छ खेलमा नयाँ किर्तिमान

कैलाली, २१ फागुन ।    आइतबार भएका छैटौ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभिन्न ६ वटा खेलमा नयाँ किर्तिमान कायम भएका छन् । खेलाडीहरुले यसअघिका किर्तिमान तोड्दै नयाँ किर्तिमान कायम गरेका हुन् ।
एथलेटीक्सतर्फ सशस्त्र प्रहरीकी सविता चौधरीले दुई वटा किर्तिमान गरिन् । उनले १ सय मिटर हर्डल्स र ४ सय मिटर हर्डल्समा नयाँ किर्तिमान गरेकी हुन् । यस्तै भारत्तोलनमा नेपाल प्रहरीकी देवीकुमारी चौधरी, नेपाल प्रहरीकै तारादेवी पुन र जनमुक्ति सेनाको पीएलए स्टोपर्टस् क्लबकी राममाया थापाले किर्तिमान कायम गरे । पौडीमा मध्यमाञ्चलका शैलेश राणाले आफ्नै किर्तिमानी तोड्दै नयाँ किर्तिमानी रचे ।
एथलेटिक्समा चौधरीले ४ सय मिटर हर्डल्स दौड १ मिनेट ०८.८१ सकेन्डमा पुरा गर्दै नयाँ किर्तिमान रचिन् । यसअघि कमला प्रसाइको नाममा रहेको सोही समयमा उक्त दौड पुरा गरेको रेकर्ड थियो । १०० मिटर हर्डल्स दौड १७.५० सेकेन्डमा पुरा गर्दै १७.९५ सेकेन्डमा माया थापाको नाममा रहेको किर्तिमान तोडिन् ।
५३ केजी भारत्तोलनमा नेपाल प्रहरीकी चौधरीले क्लिन एण्ड जर्कमा ७६ केजी उचाल्दै सोही प्रतियोगितामा ७५ केजीमा आफ्नै नाममा रहेको किर्तिमानीमा नयाँ किर्तिमान रचिन् । भारत्तोलन ७५ केजीमा पिएलएकी राममाया थापाले क्लिन एण्ड जर्कमा ७७ केजी र कुलमा १ सय २७ केजी उचाल्दै किर्तिमान रचिन । यसअघि उक्त प्रतियोगितामा क्लिन एण्ड जर्कमा ७३ र कुलमा १ सय २६ केजीसहित लक्ष्मी वनको नाममा उक्त किर्तिमान रहेको थियो ।
पौडी २ सय मिटर इन्डिभिजुएलमा मध्यमाञ्चलका शैलेश राणाले आफ्नै नाममा रहेको किर्तिमानमा नयाँ किर्तिमान रचे । २ मिनेट ३१.८७ मिनेटमा पुरा गर्दै २ मिनेट ३१.९७ मिनेटको आफ्नै किर्तिमानमा नयाँ किर्तिमानी रचे । यस्तै ५९ केजीमा नेपाल प्रहरीकै तारादेवीले क्लिन एण्ड जर्कमा ९१ केजी र कुलमा १सय ५७ केजी उचाल्दै क्लिन एण्ड जर्कमा ८३ र कुलमा १ सय ५६ केजीको किर्तिमान तोडीन् ।

यसैबीच आज आइतबार महेन्द्रनगर रङगशालामा भएको महिला फुटवल प्रतियोगिताको फाइनल खेलमा सशस्त्र प्रहरीको एपिएफ टिमले पिएलएलाई २–० ले पराजित गरेको छ ।

प्रतिक्रिया