नेपाल आक्रामक खेल्ने

काठमाडौं, २४ फागुन । चौथो संस्करणको एएफसी च्यालेन्जकपको पहिलो दिन नै नेपाल समूहचरणको पहिलो खेलमा उत्रादै छ । समूह ‘ए’ अन्तर्गतको खेलमा नेपाल प्यालेस्टाइनसाग भिड्नेछ । उक्त खेलमा नेपाल आक्रामक खेल खेल्ने रणनीति बनाएर ३-५-२ को सेटमा उत्रनेछ ।
यसका लागि दुई रक्षक विराज मर्हजन र रबिन श्रेष्ठ विङ्गरको रूपमा प्रयोग हुनेछन् । प्रशिक्षक ग्राहम रोबर्ट्सले नेपाली टिम हेरेयता यसै शैलीले प्राथमिकता पाउादै आएको थियो । दुई अन्तिम रक्षकको परम्परागत शैलीलाई छाड्दै रोबर्ट्सले तीन रक्षक र घरेलु फुटबलमा प्रभावकारी दुई रक्षकलाई विंगमा उपयोग गर्दै आएका थिए ।
यो शैलीपछि नेपाली रक्षकले गोल रोक्ने मात्र नभई ‘डेड बल’ मा आफूलाई राम्रो देखाउादै गोल गर्ने पनि गरेका छन् । प्यालेस्टाइनसागको खेलमा पनि रक्षापंक्ति रोहित चन्द, सागर थापा र सन्दीप राईले सम्हाल्ने निश्चित छ । अग्रपंक्तिमा जुमानु राई, सन्तोष साहुखल र अनील गुरुङमध्ये दुई खेलाडी रहनेछन् । नेपालका उत्कृष्ट अग्रपंक्तिका खेलाडीमध्येका एक भरत खवास आक्रामक मिडफिल्डरको रूपमा प्रयोग हुने जनाइएको छ । साथमा राष्ट्रिय लिगका उत्कृष्ट मिडफिल्डर भोला सिलवाल र प्रतिभाशाली ‘होल्डिङ मिडफिल्डर’ राजु तामाङ  मिडफिल्डमा रहनेछन्  ।
नेपाली वृत्तमा सबैभन्दा चिन्ताको विषयको रूपमा लिइएको अग्रपंक्तिमा भने कुनै परिवर्तनको सम्भावना छैन । सन्तोष साहुखल र अनील गुरुङ नै फरवार्डको रूपमा रहन सक्नेछन् । जुमानु राई, टङ्क बस्नेत, निराजन खड्का र गणेश लावतीमध्येे परिवर्तित खेलाडीको रूपमा मैदानमा प्रवेश गर्न सक्नेछन् । बस्नेतसहित जितेन्द्र कार्की र सर्वेन्द्र श्रेष्ठका लागि यो खेल ‘डेब्यु’ को अवसर पनि हुन सक्नेछ ।
पातलो कदका रक्षक जितेन्द्र ‘टफ’ खेलका लागि र लामो बल ‘स्वीज’ गर्नका लागि उपयुक्त मानिन्छन् । ‘लेˆट फुटेड’ सर्वेन्द्र ओभरल्यापमा राम्रो छन् भने ‘डेड बल’ मा उत्तिकै राम्रा छन् । यसअघि नेपालले पछिल्लोपटक सन् २००८ मा यस प्रतियोगितामा सहभागिता जनाएको थियो । सन् २०१० मा भएको पछिल्लो संस्करणमा भने नेपालले छनोटचरण नै पार गर्न सकेको थिएन । पहिलो संस्करणमा सेमिफाइनलसम्म पुगेको नेपाल दोस्रोमा समूहचरणबाटै बाहिरिएको थियो ।
प्यालेस्टाइनी टोलीको हकमा भने केही व्यावसायिक खेलाडी उपलब्ध नभएको प्रशिक्षकले बताएका छन् । ‘इजरायलमा चलिरहेको लिगका कारण हाम्रा केही महत्वपूर्ण खेलाडी यहाा उपलब्ध हुनेछैनन्, यसले हामीलाई समस्यामा पनि पार्न सक्नेछ,’ प्यालेस्टानी प्रशिक्षकले बुधबार आयोजित पि्रम्याच कन्फेरेन्समा बताए । यसअघि यस प्रतियोगितामा नेपाल र प्यालेस्टाइनबीच प्रतिस्पर्धा भएको थिएन । सन् २००८ को छनोटचरणमा नेपाल र प्यालेस्टाइन एउटै समूहमा परे पनि प्यालेस्टाइनले पछि नाम फिर्ता लिएको थियो ।

प्रतिक्रिया