएका छैनाँै,’ सौर्यसँगको कुराकानीमा कार्कीले भने । स्रोतका अनुसार दरबारमा रहेकामध्ये थोरै तस्बिर मात्र सङ्ग्रहालयमा प्रदर्शनका लागि राखिएका छन् ।
दरबारका तत्कालीन संवाद सचिवालयका सहसचिव सुरेश आचार्यले विभिन्न कालखण्डसँग सम्बन्धित तस्बिरहरू दरबारमा रहेको उल्लेख गर्दै ती तस्बिरको अवस्थाबारे अहिले आफूलाई जानकारी नभएको बताए । ‘सहसचिव हुँदा दुर्लभ तस्बिर दरबारमा सङ्कलन गरेर राखिएको जानकारी मलाई हुन्थ्यो, तर अहिले ती तस्बिरबारे जानकारी छैन,’ आचार्यले भने ।
गणतन्त्र घोषणापछि पूर्वराजा ज्ञानेन्द्रले दरबार नछाड्दासम्म दरबारका कर्मचारीको लापरबाहीबाट पनि केही महत्वपूर्ण तस्बिर हराएको तत्कालीन एक कर्मचारी बताउँछन् ।

श्रीपेच प्रदर्शनमा राखिने
नारायणहिटी सङ्ग्रहालय घुम्न जानेले आगामी असारदेखि पूर्वराजाहरूले लगाउने श्रीपेच हेर्न पाउने भएका छन् । सङ्ग्रहालयका प्रमुख रेखबहादुर कार्कीले आगामी आर्थिक वर्षभित्रै श्रीपेचलाई प्रदर्शनमा राखिने बताए ।
‘असारभित्रै श्रीपेच प्रदर्शनमा राख्ने सबै तयारी गर्दै छौँ,’ कार्कीले भने ।
श्रीपेच प्रदर्शनका लागि संस्कृति मन्त्रालयका सहसचिव नारायण शर्माको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिले कमिटीले श्रीपेच राख्ने फ्रेमको बनावटबारे निर्णय गर्नेछ । कमिटीले प्रतिवेदन दिइसकेपछि यसका लागि टेन्डर आह्वान गरिने कार्कीले जानकारी दिए ।
अहिले सो श्रीपेच वीरेन्द्रले प्रयोग गर्ने सैलुन कोठामा राखिएको छ । त्यसलाई सेनाले पहरा दिइरहेको छ । श्रीपेचलाई नम्बर कोड गरी दराजमा लक गरेर राखिएको स्रोतले बतायो । असली श्रीपेचसँगै दुईवटा नक्कली श्रीपेच पनि राखिएका छन् ।

प्रतिक्रिया