इरान र इजरायललाई अमेरिकी चेतावनी

वासिङ्टन, २० फागुन । इरानको परमाणु कार्यक्रम अवरुद्ध गर्न इरानमाथि आक्रमण गर्ने इजरायली अधिकारीहरूले धम्की दिइरहेका बेला अमेरिकाले इरान र इजरायल दुवैलाई चेतावनी दिएको छ । इरानलाई परमाणु हतियार बनाउन नदिन आवश्यक परे ऊविरुद्ध आक्रमण गर्ने चेतावनी अमेरिकाले दिएको छ । साथै, इजरायलले इरानको परमाणु केन्द्रमा आक्रमण गरे अवस्था झन् बिग्रिनेतर्फ सचेत हुन अमेरिकाले इजरायललाई सुझाब दिएको छ ।
शुक्रबार प्रकाशित एक अन्तर्वार्तामा अमेरिकी राष्ट्रपति बाराक ओबामाले दुवै राष्ट्रलाई यस्तो चेतावनी दिएका हुन् । केही दिनअघि ओबामाले इजरायलले इरानमाथि आक्रमण गरे इस्लामिक जगत्मा इरानप्रति सद्भाव बढ्ने बताएका थिए । यद्यपि, उनले इरानमाथि अमेरिकाले आक्रमण गर्ने सम्भावना भने प्रबल रहेको प्रस्ट पारेका थिए ।
इजरायल मध्यपूर्वमा अमेरिकाको साझेदार राष्ट्र हो । प्यालेस्टाइन, इरान, सिरिया आदिसँग इजरायलको तनाबपूर्ण सम्बन्ध छ । ती राष्ट्रसँग इजरायलको सम्बन्ध बिग्रिँदा अमेरिकाले इजरायलको पक्ष लिँदै आएको छ । त्यसैगरी, ठूलो आर्थिक महत्व बोकेको पश्चिम एसियाको स्वेज नहर अमेरिकालाई प्रयोग गर्न दिन इजरायलले सहयोग गर्दै आएको छ ।
इरानमा जारी परमाणु कार्यक्रम आम विनाशकारी परमाणु हतियार निर्माण गर्नेतर्फ लक्षित रहेको भन्दै इजरायल र अमेरिका दुवैले यसको विरोध गर्दै आएका छन् । तर, इरानले भने परमाणु कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि जारी राखिएको प्रस्ट पार्दै आएको छ ।
इजरायलको सुरक्षाप्रति अमेरिका प्रतिबद्ध रहे पनि यसको मूल्याङ्कन नभएको भन्दै राष्ट्रपति ओबामाले घुमाउरो रूपमा चित्त दुखाएका छन् । ‘इजरायलको सुरक्षाबारे मैले व्यक्त गरेका हरेक प्रतिबद्धता मैले पूरा गरेकै छु । तीन वर्षयता इजरायलले समस्याको सामना गर्दा सघाउन चुकेको छैन । यति हुँदाहुँदै यसबारे किन अभैm कुरा उठाइन्छ ?’ अन्तर्वार्तामा ओबामाले भनेका छन् ।
इरानलाई परमाणु हतियार बनाउन दिने तर यसको प्रयोग गर्नबाट उसलाई रोक्ने अमेरिकी नीति रहेको भन्ने भनाइलाई उनले ठाडै अस्वीकार गरे । ‘पश्चिम एसिया ज्यादै अस्थिर क्षेत्र हो, त्यस क्षेत्रका धेरै राष्ट्र इरानसँग परमाणु हतियार हुने तर आपूmहरूसँग नहुने अवस्थालाई स्विकार्न तयार छैनन् । इरानले आतङ्कवादी सङ्गठनहरूलाई सहयोग गर्दै आएको छ । त्यसैले ऊसँग परमाणु हतियार भए यसको प्रसार हुने जोखिम उच्च छ,’ उनले भने ।
इजरायली अधिकारीहरूले इरानमाथि केही महिनाभित्र आक्रमण गर्नुपर्ने भनाइ सार्वजनिक रूपमै राख्दै आएका छन् । तर, अमेरिकाले भने यसको विरोध गर्दै आएको छ । त्यसैले इरानमाथि आक्रमण गर्नैपर्ने अवस्था आए इजरायलले अमेरिकासँग परामर्श नगर्ने जनाउँदै आएको छ । अमेरिकासँग परामर्श गरे इरानमाथिको आक्रमण रोक्न अमेरिकाले पहल गर्न सक्ने भएकाले आक्रमण गर्नैपरे अमेरिकालाई नसोध्ने निष्कर्षमा आपूmहरू पुगेको इजरायली अधिकारीहरूले अमेरिकी अधिकारीहरूलाई बताउने गरेको समाचारमा केही दिनअघि सार्वजनिक भएको थियो । सैन्य हमलाबाट केही समयका लागि मात्रै इरानमा परमाणु कार्यक्रम अवरुद्ध हुने र यसले समस्या समाधान नगर्नेमा इजरायललाई मनाउने प्रयास अमेरिकाले गर्दै आएको छ । अमेरिकाको यस्तो प्रयासले इजरायलसँगको उसको सम्बन्ध तनाबपूर्ण बनाइरहेको छ ।  (एजेन्सी)

प्रतिक्रिया