‘चिहान’मा भेटिएको डायरी

‘आकाशको चरी, डालीमाथि झरी
मबाट केही भूल भए, आई एम सरी’
यी हरफ एघार वर्षीय नीराजन पुनमगरको डायरीबाट टिपिएको हो, जो अब यस दुनियाँमा छैनन् । शनिबार राति कालीमाटीमा भएको भीषण आगलागीमा आफ्नो बाबु र दुई दिदीहरूसँगै नीराजनको पनि प्राण गयो ।
आइतबार दिउँसो करिब एक बजे पुग्दा कालीमाटीस्थित तरकारी बजार भग्नावशेषजस्तो देखिएको थियो । आगोको वाफिलो राप अझै पनि हराएको थिएन । डढेका तरकारीका थुप्रो विस्थापन गर्न व्यस्त थिए, प्रहरी र सैनिकहरू । व्यापारीहरू हतास मनस्थितिमा यताउता गरिरहेका थिए ।
तरकारी बजारस्थित भवनको माथिल्लो तलाको बीचकोठा आधा खुला थियो । भित्र पस्दा कोठाभरि ध्वाँसो भरिएको थियो । असरल्ल अवस्थामा रहेका ओढ्ने–ओछ्याउनेलगायत कोठाका सबै सामान काला देखिएका थिए । झ्यालका सिसा फुटेका थिए । कोठामा बस्ने परिवारका कोही पनि सदस्य त्यहाँ थिएनन्, थिए त उनीहरूका तस्बिरहरू मात्र । ओछ्यानको सिरानीनजिकै रहेको एल्बममा हीराबहादुरको परिवारको तस्बिरहरू सङ्गृहीत थिए । एल्बमनजिकै थियो, नीराजनको कालो सानो डायरी ।
जीवन एउटा फूल हो
सुन्दर माला गाँस्नु
दुःख पर्दा आँसु होइन
मुस्कान दिई हाँस्नु
नीराजनको डायरी यस्तै छोटा–मीठा कविता, चुट्किला र चित्रहरूले भरिएको छ । डायरीको पहिलो पेज खाली छ भने दोस्रो पेजमा नीराजनले आफ्नो सामान्य परिचय र रुचिका कुरा उल्लेख गरेका छन् । कालीमाटीकै टङ्केश्वरस्थित नीलबराही उच्च माध्यमिक विद्यालयमा कक्षा पाँचमा पढ्ने नीराजनको रोल नम्बर १६ रहेछ । डायरीमा उल्लेख भएअनुसार उनका मिल्ने साथीहरू दीपक, अश्विन र रमेश हुन् । नीराजनको ‘निकनेम’ पनि दीपक रहेछ ।
आफूलाई मन पर्ने कलाकार भनेर राजेश हमाल, विराज भट्ट र निखिल उप्रेतीको नाम लेखेका छन् । कलिलो उमेरमा उनको साहित्य तथा सिर्जनामा गहिरो अभिरुचि र दख्खल देखिन्छ । डायरीका विभिन्न पेजमा छोटा कविता, चुट्किला तथा चित्रहरू रहेका छन् ।
सात वर्षको उमेरमै नीराजनले आफ्नी आमा छमी पुनमगरलाई गुमाएका थिए । त्यसको केही वर्षपछि बुबाले कान्छी श्रीमतीका रूपमा हिक्कामाया पुनमगरलाई भित्रयाए । दुई दाजु र दुई दिदीका भाइ उनले सानीआमाबाट पनि आमाकै जस्तो माया पाए । हीराबहादुरका सबै छोराछोरी जेठी श्रीमतीबाट जन्मिएका हुन् । जेठो छोरा दुबईमा र माइलो भारतमा काम गरिरहेका छन् ।
३५ वर्षीय हिक्कमाया गर्भवती छिन् । धुवाँले निस्सासिएर बाहिर निस्कन नसकेकाले उनी कोठाभित्रै घोप्टो परेकी थिइन् । गम्भीर घाइते अवस्थामा उनलाई अहिले छाउनीस्थित आर्मी अस्पतालको आइसियूमा राखिएको छ ।

