६२ वर्षपछि शव प्राप्त

क्वालालम्पुर, २० फागुन । सन् १९४८ देखि १९६० सम्म बेलायतको सैन्य सहयोगमा मलेसियाको सेनाले त्यहाँका कम्युनिस्ट विद्रोहीविरुद्ध भीषण युद्ध लडेको थियो । युद्धकै क्रममा सन् १९५० मा बेलायतको रोयल एयर फोर्स (आरएएफ) को एउटा विमान मलेसियाको एउटा घना जङ्गलमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा परी मारिएका १२ जनाको शव ६२ वर्षपछि हालै प्राप्त भएको छ । अब शवहरूको रीतपूर्वक दाहसंस्कार हुने भएको छ । दुर्घटनामा परी मृत्यु भएकामध्ये एकजना बेलायती वायु सैनिकका भाइको सक्रियतामा शव खोज्न थालिएपछि शव फेला परेका हुन् । २५ अगस्ट, १९५० मा दुर्घटनाग्रस्त उक्त बेलायती युद्धकविमानमा परी आठ सैनिक र चार नागरिकको मृत्यु भएको थियो । तीमध्ये एक थिए– जेफ्री कार्पेन्टर ।
त्यसको एक दशकपछि जेफ्रीका भाइ डेनिसले बेलायतमा रहेका मलेसियाली पर्यटन अधिकारीसँग दुर्घटना भएको क्षेत्र काम्पुङ पेन्चोङको नक्सा मागे । संयोगले उनको मागपत्र लन्डनमा रहेको मलेसियाली हाइ कमिसनका सैन्य अधिकारीसमक्ष पुग्यो । कर्नेल ताजिर अल्वीले दुर्घटनाग्रस्त भएको विमानको अवशेष फेला पार्न बृहत् खोज गर्न मलेसियाली सेनालाई निर्देशन दिए । नभन्दै अथक मिहिनेतपश्चात् मलेसियाली सेनाको आठौँ ब्रिगेडले दुर्घटनाग्रस्त भएको विमान फेला पारेरै छाड्यो । नोभेम्बर, २००८ मा सेना, प्रहरी, विशेष फोरेन्सिक मानवशास्त्री आदिको एक सय ५० सदस्यीय टोलीले दुर्घटनाग्रस्त विमानमा सवार मान्छे जेफ्रीसहित सबैको अवशेष फेला प¥यो । जेफ्रीको शव फेला परेपछि प्रसन्न भएका भाइ डेनिसले मलेसियाको राजधानी क्वालालम्पुरमै रीतपूर्वक शवको दाहसंस्कार गर्ने भएका छन् । ८२ वर्षीय डेनिसले भने, ‘सानै छँदा उसले घर छाडेकाले राम्रोसँग चिन्न पनि पाएको थिइनँ तर रीतपूर्वक उनको दाहसंस्कार होस् भन्ने घरका सबैको चाहना थियो ।’ कम्युनिस्ट विद्रोहीविरुद्ध आक्रमण गर्न पुगेको बेलायती युद्धकविमान इन्जिनमा खराबी आएपछि दुर्घटनाग्रस्त भएको थियो । उद्धारकर्ताले शव त्यतिबेलै फेला पारेका भए पनि अप्ठेरो भूगोल र कम्युनिस्ट व्रिद्रोहीबाट आक्रमण हुने भयले माटो खोस्रिएर सबै शव छोपछाप पारी फर्किएका थिए । (डेलिमेल)

प्रतिक्रिया