चीनको प्रतिरक्षा बजेट बढ्यो

बेइजिङ, २१ फागुन । चीनले प्रतिरक्षा बजेट बढाउने घोषणा गरेको छ । प्रतिरक्षा बजेट ११ दशमलव दुई प्रतिशतले बढाई एक खर्ब ६ अर्ब ४१ करोड अमेरिकी डलर पुरायाइने चिनियाँ राष्ट्रिय संसद्का प्रवक्ता ली झाओसिङले पत्रकार सम्मेलनमार्फत सोमबार जानकारी दिएका छन् । सन् २०११ को तुलनामा यो वर्षको वृद्धि दर कम हो । अघिल्लो वर्ष प्रतिरक्षा बजेटमा १२ दशमलव सात प्रतिशत वृद्धि भएको थियो ।
प्रवक्ता लीले विशाल भूगोल र लामो तटीय क्षेत्र भए पनि चीनले अन्य प्रमुख मुलुकका तुलनामा प्रतिरक्षा क्षेत्रमा कम खर्च गर्दै आएको बताए । सन् २०११ को कुल गार्हस्थ उत्पादनको एक दशमलव तीन प्रतिशत मात्रै प्रतिरक्षा क्षेत्रका लागि छुट्याइएको जानकारी दिँदै उनले अमेरिका र बेलायतको प्रतिरक्षा बजेट कुल गार्हस्थ उत्पादनको दुई प्रतिशतभन्दा बढी रहेको जिकिर गरे । तर, चीनको प्रतिरक्षा क्षेत्रको वास्तविक खर्च उल्लेख गरिएभन्दा निकै बढी रहेको आशङ्का गरिन्छ ।
चीनको जनमुक्ति सेना विश्वको सबैभन्दा ठूलो सेना हो । यसमा २३ लाख सैनिक रहेको अनुमान छ । चीनको प्रतिरक्षा मामिलासम्बन्धी जानकारी गोप्य रहने गर्छ ।  चीनको बढ्दो सैनिक क्षमतालाई एसियाका अन्य मुलुक र अमेरिकाले चुनौतीका रूपमा लिने गरेका छन् । अमेरिकाले गत जनवरीमा चीनको बढ्दो शक्तिलाई ध्यानमा राखेर आफ्नो प्रतिरक्षा रणनीति घोषणा गरेको थियो ।
जापानले पनि चीनको  सैन्य गतिविधिमा पटकपटक प्रश्न उठाउने गरेको छ । जापान सरकारको गत महिनाको एउटा प्रतिवेदनमा चीनले दक्षिण चिनियाँ समुद्रमाथि गरेको दाबी अन्य क्षेत्रमा पनि विस्तार हुनसक्ने उल्लेख गरिएको छ । चीनले दक्षिण चिनियाँ समुद्र आफ्नो भएको दाबी गर्दै आएको छ । समुद्रमा रहेको ‘स्पार्टली द्वीप समूह’माथि चीनबाहेक भियतनाम, फिलिपिन्स, ताइवान, ब्रुनाई तथा मलेसियाले समेत दाबी गर्दै आएका छन् ।
प्रवक्ताले लीले चीनको प्रतिरक्षा क्रियाकलापप्रति विदेशीको चिन्ता आधारहीन रहेको बताए । उनले चीनको सैनिक क्षमता आफ्नो सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा तथा क्षेत्रीय अक्षुण्णताको संरक्षण गर्नेतर्फ लक्षित रहेको बताए । चीनको सैन्य क्षमता कुनै पनि मुलुकका लागि चुनौती नभएको उनले पनि उल्लेख गरे । चीनको प्रतिरक्षा बजेट सन् २०११ देखि २०१५ सम्म दोब्बर हुने अनुमान गरिएको छ । (एएफपी)

प्रतिक्रिया