रोए पुटिन

मस्को, २२ फागुन । ‘रुसी राज्यलाई ध्वंस गर्ने र शक्ति हडप्ने विपक्षीहरूको चालबाजीलाई तपाईंहरूले असफल बनाइदिनुभयो,’ राष्ट्रपतीय निर्वाचनमा विजयी भएपछि समर्थकको जनसागरलाई सम्बोधन गर्ने क्रममा प्रधानमत्री पुटिनले यसो भनिरहँदा उनका दुवै आँखा रसाएका थिए । चार वर्षअघि प्रधानमन्त्रीकोे पद सम्हालेका पुटिन पछिल्लो विजयसँगै रुसको सर्वाधिक शक्तिशाली राष्ट्रपति पदमा आगामी ६ वर्षसम्म रहने भएका छन् । प्रधानमन्त्री बन्नुअघि पुटिन दुई कार्यकालसम्म राष्ट्रपति भएका थिए । पछिल्लो जानकारीअनुसार पुटिनको पक्षमा करिब ६४ प्रतिशत मत खसेको थियो । उनका प्रतिद्वन्द्वी गेन्नेदी युगानोभको पक्षमा भने १७ प्रतिशत मत मात्रै खसेको थियो । विपक्षीहरूले निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाए पनि पुटिन समर्थकहरूले यस्तो आरोपलाई ठाडै अस्वीकार गरिरहेका छन् ।
पुटिन विजयी भएको सार्वजनिक भएपछि उनका हजारौँ समर्थक आइतबार अबेर रुसको राष्ट्रिय झन्डा फहराउँदै क्रेम्लिनबाहिर भेला भएका थिए । राष्ट्रपति दिमित्री मेदभेदेवका साथ समर्थकसामु देखापरेका पुटिनले देशका ‘सबै कुनामा’ रहेका आफ्ना समर्थकलाई धन्यवाद टत्र्mयाएका थिए । ‘हामी जित्छौँ भन्ने मैले वाचा गरेको थिएँ, आज जितेरै छाड्यौँ । हाम्रो विजय रुसको गौरव हो,’ पुटिनले यसो भन्दा उनका आँखा टिलपिल भएका थिए । समर्थकसामु पुटिनले खुला र निष्पक्ष निर्वाचनमा आफूले विजय हासिल गरेको दाबी गरेका थिए । आफ्नो विजयले ‘रुसमाथि केही कुरा लाद्न सकिँदैन’ भन्ने प्रमाणित भएको जिकिर उनले गरे । समर्थकहरूले ‘पुटिन हाम्रा राष्ट्रपति, हामी पुटिनमाथि विश्वास गछौँ’ लेखिएका ब्यानर बोकेका थिए ।
निर्वाचनअगावै पुटिन विजयी हुने अनुमान सर्वत्र गरिएको थियो । रुसको युवा समुदायमा गहिरो प्रभाव राख्ने पुटिनलाई अधिकांश रुसी जनताले ‘रुसको राष्ट्रवाद र स्थिरता’प्रति उत्तरदायी व्यक्ति मान्छन् । अमेरिका र युरोपेली सङ्घको रुसविरोधी नीतिका कट्टर आलोचक पुटिनले १२ वर्षसम्म सत्तामा रहँदा आफ्नो राष्ट्रवादी छवि जनतामाझ स्थापित गराएका छन् । शीतयुद्धको समाप्तिलाई ‘भूराजनीतिक दुर्घटना’ मान्ने पुटिन रुसको सामरिक, राजनीतिक तथा आर्थिक शक्तिलाई शीतयुद्धकालीन सोभियत सङ्घको स्तरमा लैजान चाहन्छन् । पुटिनको यस्तो चाहनाका कारण पश्चिमी जगत्मा उनी आलोचित छन् । (एजेन्सी)

प्रतिक्रिया