शवपेटीबाट उठिन् वृद्धा

ग्वाङ्सी, २१ फागुन । चिनियाँ संस्कृतिअनुसार लासलाई केही दिनसम्म शवपेटीमा राख्नुपर्ने व्यवस्था नभएको भए आज एक चिनियाँ वृद्धा जीवित रहने थिइनन् । शवपेटीमा राखिएको ६ दिनपछि ब्युँझिएर एक वृद्धा जिउँदै समाधिस्थ हुनबाट जोगिएकी छन् । मृत सम्झिएर शवपेटीमा राखिएकी उनी ब्युँझिएको घटनाले धेरैलाई चकित बनाएको छ ।
ली सुफेङ्ग नाम गरेकी ती वृद्धा लड्दा टाउकामा चोट लागेको थियो । चोट लागेपछि उनी ओछ्यानमै आराम गर्दै आएकी थिइन् ।
घाइते भएको दुई सातापछि हलचल रोकिएको र श्वासप्रश्वास पनि बन्द भएको अवस्थामा एक छिमेकीले उनलाई देखे । अन्य छिमेकीलाई खबर गरेपछि सबैले निष्कर्ष निकाले– वृद्धाको मृत्यु भयो ।
त्यो दिन सम्झिँदै छिमेकी चेन क्विङवाङले भनेँ, ‘उनी आफै नउठेपछि उठाउनुपरायो भनेर म उनको घर पुगेँ । पटकपटक कोट्याउँदा र बोलाउँदा पनि उनले थाहै पाइनन् । शङ्का लागेर श्वासप्रश्वास जाँच गर्दा उनको सास बन्द भएको पाएँ । तर, उनको शरीर त्यतिबेलासम्म पनि चिसो भइसकेको थिएन ।’
चिनियाँ परम्परामा साथीभाइ र आफन्तले लास दर्शन गरी त्यसप्रति सम्मान व्यक्त गरून् भनेर लास शवपेटीमा राखिन्छ । तर, दाहसंस्कारको एक दिनअघि ती वृद्धा शवपेटीबाट एकाएक बेपत्ता भइन् । खोज्दै जाँदा भान्सामा खाना पकाउँदै गरेको अवस्थामा उनी फेला परिन् ।
एक्लै बस्दै आएकी ती वृद्धाको दाहसंस्कारको चाँजोपाँचो छिमेकी चेनले मिलाएका थिए ।
उनलाई शवपेटीमा राख्ने बन्दोबस्त पनि उनैले मिलाएका थिए ।
दाहसंस्कारको एक दिनअघि वृद्धाको घरमा पुग्दा शवपेटी खाली देखेपछि चेन अताल्लिएका थिए । उनले भने, ‘हामी असाध्यै डरायौँ र छिमेकीहरूलाई गुहाररर्यौँ, छिमेकका सबै जम्मा भएर घर खानतलासी गर्दा भान्सामा खाना पकाइरहेको अवस्थामा उनलाई फेला पा¥यौँ ।’
आफ्नो खोजी गर्न आएका छिमेकीसँग वृद्धाले भोक लागेपछि भान्साभित्र छिरेको बताइन् । उनले भनिन्, ‘म लामो समयसम्म गहिरो निद्रामा थिएँ, ब्युँझिएपछि असाध्यै भोक लाग्यो र केही खानुपरायो भनेर भान्सामा पसेँ ।’ शवपेटीको ढकन खोल्न धेरै सङ्घर्ष गर्नुपरेको पनि उनले बताइन् ।
डाक्टरहरूका अनुसार वृद्धालाई ‘कृत्रिम मृत्यु’ ले गाँजेको थियो । यस्तो बेला व्यक्तिको श्वासप्रश्वास बन्द हुन्छ तर शरीर भने तातै रहन्छ ।
(डेलिमेल)

प्रतिक्रिया