‘आफू गइजान्या, हामीलाई छोडीजान्या’

गत मङ्सिरको पहिलो साता कर्णाली क्षेत्रको पर्यटकीय सम्भावनाबारे अध्ययन गर्न पर्यटन पत्रकारको एउटा टोली मुगुको रारा जाने तयारी भयो । राजधानीबाट नेपालगन्ज, जुम्ला तथा सिंजा उपत्यका हुँदै चुच्चेमाराको लेक काटेर दुई दिनमा हामी रारा पुग्यौँ ।
रारामा रहेका सेनाको गुल्म, त्यहाँका होटल व्यवसायी तथा रारा राष्ट्रिय निकुञ्जका कर्मचारीसँगको भलाकुसारीपछि हामी ताल्चा विमानस्थल झ¥यौँ । ताल्चा मुगु जिल्लाको एकमात्र विमानस्थल हो । संयोगवश हामी पुगेकै दिन मकालु एयरको सिङ्गल इन्जिन जहाज अवतरणका क्रममा दुर्घटनामा प¥यो । अवतरणका लागि जोखिमपूर्ण मानिने ताल्चामा दुर्घटनापछि अनिश्चितकालका लागि सिङ्गल इन्जिन जहाजले उडान नभर्ने अनौपचारिक सूचना प्राप्त भयो । अब हामीसँग दुई मात्र विकल्प थिए । पहिलो विकल्प, दुई दिन हिँडेर जहाजका लागि जुम्ला फर्किने र दोस्रो डबल इन्जिन जहाजको ‘सेड्युल’ उडान पर्खिने ।
मुगुको विकट ठाउँबाट चार पाँच दिन बोकेर ल्याइएका बिरामी विमानस्थलमा अलपत्र थिए । दुर्गम क्षेत्रका सबैजसो विमानस्थलमा यस्तै अवस्था देख्न सकिन्छ । केही दिनका लागि बोकेको औषधि सकिएर कतिपय बिरामीको ज्यान जाने अवस्था आइसकेको थियो । पत्रकार भएको थाहा पाएपछि बिरामीका आफन्त हामी बसेको होटलमा आउन थाले । हामीबाट उनीहरूले निकै आशा राखेका थिए । निश्चित समयको बिदामा गएका हामी आफै अलपत्र थियौँ । तर, उनीहरूका अगाडि त हाम्रो समस्या सामान्य रहेछ ।
हामीले जहाजका लागि पर्यटन तथा नागरिक उड्डयनमन्त्री, सचिव तथा नेपाल एयरलाइन्सका हाकिमलाई अनुरोध गरायौँ । अन्ततः तीन दिनपछि राष्ट्रिय ध्वजावाहक नेपालगन्जबाट एउटा ‘चार्टड फ्लाइट’ गर्न तयार भयो । हामी बिरामी तथा कुरुवाको लिस्ट बनाएर जहाजको प्रतीक्षा गर्न थाल्यौँ । तर, जहाज आइनपुग्दै एउटा समूह जहाज आपूmहरूले ‘चार्टर्ड’ गरेको भन्दै टावरमा आइपुग्यो । ताल्चा टावरका प्रमुख भीमदत्त पन्तले सञ्चारकर्मी र बिरामीले जहाज चार्टर्ड गरेको जानकारी गराए तर उनीहरू मान्न तयार भएनन् । उनीहरूले यात्रुको छुट्टै लिस्ट बनाएका रहेछन् ।
वास्तवमा भएको के रहेछ भने काठमाडौँबाट मन्त्रीले ‘बिरामी र पत्रकार ल्याउनू’ भनेर पठाएको जहाज बीचैमा अर्को पक्षले चार्टर्ड गरेछ । बढी पैसा पाइने लोभमा निगमको नेपालगन्ज स्टेसनले युनिसेफको नाममा ८० हजार रुपियाँ अग्रिम लिएर जहाज चार्टर्ड गरिदिएछ । हामीसँग ताल्चामा वादविवाद गर्ने समूह युनिसेफकै रहेछ । केही विदेशीसहितको सो टोली बिरामी उद्धार गर्न तयार भएन । बरु हामीलाई पनि नलैजाने अड्डी कस्न थाल्यो । लामो वादविवादपछि हामी पाँच सञ्चारकर्मीचाहिँ जहाज चढ्न पाउने भयौँ । जिल्ला प्रशासनको सिफारिस हातमा बोकेका आधा दर्जन बिरामी त्यहीँ अलपत्र परे ।
मकालु, गोमा र एयर काष्ठमण्डपका सिङ्गल इन्जिन र वायुसेवा निगम तथा तारा एयरका जहाजले उडान भर्ने ताल्चा विमानस्थलमा जहाज चढ्न पनि ठूलै सङ्घर्ष गर्नुपर्ने रहेछ । त्यहाँ कम्पनीका स्थानीय एजेन्ट र युवाले गठन गरेको समितिको मनोमानी चल्दो रहेछ । कच्ची विमानस्थल भएकाले १९ सिट क्षमताको जहाज भए पनि १५ जनाभन्दा बोक्न नसक्ने रहेछ । तर, लोकल बसजस्तो तँछाडमछाड गर्दै यात्रु चढ्दा रहेछन् । कर्णालीमा हवाई सेवा नियमित नहुँदा वर्षौंदेखि यात्रुले यो नियति भोग्दै आएका छन् ।
नेपाल वायुसेवाका सेलिब्रेटी पाइलट विजय लामाले युनिसेफका मान्छे र सञ्चारकर्मीबाहेक सबैलाई जहाजबाट ओर्लिन आदेश दिएपछि बिरामी त्यहीँ छाडिए । युनिसेफका खैरेहरूले पनि बिरामीप्रति कुनै मानवीय संवेदना देखाएनन् । हामीले चाहेर पनि बिरामी ल्याउन सकेनौँ । उनीहरूको उद्धार गर्न नसकेकामा नरमाइलो लाग्यो । ‘पत्रकार आपूm गइजान्या, हामीलाई छोडिजान्या’ । एकजना बिरामीका आफन्तको यो भनाइ सम्झँदा अहिले पनि नरमाइलो लाग्छ ।

प्रतिक्रिया