मार्न होइन, तर्साउन पड्काइयो बमको

काठमाडौँ, २१ फागुन । बबरमहलमा गत सोमबार भएको बम विस्फोट कसैलाई मार्ने नियतले नगराएको पाइएको छ । तीनजनाको मृत्यु भएको उक्त घटना तर्साउन मात्र गराइएको प्रहरीको अनुसन्धानले देखाएको छ  ।
उक्त घटना छानबिन गर्न गठित समितिका संयोजक डिआइजी उपेन्द्रकान्त अर्यालले संयुक्त जातीय मोर्चाले बम पड्काएर ‘तर्साउन’ खोजे पनि त्यसबाट ठूलो मानवीय क्षति भएको बताएका छन् । ‘अपरेसन निगम’ नाम दिइएको अनुसन्धान सकेर प्रतिवेदन सार्वजनिक गरेलगत्तै सौर्यसँग कुरा गर्दै डिआइजी अर्यालले मोर्चाले बम विस्फोट गराउनुको मुख्य उद्देश्य रकम मागेकालाई आतङ्कित बनाउनु रहेको पाइएको बताए । ‘बम पड्किएर मानवीय क्षति हुन्छ भन्ने आँकलन त्यसमा संलग्न भएका व्यक्तिको रहेनछ,’ अर्यालले भने, ‘तर, विस्फोटबाट तीन जना मरे ।’
पक्राउ परेका अभियुक्तले भने घटनामा आफ्नो संलग्नता अस्वीकार गरेका छन् । ‘हामी कार्यकर्ता हौँ तर बम पड्काउने काममा हाम्रो संलग्नता छैन,’ उनीहरूले सञ्चारकर्मीसँग भने । प्रहरीले भने घटनामा उनीहरू नै संलग्न रहेको दाबी गरेको छ । पक्राउ गर्दा उनीहरूले ‘किन समाउँछौ, गोली हान’ भनेर प्रहरीलाई भनेको अनुसन्धानमा संलग्न वरिष्ठ प्रहरी अधिकारीले बताए ।
बेलैमा प्रहरीले यी आरोपीलाई पक्राउ नगरेको भए थप ठाउँमा बम पड्कन सक्ने थियो । अनुसन्धानमा खटिएका डिआइजी अर्यालका अनुसार, बरामद गरिएका बम बनाउने सामानले त्यही कुराको सङ्केत गर्छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुखसमेत रहेका अर्यालका अनुसार बम पड्काउने उनीहरूको योजना १० दिनअघिको थियो । घटना भएको दिन बिहान ९.०० बजेदेखि नै सुरेश, प्रेम र सागरले घटनास्थलको निगरानी गरेको अर्यालले बताए । पेटूोलियम पदार्थको मूल्य बढेको र यस्तो बेला आयल निगमअगाडि विस्फोट गराउन पाए सबैको मन जित्न सक्ने विश्लेषण गरेर उनीहरूले बबरमहल नै छनोट गरेको अनुसन्धानबाट देखिएको प्रहरी बताउँछ ।
कस्तो बम हो ?
बबरमहलमा विस्फोट गराइएको बम ‘सहरी बम’ हो । बम राखेर हिँडेको केही समयमा त्यो आफैँ पड्कन्छ । प्रहरीका अनुसार, यस्ता बमको प्रयोग सहरमा धेरै हुन्छ । अभियुक्त बम राखेर सुरक्षित ठाउँमा पुग्न समय पाउने भएकाले ‘टाइम डिभाइस’कै प्रयोग गरिएको हुन्छ ।

को समातिए ?

बम विस्फोटका आरोपीहरूमध्ये ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । नुवाकोटका विश्वदीप भनिने भीमबहादुर तामाङ, रामेछापका निमा तामाङ, मकवानपुरको पदमपोखरीका बुद्धिबहादुर गोले, धादिङका प्रेम तामाङ, सुरेश लामा र रमेश भनिने सागर लामालाई प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ ।
प्रहरी प्रधान कार्यालयले घटनाको अनुसन्धान गर्न गठन गरेको उच्चस्तरीय छानबिन समितिले आइतबार पत्रकार सम्मेलन गरी पक्राउ गरिएका अभियुक्तलाई सार्वजनिक गरेको हो । मुख्य अभियुक्त विश्वक्रान्ति भनिने देवराज लामालाई भने प्रहरीले हालसम्म पक्राउ गर्न सकेको छैन । प्रहरी स्रोतका अनुसार लामा हाल इलाममा छन् ।

प्रतिक्रिया