आठ करोडको क्षति

काठमाडौँ, २१ फागुन । कालीमाटीस्थित तरकारी बजारको मुख्य भवनमा शनिबार राति आगलागी हुँदा एकै परिवारका चारसहित ६ जनाको ज्यान गएको छ । आगलागीबाट अनुमानित आठ करोड रुपियाँबराबरको क्षति भएको छ ।
शनिबार बेलुका १० बजे विद्युत् सर्ट भएपछि भवनमा आगलागी भएको हो । आगलागीबाट ज्यान गुमाउनेमा दाङ हलवार गाविस–३ का ५२ वर्षीय हीरा पुनमगरको परिवारका चार सदस्य रहेका छन् । उनकी १६ वर्षीया छोरी शान्ति पुनमगर, १३ वर्षीया छोरी निरा पुनमगर र ११ वर्षीय छोरा नीराजन पुनमगरको जलेर मृत्यु भएको छ भने ३६ वर्षीया श्रीमती हिक्का पुनमगर गम्भीर घाइते भएकी छन् । हीराबहादुर तरकारी बजारमा सेक्युरिटी गार्डको काम गर्थे ।
तरकारी बजारमै काम गर्ने पर्सा, वीरगन्जका २० वर्षीय ओमकुमार शाह र धादिङ पीडा गाविस–२ का १७ वर्षीय पुजन मिजारको पनि आगलागीमा मृत्यु भएको छ । आगोले गोरखाका ४५ वर्षीय बलराम भुजेलको हात तथा कान जलेको छ । उनलाई थप उपचारका लागि वीर अस्पताल लगिएको छ ।
हीरा ०५७ सालदेखि तरकारी बजारमा सुरक्षा गार्डका रूपमा कार्यरत थिए । नेपाल प्रहरीका पूर्व हवल्दारसमेत रहेका उनी सेवाबाट अवकाश पाएपछि सुरक्षा गार्डका रूपमा काम गर्न थालेका हुन् । पछिल्लोपटक उनी तरकारी बजारको मुख्य भवनको मथिल्लो तलास्थित कोठामा बस्दै आएका थिए ।
प्रहरीका अनुसार लोडसेडिङपछि विद्युत् हाइभोल्टेजमा आउँदा भवनमा बिछ्याएको तार जल्न पुगेको थियो । तारबाट निस्किएको आगो बल्दै प्लास्टिकका टोकरीसम्म पुग्यो । टोकरी सल्किएपछि जुटको बोरा हुँदै आगो भवनको तल्लो तलामा फैलियो । त्यसपछि मात्रै आगो माथिल्लो तलासम्म पुगेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी धीरजप्रताप सिंहका अनुसार प्लास्टिकका क्यारेट र जुटका बोरामा आगो सल्किएकाले धेरै क्षति हुन पुगेको छ ।
आगलागी भएको केही मिनेटमा प्रहरी घटनास्थल पुगेको थियो । नियन्त्रणका लागि तत्काल दमकल आए पनि आगो नियन्त्रण बाहिर गएको थियो । आगो नियन्त्रण हुनाको सट्टा झन् भीषण बन्दै गएपछि नेपाली सेना र सशस्त्र प्रहरीको टोली घटनास्थल पुग्यो । आगो नियन्त्रण गर्न दमकल र क्रेन प्रयोग गरिएको थियो ।
नियन्त्रणमा खटिएका एक प्रहरी अधिकृतका अनुसार आगोको लप्का २५ फिटसम्म माथि पुगेको देखिन्थ्यो । सुरक्षाकर्मी भवनको माथिल्लो तलाको झ्याल फोरेर भित्र छिरेका थिए । सुरक्षाकर्मीको अथक प्रयासपछि आइतबार बिहान करिब आठ बजे मात्रै आगो नियन्त्रणमा आयो ।
आगलागीमा ज्यान गुमाएका एकै परिवारको शव प्रहरीले मुख्य भवनको माथिल्लो तलामा फेला पारेको थियो । कसैको शव सग्लो अवस्थामा थिएन, सबै डढेको थियो । प्रहरीका अनुसार नीराजन भवनको प्यासेजमा डढेको अवस्थामा भेटिएका थिए । उनकी जेठी दिदी शान्ता च्यानल गेटनजिकै लडेकी थिइन् । कान्छी दिदी मिरा र बुबा हीराबहाुदर पनि प्यासेजमै भेटिएका थिए । उनीहरू डढेर ‘मुढा’जस्तै भएका थिए । बाँकी रहेका कपडाका आधारमा मात्रै उनीहरूको पहिचान गरिएको थियो ।
प्रत्यक्षदर्शी पवित्र पौडेलका अनुसार उनीहरूलाई बोरामा पोको पारी प्रहरीले पोस्टमार्टम गर्न लगेको थियो । आगो नियन्त्रण गर्ने क्रममा राति करिब साढे दुई बजे उनीहरूको शव प्रहरीले फेला पारेको थियो ।

