२० वर्षअघिको वीर्यबाट बच्चा

ओर्पिङ्टन, २० वर्षअघिको आफ्नो वीर्यबाट छोरी जन्मिएपछि जोन पावेल मख्ख छन् । ‘यो सब चिकित्सा विज्ञानको करामत हो,’ छोरी ज्यास्मिनतर्फ हेर्दै उनी सुनाउँछन् ।
बेलायतको ओर्पिङ्टन निवासी जोनलाई करिब २१ वर्षअघि क्यान्सर लागेको थियो । उपचारका लागि शक्तिशाली क्यामोथेरापी दिनुपर्ने भयो । क्यामोथेरापीपछि उनको प्रजनन क्षमता हराउन सक्ने डाक्टरले बताएपछि भावी प्रयोजनका लागि जोनको वीर्य फ्रिजमा राखिएको थियो । त्यतिबेला उनी ३२ वर्षका थिए । त्यही वीर्यबाट सन्तान जन्मिएपछि जोन मख्ख परेका हुन् । जोनकी पत्नी चेनफेनले २० फेब्रुअरीमा छोरीलाई जन्म दिएकी थिइन् । २० वर्ष पुरानो वीर्यबाट सन्तान जन्माउन केही समययता उनीहरू हतारिएका थिए । बेलायतको कानुनअनुसार जोन ५५ वर्ष पुगेपछि फ्रिजमा राखिएको उनको वीर्य नष्ट गर्नुपर्ने हुन्थ्यो । उनी ५५ वर्षका हुने दिन नजिकिँदै गएपछि चाँडै सन्तान जन्माउने आतुरता दुवैमा थियो ।
थाइल्यान्डकी चेनफेनसँग दोस्रो विवाह गर्दा जोनको प्रजनन क्षमता गुमिसकेको थियो । चेनफेनले फ्रिजमा वीर्य राखिएको छ भन्ने थाहा पाएपछि कृत्रिम गर्भधारणमार्फत बच्चा जन्माउने विचार गरिन् । ‘त्यति पुरानो वीर्यबाट गर्भ बसेको थाहा पाउँदा म तीनछक परेको थिएँ । जोन पनि असाध्यै रमाएको थियो,’ चेनफेनले भनिन् । (डेलिमेल)

प्रतिक्रिया