‘जनयुद्ध’ संस्कृति निर्माणको स्तरसम्म पुगेन

आहुती, साहित्यकार एवं नेता, एकीकृत माओवादी

के लेख्दै हुनुहुन्छ ?
पहिलो कवितासङ्ग्रह निस्केको १९ वर्ष पुगेछ । प्रकाशकले मेरा कविताहरू यो वर्षभित्रमा प्रकाशन गर्नुपर्छ भनेर कर गरिरहेका छन्, त्यही कवितासङ्ग्रहको सम्पादनमा छु । एउटा उपन्यास आधा लेखिसकेको छु ।  ‘पानीको प्रेम कथा’ शीर्षकको फिल्म पनि लेख्दैछु ।
कुन उद्देश्यबाट प्रेरित भएर लेख्न सुरु गर्नुभयो, त्यो प्राप्त भएको छ कि छैन ?
लेखकको उद्देश्य कहिल्यै पूर्ति हुँदैन । त्यो एक पिँढीले अर्को पिँढीलाई हस्तान्तरण गर्दै जाने मात्रै हो । मेरो विचारलाई साहित्यमार्फत सम्प्रेषण गर्ने उद्देश्यले लेख्न सुरु गरेँ, मैले मेरो विचारलाई सन्तुष्ट हुनेगरी नै लेखँे भन्ने लाग्छ ।
तपाईंको लेखन आकस्मिक हुन्छ कि योजनाबद्ध ?
गद्य योजनाबद्ध र काव्यचाहिँ आकस्मिक हुन्छ ।
तपाईं आवेग र उत्तेजनाले लेख्नुहुन्छ कि, विवेकले ?
भावनाबिना कुनै पनि लेखकले लेख्न सक्दैन । भावनात्मक उडानबिना लेखेको कृति कलात्मक हुँदैन । सबै लेखनमा भावनात्मक उडान चाहिन्छ । तर, माक्र्सवादी लेखकहरू चाहिँ विचारबाट विचलित नभइयोस् भन्ने सतर्कताका साथ भावनालाई कलात्मक उचाइमा लैजान्छन् । मैले पनि त्यो प्रयत्न गर्ने गरेको छु, ताकि वैचारिक र दृष्टिकोणमा कुनै समस्या नहोस् ।
तपाईंको आफ्नै लेखन तपाईंका लागि कत्तिको प्रत्युत्पादक हुने गरेको छ ?
लेखनकै कारण सामाजिक रूपमा कहिल्यै अप्ठ्यारो परेको छैन । तर, लेखेकै कारण राज्यले थुन्ने यातना दिने काम त गर्‍यो । पञ्चायतकालमा यस्ता समस्या पटकपटक भोगेँ ।
लेख्नुअघि, लेख्दै गरेका रचनाहरूले पार्ने प्रभावबारे पूर्वानुमान गरेर लेख्नु हुन्छ कि हुदैन ?
लेख्दै गरेको रचनाले कति प्रभाव सिर्जना गर्ला ? त्यसको पूर्वानुमान त असाध्यै गाह्रो काम हो । तर, लेखिसकेपछि यो सफल रचना बन्न सक्ला भनेर अनुमानचाहिँ गर्न सकिन्छ ।
माक्र्सवादी लेखकहरू आवेग र उत्तेजनाले साहित्यको नाममा नारा लेख्छन् भन्ने आरोप छ नि ?
माक्र्सवादी साहित्यमा नारा र उत्तेजना हुँदैन । तर, माक्र्सवादी भनेर लेखिएका सिकारु रचनाहरू जो हुन्छन्, त्यसमा नाराहरू धेरै आउन सक्छन् । त्यसैगरी प्रतिखेमाका सिकारु रचनाकारमा यस्ता कमजोरी पाइन्छन् । तर, माक्र्सवादी साहित्य नै नारावादी हो भन्नु त हास्यास्पद कुरा हो ।
राजनीतिमा वामपन्थीहरूको हस्तक्षेप र प्रभाव छ, तर साहित्यमा त्यो स्तरमा छैन । किन यस्तो भएको हो ?
त्यस्तो होइन । सबैभन्दा बढी कुन साहित्य पढिन्छ भनेर जनसङ्ख्याको हिसाबमा हेर्‍यौँ भने पनि माक्र्सवादी साहित्य नै सबैभन्दा बढी पढिन्छ । अहिले पनि वामपन्थीइतरका गिनेचुनेका साहित्यकारका एकाध पुस्तक मात्रै पाँच सयभन्दा माथि बिक्छ । तर, सामान्य वामपन्थी लेखकहरूका पुस्तक हजारभन्दा माथि नै बिक्री हुन्छ । कुरा यति मात्रै हो, ‘यो सरकारी मान्यताभित्र छैन, राज्यले यसलाई पाठ्यक्रममा समेट्न सकेको छैन ।’ विद्यार्थीहरूमा आन्दोलनको माध्यमका रूपमा पुगिरहेको छ । यसले हस्तक्षेप गर्न सकेको छैन भन्ने सत्य होइन । जहाँसम्म यसको लेखनको क्षेत्र छ, माक्र्सवादी साहित्यमा कथा र कवितामा धेरै अघि छ । यसले प्रतिध्रुवीय साहित्यसँग सहजै प्रतिस्पर्धा गर्न सक्छ । तर, उपन्यास, संस्मरण, निबन्ध र नाटक अलि कमजोर छन् ।
