खुसीको घाम नछिरेको जिन्दगी

उनको जीवनमा खुसीको खटप्वालले चियाउला भन्ने झिनो आशा छ । तर, मनको कुनै कुनामा अझै पनि उनलाई लागेकै रहेछ, ‘जिन्दगीभर ज्याला नगरी बाँच्न सकिएला जस्तो छैन ।’

इँटाको चाङ लगाएर बनाइएकोे सानो झुपडी । इँटाकै चाङले बनाइएको खाट । झुपडीभित्र बसेकी ३४ वर्षे धनमाया श्रेष्ठ सुत्केरी व्यथाले छटपटाउँदै छिन् । घरमा श्रीमान् (रामबहादुर) थिएनन् । साना छोराछोरी मात्र थिए । उनी छट्पटाउँदै झुपडी बाहिर निस्किन् ।
नजिकैको कालीझारको झ्याङमा पुगेपछि सुत्केरीको प्रसव पीडा बढ्यो र उनले त्यहीँ बडो कष्टसाथ बच्चा जन्माइन् । बच्चाले संसार देखेपछि आफ्नो झुपडी सम्झिन् । घरका आठ सन्तानको पालनपोषणका लागि गरेको चर्को सङ्घर्ष सम्झिइन् । पाँच छोरा र तीन छोरीकी आमा धनमाया भर्खरै आँखा खोलेको नवौँ सन्तानलाई पाल्न नसक्ने निष्कर्षमा पुगिन् । नजिकै भेटिएको बोरामा नवजात शिशु हालेर पोको पारिन् र फालिदिइन् ।
काभ्रे, साँगाको इँटाभट्टामा काम गर्ने धनमाया श्रेष्ठको जीवनको यो पछिल्लो प्लटले उनको जिन्दगीको यात्रा गर्ने गोरेटो केही सजिलो बनाइदियो । अबको कथा यहाँबाट सुरु हुन्छ । बच्चालाई कालीझारको झ्याङमा फालेपछि उनी चुपचाप घर फर्किन् । मानौँ, त्यहाँ केही भएकै छैन ।
जन्मँदै बोराभित्र कोचिएको शिशु रोएको थाहा पाएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरे । प्रहरीले बच्चालाई बनेपाको शिर मेमोरियल अस्पताल पु¥यायो । बच्चा फाल्ने महिलाको खोजी गर्ने क्रममा धनमाया शङ्काको घेरामा परिन् । प्रहरी झुपडी पुग्दा भर्खरै सुत्केरी भएकी धनमाया अस्तव्यस्त टाउको समाएर सुतिरहेकी थिइन् । इँटाको चाङले बनको घर भन्नुमात्रैको घर थियो । ठूलाठूला खटप्वालले चिसो हावा थाम्न सक्दैनथ्यो । साना नानीहरूको आङ ढाक्ने कपडा नभएको घरमा भित्र पसेको चिसो हावाले लगातार हिर्काइरहन्थ्यो ।
नानीहरू ‘भोक लाग्यो’ भनेर रुँदै थिए । घरमा एक मुठ्ठी चामल पनि थिएन । उनीहरूको कारुणिक अवस्था देखेर त्यहाँ पुगेका तत्कालीन साँगा प्रहरी प्रमुख कृष्णबहादुर कार्कीले ‘चामल किनेर खाऊ’ भनेर श्रीमान्को हातमा दुई सय रुपियाँ राखिदिए । धनमाया पक्राउ परिन् । शारीरिक अवस्था अत्यन्त कमजोर भएकी उनलाई प्रहरीले अस्पताल पु¥यायो । धनमायाको यो तस्बिर टेलिभिजनका काँच र पत्रपत्रिकाका गुलाबी पृष्ठमा समाचार बन्यो । र, यही समाचारले उनको जिन्दगी थोरै बदलिदियो ।
०००
आर्थिक अवस्था साह्रै कमजोर भएपछि रामेछाप पदमपोखरीबाट उनको परिवार इँटाभट्टामा जीवन खोज्न आइपुगेको थियो । ०६८ साउन ४ गते बच्चा जन्माएपछि आफ्नो काखमा प्यार गरेर हुर्काउनुपर्ने शिशुलाई फालेर आएकी धनमायाको जीवन कम्ती दर्दनाक छैन । ‘हो, मैले आफूले जन्माएको बच्चा फालेकी हुँ, आठ बच्चा त कसरी पाल्ने भन्ने पिरमा थिएँ म । अब अर्को बच्चा कसरी पाल्ने भनेर आत्तिएँ र फालेँ’, उनी भन्छिन् ।
