एमाले जनतामा पहिलो पार्टीः अध्यक्ष खनाल


काठमाडौं, २१ फागुन । एमाले अध्यक्ष झलनाथ खनालले माओवादीले सात बुँदेको कार्यान्वनय गर्नुको साटो नयाँ, नयाँ बखेडा झिकेर शान्ति प्रक्रिया अल्मलाई रहेको आरोप लगाएका छन् । उनले कुनै अलमल नगरेर शान्ति प्रक्रिय टुङगाउन सात बुँदेको कार्यान्वनय अनिर्वाय रहेको बताए ।
एमालेको प्रथम राष्ट्रिय प्रतिनिधि परिषद बैठकको उद्घाटन सत्रलाई आज काठमाडौंको खुल्ला मञ्चमा सम्बोधन गर्दै खनालले लोकतन्त्रवादी पार्टी एमाले मात्रै रहेको दाबी गरे । उनले कांग्रेसले आफूलाई लोकतन्त्रवादी भने पनि उसले लोकतन्त्रलाई बचाउन नसक्ने बताएका छन् ।
त्यसै गरेर अध्यक्ष खनालले एमाले अझै पनि जनतामा एक नम्बरमा रहेको दाबी गरेका छन् । उनले संविधानसभा चुनावमा तेस्रो नम्वरमा भएपनि जनताको हृदयमा एमाले पहिलो स्थानमा रहेको बताए । खुल्लामञ्चमा जनसभा गर्न एमालेलाई साँघुरो हुन थालेको खनालको भनाई थियो ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले माओवादीलाई नेपाली सेनामा घुसपैठ गर्न नदिने बताएका छन् । मुलुकको राष्ट्रिय सेनामा राजनीतिक करण गर्न खोजेको भन्दै उनले माओवादीको बिरोध गरे ।
नेता नेपालले माओवादीले २ वटा सरकारको नेतृत्व गरिसक्दा समेत असफल भएको आरोप लगाए । उनले माओवादीको सत्ताकब्जाको रणनीति एमालेले बुझेको बताएका छन् । सत्ताकब्जा गर्न माओवादी सफल नहुने नेपालको भनाई थियो ।
वरिष्ठ नेता केपी शर्मा ओलीले एकीकृत माओवादी फाईदाको राजनीतिमा सक्रिय रहेको आरोप लगाएका छन् । फाईदाको राजनीतिमा मात्रै सक्रिय हुँदा मुलुक जटिल समस्यामा परेको बताए ।
ओलीले माओवादी फाईदा हुने तिर मात्रै लाग्ने गरेको दाबी गरे । उनले खाली खुट्टा जंगलमा बसेर आएका माओवादीका नेताहरु गगनचुम्बी महल र टावर ठडाउन लागीपरेको आरोप लगाए । उनले सरकारमा बसेर माओवादीले लुटको राजनीति गरेको बताएका छन् ।
एउटा खुट्ट शान्ति प्रक्रिया र अर्को खुट्टा सत्ता कब्जाको ढुङगामा राखेर माओवादी गल्ति गरिहेको ओलीको भनाई थियो । ओलीले सुकुम्वासी र लडाकुलाई खाली सपना देखाएर माओवादीले धोका दिएको आरोप लगाए ।
एमाले उपाध्यक्ष बामदेव गौतमले पार्टीलाई एकतावद्ध बनाउन आफूले जुनसुकै बलिदान दिन तयार रहेको बताए । उनले माओवादीले मुलुकलाई निकास दिन नसक्ने बताउदै मुलुकको प्रगति माओवादीबाट संभवन नरहेको उल्लेख गरे । उनले सरकार बाहिर रहँदा भारतसँग युद्ध गर्ने धम्की दिने माओवादीले आफ्नो सरकार बनेपछि भारत र अमेरिकालाई नै खुशी पार्ने काम मात्रै गरेको आरोप लगाए ।
अर्का उपाध्यक्ष अशोक राईले मुलुकको राजनीतिक गतिरोध अन्त्यका लागि प्रधानमन्त्री बाबुराम भट्टराईले राजीनामा दिनुपर्ने सुझाव दिए । उनले राष्ट्रिय सहमतिको सरकारका लागि प्रधानमन्त्रीको राजीनामा भन्दा अर्को बिकल्प नरहेको बताए ।
महासचिव ईश्वर पोखरेलले माओवादीसँगको सहकार्य उसको हिंसालाई स्वीकार गरेर नभएको बताए । उनले माओवादीलाई आफ्ना गलत र हिंसात्मक गतिधिवि छाडेर शान्ति पूर्ण राजनीतिमा आउन सुझाव दिएका छन् ।
पोखरेलले माओवादीको हिंसासँग एमालेको कदापि सहकार्य नहुने बताए । उनले भने, ‘माओवादीको हिंसा, अराजकता, हत्या, लुट, अपहरणसँग सहयकार्य गरेका होईनौ, शान्ति र संविधानका लागि हौं ।’ उनले कांग्रेसँग पनि आर्थिक र सामाजिक एजेण्डासँग मात्रै सहकार्य गरेको बताएका छन् ।
धुमधामसँग गरिएको एमालेको राष्ट्रिय प्रतिनिधि परिषद बैठकको उद्घाटन सत्रमा उल्लेख्य एमाले कार्यकर्ता तथा नेताहरुको सहभागिता रहेको थियो । उद्घाटन सत्र सुरु हुन अघि राजधानीका बिभिन्न स्थानबाट एमाले कार्यकर्ता झाँकी सहित खुल्लामञ्च पुगेका थिए । भोलिदेखि प्रज्ञाभवनमा एमालेको बन्द सत्र सुरु हुने छ ।

प्रतिक्रिया