बहुसङ्ख्यक पाठकचाहि माक्र्सवादी साहित्यका छन्, तर पाठ्यक्रममा चाहि जबरजस्त अरू नै पढिरहनु पर्ने बाध्यता कहिलेसम्म रहला ?
जबसम्म वामपन्थीहरूले संयुक्त रूपमा शिक्षाक्षेत्रमा समेत योजनाबद्ध तरिकाले हस्तक्षेप सुरु गर्दैनन्, तबसम्म यो दुर्भाग्यपूर्ण अवस्था रहिरहन्छ । कुनै वामपन्थी नेता शिक्षामन्त्री मात्रै भएर केही हँुदैन । पाठ्यक्रम निर्माणको स्तरमा योजनाबद्ध तरिकाले हस्तक्षेप गर्नुपर्छ ।
माओवादी ‘जनयुद्ध’को विषयमा सयौको सङ्ख्यामा पुस्तक लेखिए, तर कुनै पनि लेखकले युद्धलाई गहिरो अध्ययन गरेर गतिलो पुस्तक लेख्न सकेनन् भनिन्छ नि ?
माओवादी युद्धले नेपाली समाजको पिँधलाई हल्लाए पनि लामो सांस्कृतिक रूप लिइसकेको आन्दोलन हुन सकेन । बरु दस वर्षमा केही ठूला सैनिक आक्रमण, सैनिक हस्तक्षेप, केही हत्याकाण्ड हँुदै त्यो अगाडि बढ्यो । तर, युद्धले संस्कृति निर्माणस्तरसम्मको समयसीमा प्राप्त गर्न सकेन । जसका कारणले स्थापित लेखकहरू जन्माउन सकेन । व्यापक मात्रामा लेखकहरू त जन्मायो, तर परिष्कृत हुने अवस्थासम्म विकास हुन पाएन । यसले गर्दा रचना कमजोर देखिए ।
नेपालका लेखकहरूले कुनै न कुनै वाद उत्तराधिकारी वा दूत हु जस्तो गरी चर्चा गर्छन्, त्यसरी लेख्न पनि खोज्छन्, तर नेपाली लेखकहरूले आफ्नो समाज र देशलाई राम्ररी चिन्न र छाम्न सकेको चाहि छ कि छैन ?
लक्ष्मीप्रसाद देवकोटादेखि भूपी शेरचनसम्मका साहित्यकारले नेपाली समाजकै विषयमा लेखेका छन् । उनीहरूले नेपाली समाजकै विकृति र यथार्थलाई लेखेका हुन् । अब कति धेरै लेख्न सकियो ? योचाहिँ बहसको विषय हो । तर, यथार्थ के हो भने, नेपाली साहित्यको मूल धारा एक जाति एक भाषा र एक संस्कृतिको वरपर मात्रै घुम्यो । योचाहिँ नेपालको दुर्भाग्यपूर्ण स्थिति हो । नेपालको जातीय विविधता, भौगोलिक विविधता र सांस्कृतिक विशिष्टतासहितको साहित्य नलेखिएको चाहिँ सत्य हो ।
अब नेपाली लेखकहरूले लेख्नैपर्ने बाकी विषयहरू के–के होलान् ?
मुख्य रूपमा दुईवटा विषय होला जस्तो लाग्छ मलाई । पहिलो, नेपाली समाजमा अहिले पनि जुन प्रकारले सामन्तवाद र साम्राज्यवादले शोषण, उत्पीडन गरिरहेको छ । त्यो उत्पीडन चाहे महिलाहरूको सन्दर्भमा होस् या जनजाति, दलित वा भूगोलको सन्दर्भमा, जुन ढङ्गले लुट मच्चाइरहेको छ, यसको भण्डाफोर गरेर त्यसलाई बदल्नका निम्ति चेतना जागृत गराउनुपर्छ । दोस्रो, अब नेपाल कता जानु जरुरी छ, नेपाली समाजको सही बाटो कुन हो ? अब अर्को लुट र उत्पीडनको दुनियाँमा जाने हो कि, समतामूलक समाजमा जाने हो ? यो बाटोको खोजी गरेर लेख्न जरुरी छ ।
आम लेखकहरूले नेपाली समाजलाई सही बाटोमा लान कत्तिको भूमिका निर्वाह गर्न सके जस्तो लाग्छ ?
मोटो रूपमा चिर्दा आम लेखकका मूलभूत दुईवटा धारा छन् । माधव घिमिरेहरूको धाराले यथास्थितिलाई जोगाउन लेख्दै आयो, र लेखिरहेका छन् । अर्को धाराले नेपाली समाजको खराब चिजहरूको भण्डाफोर गर्दै नेपाली समाज समाजवादतिर जानुपर्छ भन्ने सन्देश दिएर लेख्यो । कसैले आलोचनात्मक यथार्थवादमा आधारित भएर लेखे, कसैले समाजवादी यथार्थवादमा आधारित भएर लेखे । तर, उनीहरूको परिवर्तनमुखी धारा रह्यो । त्यो धाराको नेतृत्व पारिजातहरू जस्ता लेखकले गर्दै आए । अहिले पनि यही दुईवटा धारा यथावत् छन् ।
प्रस्तुतिः राजेश राई

प्रतिक्रिया