१३ वर्षमै बिहे गरेर १६ वर्षदेखि बच्चा जन्माउन थालेकी धनमायाले निरन्तर बच्चा जन्माइरहिन् । उनको अन्तिम बच्चा कतिऔँ हुने हो अझै टुङ्गो छैन किनभने उनका श्रीमान् रामबहादुरले अझै परिवार नियोजन गरेका छैनन् । उनले यसअघि आठ सन्तान जन्माउँदाको कथा कति दुःखी छ, त्यसको हिसाबकिताबै छैन । अहिलेको विकसित समाजमा सुत्केरी हुनुअघि र पछि दिइने स्यहारसुसार उनका लागि एकादेशको कथा हो । सरकारले सुविधायुक्त स्वास्थ्य संस्थामा बच्चा जन्माउनुपर्ने उर्दी लगाइरहेको बेला बच्चा फालेको आरोपमा प्रहरीले पक्राउ गरेपछि मात्रै धनमायाले अस्पतालको अनुहार देखिन् । सुत्केरी हुन लागेकी एक महिलाको घरमा भिटामिन र अन्य पोषिला खानेकुरा हुनुपर्ने हो, तर उनीसँग त बच्चालाई खुवाउने चामल पनि रहेनछ । दिनभरि ज्याला नगरे बेलुका चुलो नबल्ने उनको जीवन साँच्चै दुःखी छ ।
चरम गरिबीमा बाँचेकी उनी सुत्केरी हुनु एक दिनअघिसम्म काम गर्दै थिइन् र सुत्केरी भएपछि पनि काम गर्नुपर्छ भन्ने ‘मुड’मा थिइन् । किनभने आफूले जन्माएका अन्य बालबच्चा ‘भात–भात’ भन्दै रोइरहेका थिए । न उनलाई परिवार नियोजनबारे थाहा छ, न गर्भपतनबारे । ‘पहाडमा कसरी परिवार नियोजनबारे थाहा पाउनु, बच्चा पाउँदै गएपछि पाल्दै जानुपर्ने रहेछ,’ उनले भनिन्, ‘जसरी हुन्छ बालबच्चा पाल्नै प¥यो ।’
धनमायाको पारिवारिक कथा जब सार्वजनिक भयो, उनले थुप्रैको सहयोग पाइन् । नगद, खाद्यान्नदेखि अन्य घरायसी सामानसम्म उनको परिवारले पायो । बनेपाको सामुदायिक सेवा केन्द्रले उनको सहयोगका लागि पहल गरिरहेको छ । सहयोगपछि अहिले रामबहादुर बनेपामा सानोतिनोे व्यापार गर्छन् भने धनमायाले बदाम बेच्ने काम थालेकी छिन् । अहिले उनीहरू झुपडीमा होइन, डेरा भाडा लिएर बस्छन् ।
विद्यालयको अनुहारै नदेखेका ६ छोराछोरी अहिले स्थानीय जनज्योति निमाविमा पढ्छन् । ‘बालबच्चा विद्यालय त जान्छन्, तर स्कुलले बेलाबेलामा फि मागेर हैरान पार्छ,’ धनमाया भन्छिन्, ‘सामान्य आम्दानीले अझै बिहान–बेलुकाको छाक टार्नै पुगेको छैन, कसरी फि तिर्नु ?’ उनले धेरै रात रोएरै बिताइन् । अब खुसीको खटप्वालले चियाउला भन्ने झिनो आशा छ । तर, मनको कुनै कुनामा अझै पनि उनलाई लागेकै छ, ‘जिन्दगीभर उस्तै ज्याला नगरी बाँच्न सकिएला जस्तो छैन ।’ झुपडीबाट कोठामा स्थानान्तरण भएपछि पनि पीडाका थुप्रै चाङमा जीवन घिसारिरहेको छ, उनको परिवार । चरम अभावमा गुजारेका ‘ती दिन’ आँखामा नाचिरहन्छन् । ‘सुख कहिले आउला ? कल्पना मात्रै पो हुने हो कि ?’ उनी आजकाल यस्तै सोच्छिन् र चुरोटको लामो सर्को तान्दै घोरिन्छिन् ।
यो धनमायाको मात्र कथा होइन, नेपालका ग्रामीण भेगका थुपै्र महिलासँग यस्तै कथा छन् । उनको जीवनसम्म महिलासम्बन्धी गरिएका सन्धि, महासन्धि तथा महिला समानता, बालअधिकार, शिक्षा, स्वास्थ्य, समानता, गरिबी उन्मुलन लगायतका थुप्रै कानुन पुग्नै सकेनन् । राजधानी काठमाडौँबाट २० किलोमिटर नजिक बस्ने उनको जीवनको पीडा मेट्न, न सरकार पुग्योे, न गैरसरकारी सङ्घसंस्था । यो कथा सार्वजनिक भइसक्दा पनि अहिलेसम्म कुनै सरकारी निकाय पुग्न सकेको छैन ।
भविष्य कस्तो देख्नुभएको छ ? ‘बाँच्न त गाह्रो छ, तर भविष्य कस्तो, कस्तो, बालबच्चालाई पढाउन र हुर्काउन पाए तिनीहरूले पाल्छन् कि ! नत्र जिन्दगीमा हरेक दिन हाड खियाएर रुँदै बाँच्नुपर्ने भयो ।’ भर्खरै १०२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ । तर, त्यो दिवस धनमायासम्म पुग्नै सकेन ।

प्रतिक्रिया