बन्द गराउदै हिडेका ९ अयोग्य लडाकु पक्राउ

बागलुङ, २२ फागुन । बिभिन्न माग सहित नेपाल बन्दमा उत्रिएका माओवादी अयोग्य लडाकुलाई आज प्रहरीले म्याग्दी, बागलुङ, पर्वत लगायतका जिल्लाबाट पक्राउ गरेको छ । अनिश्चितकालिन बन्द सफल बनाउन पसल, यातायात बन्द गराउदै हिडेका माओवादीका ९ अयोग्य लडाकुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जबर्जस्ती बन्द गराउने क्रममा पक्राउ परेका अयोग्य लडाकुहरुमा समिट केसी, रमेश सापकोटा, राजकुमार क्षेत्री, निरज केसी र माधव रिजाल म्याग्दीमा पक्राउ परेका हुन् ।
यता, बागलुङमा लोकतान्त्रिक चोकबाट लक्ष्मण किसान र पदम किसान तथा पर्वत कुश्माबाट होमबहादुर नेपाली र मीनबहादुर केसी अविरललाई पनि प्रहरीले जर्बजस्ती बन्द गराउन दबाव दिदै हिडेको आरोपमा नियन्त्रणमा लिएको हो । उनीहरुले जवरजस्ती बन्द गराउन खोजेकाले पक्राउ गरीएको बागलुङका प्रहरी नायव उपरिक्षक कृष्ण सिवाकोटीले बताए ।

यता, चितवनमा बन्दको सामान्य प्रभाव परेको छ । अनमिनको प्रमाणिकरणमा अयोग्य ठाहरिएका लडाकुको बन्दका कारण लामो दुरीका सवारी साधन कम चलेपनि छोटो दुरीका सवारी साधन सञ्चालनमा आएका छन् । चितवनका मुख्य बजार नारायणगढ, टाँडी, पर्सा भण्डारा, पश्चिम चितवनका बजारमा बन्दको प्रभाव खासै परेको छैन ।

उद्योग, व्यवसाय तथा कल कारखानामा पनि बन्दको प्रभाव नपरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । बर्हिगमित जनसेना संघर्ष समितिका महासचिव कृष्णप्रसाद दंंगालले आफूहरुका माग सम्बोधन नभए सम्मा आन्दोलन गर्ने बताएका छन् ।(सौस)

प्रतिक्रिया