अढाई अर्बको रक्तचन्दन अलपत्र

काठमाडौं, २५ फागुन । लुकाई छिपाई चीन लैजादै गर्दा विभिन्न समयमा बरामद गरिएको करिब दुई लाख किलो रक्तचन्दन मुलुकका १५ जिल्लामा अलपत्र परेको छ । सो रक्तचन्दन कसरी थान्को लगाउने भन्ने टुङगो नलाग्दा अलपत्र परेको हो ।
सन २००६ यता करिब अढाई अर्ब रुपियाँको रक्तचन्दन नेपालमा थुप्रिएको छ । वनस्पति एवं जीवजन्तु
ओसार–पसारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि (साइटिस)का अनुसार भारतीय वनस्पति बेचबिखन गर्न पाइँदैन । भारतबाट नेपालको बाटो हुँदै चीन लैजाने क्रममा रक्त चन्दन बरामद गरिएको छ ।
वन विभागका अनुसार काठमाडौँ, झापा, सिन्धुपाल्चोक, भक्तपुर, रसुवा, नवलपरासी, चितवन, सर्लाही, रुपन्देही, ताप्लेजुङ, तेह्रथुम, कपिलवस्तु, ललितपुर, दोलखा र काभ्रेपलान्चोकका जिल्ला वन कार्यालयमा जम्मा दुई लाख एक हजार नौ सय ५५ किलो रक्तचन्दन रहेको छ । यसको बजारमूल्य प्रतिकिलो १३ हजार रुपियाँ पर्छ । यस हिसाबले दुई अर्ब ६२ करोड ५४ लाख २५ हजार दुई सय ५७ रुपियाँको रक्तचन्दन अलपत्र अवस्थामा छ ।
रक्तचन्दन व्यवस्थापनको पहल गर्दै आएको नेपाल वन प्राविधिक सङ्घका अनुसार रक्तचन्दन यत्तिकै राखिरहँदा ओसारपसार गर्ने गिरोहलाई बजारमूल्य चर्काउन मनोबल बढेको छ । ‘यति धेरै रक्तचन्दन थन्क्याएर राखिरहँदा कुनै न कुनै दिन छुटाउन सकिएला र बेचौँला भनेर ठेकेदारले बजारमूल्य चर्काउँदै लगेका छन्,’ सङ्घका अध्यक्ष देवेशमणि त्रिपाठीले सौर्यसँग भने । केही महिना अघिसम्म १० हजारदेखि ११ हजार रुपियाँ प्रतिकिलो बजारमूल्य रहेको रक्तचन्दनको अहिले १३ हजार रुपियाँ पुगेको उनले बताए ।
साइटिस नियमानुसार बेच्न प्रतिबन्ध लगाइएका वनस्पति जुन देशको हो उसैलाई फिर्ता दिनुपर्छ । तर, नेपालमा आएको वनस्पति कहाँको हो भन्ने पुष्टि गर्ने आधार छैन । ‘वनस्पति भारतकै भए पनि बरामद गर्दा ओसारपसार गर्नेलाई नपक्रिएकाले आधिकारिक स्रोत खुल्न सकेको छैन,’ अध्यक्ष त्रिपाठीले भने, ‘त्यसैले थन्किएको रक्तचन्दन जलाउनु उत्तम हुन्छ ।’ साइटिसद्वारा प्रतिबन्धित वनस्पति सङ्कलन गरी राख्दा तस्करीमा बल पुग्ने देखिए जलाएर नष्ट गर्ने अन्तर्राष्ट्रिय प्रचलन पनि छ ।
लामो समयसम्म बेवारिसे बनेको रक्तचन्दन थान्को लगाउने भन्दै वन विभागका पूर्वमहानिर्देशक डा. अन्नपूर्णनन्द दासले आन्तरिक गृहकार्य सुरु गरेका थिए । तर, अझैसम्म टुङ्गो नलागेको हालका महानिर्देशक बज्रकिशोर यादवले बताए । ‘थुप्रिएको रक्तचन्दन के गर्ने, कुनै टुङ्गो लागेको छैन,’ उनले सौर्यसँग भने ।
तथ्याङ्कअनुसार सबैभन्दा बढी काठमाडौँको वन परिसरमा ८८ हजार तीन सय ३० किलो चार सय ग्राम र सबैभन्दा कम दोलखामा चार सय ८० किलो रक्तचन्दन बेवारिसे अवस्थामा छ । सौन्दर्य सामग्री निर्माणका साथै सोखिन र सम्पन्न परिवारले शुभ वस्तुका रूपमा राख्ने गर्छन्, रक्तचन्दन । साथै, घरको बाहिरी भाग सजावट तथा धार्मिक प्रयोजनमा पनि यसको अत्यधिक माग हुन्छ ।

कहा कति रक्तचन्दन ?
क्र.स.    जिल्ला    रक्तचन्दनको परिमाण (किलो)
१)     काठमाडौँ    ८८,३३०.४
२)    झापा    २९,८८४
३)    सिन्धुपाल्चोक    २०,८१२.५
४)    भक्तपुर    १७,७०७
५)     रसुवा    १६,४७१.८
६)    नवलपरासी    ७,६२८
७)     चितवन    ६,१८०
८)    सर्लाही    ४,५५९
९)    रुपन्देही    ३,३५४.०८९
१०)    ताप्लेजुङ    २,२१५
११)    तेह्रथुम    २,०६५
१२)    कपिलवस्तु    ८८३
१३)     ललितपुर    ५५०
१४)    दोलखा    ४८०
१५)     काभ्रेपलान्चोक    ८३६

प्रतिक्रिया