हवल्दारको गाउमा भात पाकेन

रीता लामा

दाङ, २१ फागुन । ‘मेरो छोरालाई विदेश पठाउँदा हवल्दारले हामी बाउ–छोरालाई ४२ दिनसम्म पालेका थिए,’ खिमबहादुर सुनार सम्झन्छन्, ‘आज हाम्रो घरमा भात पाकेन, भोक पनि ला’छैन ।’
कालीमाटीमा भएको भीषण आगलागीमा परी ज्यान गुमाउने हीराबहादुर पुनका छिमेकी हुन्, खिमबहादुर । नेपाल प्रहरीमा हवल्दारको जागिरबाट रिटायर्ड भएका हीराबहादुरलाई गाउँमा सबैले ‘हवल्दार’ भनेर चिन्ने गर्छन् । खिमबहादुरका अनुसार घटनाको दोस्रो दिन हवल्दारका सबै छिमेकीले बिहान चुलो सल्काएनन् ।
‘यस्तो खबर आएपछि आङमा घाम लाग्छ त ?’ छिमेकी पवित्रा पोखरेलले प्रतिप्रश्न गरिन्, ‘आपत्–विपत्मा हवल्दारले हाम्लाई धेरै सहयोग गरे, त्यसैले छिमेकीको अवस्था बुझ्न र सहयोग गर्न बुहारीलाई पठाएको छु ।’
काठमाडौँको कालीमाटीमा शनिबार राति लागेको आगोले दाङलाई रुवाएको छ । आगलागीमा परी दाङको हलावार गाविस–३, कालाखोला स्थायी घर भएका हीराबहादुर तथा उनका तीन छोराछोरीको ज्यान गयो । उनकी श्रीमती गम्भीर घाइते भएको गाउँमा खबर आएको छ ।
पाँचजनाको परिवारसहित कालीमाटीमा सुरक्षा गार्डको काम गर्दै आएका हीराबहादुरका परिवारै आगलागीमा परेपछि गाउँमा खबर आउन ढिलाइ भएको थियो । सो गाउँबाट काठमाडौंमा गएर बस्ने हीराबहादुर मात्रै थिए । त्यसैले गाउँका जो काठमाडौँ गए पनि बस्ने ठाउँ हीराबहादुरकै डेरा हुन्थ्यो । त्यसैले दुःखद् खबरले गाउँलाई शोकाकुल बनाएको छ ।
दाङमा रहेको घरमा हीराबहादुरकी ६५ वर्षीया सासू जितसरी बुढा मात्र बस्छिन् । ‘बिहान साढे पाँच बजे स्थानीय एफएमबाट आगलागीको समाचार आयो रे ! तर को म¥यो भन्ने सुनाएन रे !’ बुढाले भनिन् । खबर आएदेखि नै छिमेकीहरू हवल्दारको घरमा जम्मा भई सहानुभूति दिइरहेका छन् । हीराका ससुरा पृतिबहादुर रोका तथा सालीहरू भने आइतबार नै काठमाडौं लागेका छन् ।
प्युठानबाट ५० सालमा बसाइ सरी आएका हीराबहादुरले १० वर्षदेखि कालीमाटी तरकारी बजारमा सुरक्षा गार्डका रूपमा काम गर्दै आएका थिए । उनका बुबा–आमा तथा भाइहरू प्युठानको बाङेमरोट गनविसानमा बस्दै आएको छिमेकी बताउँछन् । छिमेकीका अनुसार जेठा छोरा कमल पुन रोजगारीका लागि साउदी अरबमा छन् भने माइला छोरा भारतमा ।

प्रतिक्रिया