जातीयराज्य माओवादीलाई समस्याः युवा नेता थापा

विराटनगर, २४ फागुन । कांग्रेस केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले नेपालमा जातीयताका आधारमा संघीयता बनाउन नहुने बताएका छन् । उनले दलहरुले निर्णय गरेर मात्रै संघीयता हुन नसक्ने भन्दै सबैलाई मान्य हुने गरेर राज्य पुनसंरचना गर्न सुझाव दिए ।

विराटनगरमा आज पत्रकारसँग कुरा गर्दै उनले जातीयताका आधारमा संघीयता बनाएर टिकाई देखाउन माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईलाई चुतौती दिएका छन् । उनले जातीय राजनीति माओवादीलाई समेत घातक भएको दाबी गरे ।

जातीय संघीयताको चर्को नारा लगाउने मधेसवादी दलहरुले नै मधेसीहरुलाई शोषण गरिरहको भन्दै कांग्रेस नेता थापाले मधेसी जनता चनाखो हुनुपर्ने बताए । उनले भने, ‘सत्ता नहुँदा मधेस सम्झने र सत्तामा गए मधेस विर्सने मधेसी नेताहरुसँग हिसाव किताव खोज्नुपर्छ ।’

उनले समयमा शान्ति र संविधानको मुद्दालाई अगाडी वढाउन नसके वर्तमान सरकारलाई फेर्नुपर्ने वताए । युवा नेता थापाले समय थोरै रहेकोले चाहेरपनि तीन महिनाभित्र सवै प्रकृया सकेर संविधान जारी गर्न नसकिने बताए ।

उनले नयाँ संविधानको मस्यौदा मात्रै भएपनि सार्वजनिक गरेर जानुपर्ने बताए । विवादित विषयहरुमा भने मस्यौदा जारी गरिसकेपछि छलफल गरेर सहमति जुटाउँदै जान सकिने उनको भनाई थियो ।

प्रतिक्रिया