शक्तिखोरमा आन्दोलन

काठमाडौँ, २१ फागुन । कमान्डरले दुई करोडभन्दा बढी रकम बाँडीचुँडी खाएको भन्दै माओवादी सेनाको तेस्रो डिभिजन शक्तिखोरमा लडाकुले आन्दोलन सुरु गरेका छन् । प्रत्येक लडाकुबाट मासिक रूपमा जम्मा गरेको रकम कम्पनी सहायक कमान्डरभन्दा माथिका कमान्डरले बाँडेर खाएको भन्दै प्लाटुन कमान्डरभन्दा मुनिका लडाकु आन्दोलनमा उत्रिएका हुन् ।
स्रोतका अनुसार तेस्रो डिभिजनअन्तर्गतका पाँचवटा ब्रिगेडमध्ये बेथान स्मृति, दिनेश–राम्जी स्मृति र कल्याण–अनिस स्मृति ब्रिगेडमा लडाकुले शुक्रबारदेखि आन्दोलन सुरु गरिसकेका छन् । बाँकी दुई ब्रिगेडमा पनि लडाकुले आन्दोलन गर्ने तयारी गरेका छन् । शिविरका सबै लडाकुसित मासिक रूपमा उठाइएको रकम कमान्डरले मात्रै नभई दामासाही हिसाबले सबैलाई बाँडिनुपर्ने लडाकुको माग छ ।
तेस्रो डिभिजनमा कार्यरत एक प्लाटुन कमान्डरका अनुसार शिविरमा रहेका प्रत्येक लडाकुबाट मासिक रूपमा उठाइएको रकम गत १८ फागुनमा कम्पनी कमान्डरभन्दा माथिका कमान्डरबीच बाँडफाँड गरिएको थियो । ब्रिगेड कमान्डरलाई तीन लाख, ब्रिगेड सहायक कमान्डरलाई दुई लाख ५० हजार, बटालियन कमान्डरलाई दुई लाख, बटालियन सहायक कमान्डरलाई एक लाख ५० हजार, कम्पनी कमान्डरलाई एक लाख र कम्पनी सहायक कमान्डरलाई ५० हजार रुपियाँ बाँडिएको ती प्लाटुन कमान्डरको दाबी छ ।
केही कमान्डरले भने रकमको साटो दुई सय २० सिसीको पल्सर मोटरसाइकल लिएको उनले बताए । डिभिजन कमान्डर र सहकमान्डरले आफ्नो हिस्सामा कति रुपियाँ राखे भन्ने जानकारी भने लडाकुले पाउन सकेका छैनन् ।
आफूहरूबाट उठाइएको रकम कमान्डरले बाँडीचुँडी गरेको सुइँको पाएपछि १९ फागुनमै बेथान स्मृति ब्रिगेडका लडाकुले ब्रिगेड कमान्डर दिलबहादुर विक ‘विनोद’लाई २४ घन्टे अल्टिमेटमसहितको ज्ञापनपत्र दिएका थिए । स्रोतका अनुसार ज्ञापनपत्रमा ‘आफूहरूबाट उठाएको मासिक रकमको हिसाब २४ घन्टाभित्र पारदर्शी ढङ्गले सार्वजनिक गरिनुपर्ने माग’ उल्लेख गरिएको छ । आफूहरूको मागबारे ब्रिगेड कमान्डर विकले कुनै चासो नदेखाएपछि शनिबार (२० फागुन) लडाकुले ब्रिगेड कार्यालय घेराउ गरेका छन् ।
बेथान स्मृति ब्रिगेडका कमान्डर विकले भने आफ्नो ब्रिगेडमा कुनै आन्दोलन नभएको दाबी गरे । ‘यहाँ त त्यस्तो केही छैन त ! ज्ञापनपत्र पनि आएको छैन, कार्यालय पनि घेरेका छैनन्,’ उनले सौर्यसँग भने । मासिक रूपमा उठाइएको रकम कमान्डरले मात्रै खान नसक्ने उनले बताए । ‘कमान्डरले पैसा बाँडिसके भन्ने कुरा गलत हो । त्यस्तो पैसा कमान्डरले मात्रै बाँडेर खान सक्छ र ?’ उनले भने ।
स्रोतका अनुसार दिनेश–राम्जी र कल्याण–अनिस स्मृति ब्रिगेडका कमान्डरलाई पनि सम्बन्धित ब्रिगेडका लडाकुले शनिबार नै अल्टिमेटमसहितको ज्ञापनपत्र बुझाउने तयारी गरेका थिए । तर, दिनेश–राम्जीका स्मृति ब्रिगेडका कमान्डर दिनभरि व्यस्त भएपछि उनीहरूले बुझाउन पाएका छैनन् । दुई दिनअघि काठ तस्करीको आरोपमा पक्राउ परेका ब्रिगेड सहायक कमान्डर अभीष्ट र कम्पनी कमान्डर पञ्चमान थामीलाई छुटाउन कमान्डरहरू व्यस्त बनेको स्रोतको दाबी छ ।
उता, कल्याण–अनिस स्मृति ब्रिगेडका कमान्डर भने लडाकुको सम्पर्कमै आउन चाहेनन् । लडाकुहरू अल्टिमेटमसहितको ज्ञापनपत्र बुझाउने तयारीमा रहेको पूर्वजानकारी पाएपछि उनी सम्पर्कबाहिर रहेको स्रोतले बतायो । त्यसैले त्यस ब्रिगेडका लडाकुले ज्ञापनपत्र बुझाउन पाएका छैनन् ।
‘डिभिजन कमान्डर र सहकमान्डरले ‘केही सञ्चित रकम थियो, त्यसलाई दर्जाअनुसार मिलाएर छुट्याएका छौँ लिनुहोस्’ भन्दै कसैलाई नगद र कसैलाई चेक दिएका छन्,’ आन्दोलनमा उत्रिएका एक प्लाटुन कमान्डरले फोनमा कस्सौर्यसँग भने । कमान्डरलाई मात्रै रकम बाँडेर तल्लो दर्जाका लडाकुमाथि अन्याय गरिएको उनले बताए । शिविरका सबै लडाकुसँग मासिक रूपमा उठाइएको रकम सबैलाई दामासाही ढङ्गले बाँडिनुपर्ने ती प्लाटुन कमान्डरले बताए ।

प्रतिक्रिया