‘प्रमुख दलबीच आयोग गठनमा कुरा मिलेन’

काठमाडौं, २१ फागुन । प्रमुख तीन दलका शीर्ष नेताहरुबीच बिभिन्न आयोग गठन गर्ने बिषयमा छलफल भएपनि बैठक ठोस निर्णयबिना सक्किएको छ ।
काठमाडौंको डल्लुस्थित एमाले अध्यक्ष झलनाथ खनालको निवासमा आज बिहान बसेको शीर्ष बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोग गठनका बिषयमा छलफल भएको हो ।
बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै एकीकृत माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन बैद्यले आयोगहरु गठनका बिषयमा छलफल भएपनि सहमति हुन नसकेको जानकारी दिएका छन् । उनले बैठकमा आयोग गठनका बिषयमा तीनै दलका नेताहरुले धारणा राख्ने काम मात्रै भएको बताए ।
उनले भने, ‘आयोग गठनमा अलिअलि बिवाद छ, छिट्टै सहमति गर्छौं ।’ आयोग गठनमा बिवाद भएपछि बैठकले त्यसलाई टुङगो लगाउने जिम्मेवारी तीन शीर्ष नेतालाई दिएको छ ।
कांग्रेस सभापति सुशील कोइरालाले अघिल्लो बैठकमा आयोगहरु गठन गर्न सहमतिको प्रस्ताव पेश गरेका थिए । एकीकृत माओवादीले शान्ति प्रक्रिया र लडाकु समायोजन र एमालेले संविधानका बिवादित बिषयमा सहमतिको प्रस्ताव शीर्ष बैठकमा पेश गरिसकेका छन् ।
शीर्ष बैठक दैनिक सरह बसेपनि दलरुका आआफ्नै अडानका कारण शान्ति, संविधान र आयोग गठनमा ठोस निर्णय हुन सकेका छैनन् ।

प्रतिक्रिया