“पिटी खेल्दा कांग्रेस भन्थे”

केबी गुरुङ, सभासद ,नेपाली कांग्रेस

भाइबहिनीहरू ! म १९९१ साल मङ्सिरमा इलाममा जन्मेको हुँ । मेरा पिताजीको नाम पहलबहादुर हो भने माता पूर्णकुमारी । तीन वर्षसम्म म मामाघरमा बसेको थिएँ । त्यसपछि पिताजीसँग बस्न थालेँ । उहाँ चिया बगानको मुन्सी हुनुहुन्थ्यो ।
त्यति बेला इलामका तीन चियाबगानमध्ये दुइटाको ठेक्का पिताजीले लिनुभएको थियो । चियाबगानमा काम गर्ने मजदुरका छोराछोरीसँग मेरो सङ्गत हुन्थ्यो । म उनीहरूसँगै खेल्ने, खाने, बस्ने गर्थें । विसं १९९१ तिर गाउँमा भाषा पाठशाला खुलेको थियो, त्यहाँ हामी (मतवाली) ले सजिलै पढ्न पाउँदैनथ्यौँ । अहिले जनजाति भनेर चिनिने राई, लिम्बू, तामाङलाई त्यतिबेला मतवाली भन्थे ।
पाठशालामा खस जातिहरू मात्र पढ्थे । संस्कृत पढाइ हुन्थ्यो । क्षेत्रीबाहुनले मात्र गहिरोसँग पढ्ने हो भन्ने मान्यता थियो । अन्य जातिले संस्कृत पढ्न पाउनु भनेको सामान्य भाषा सिक्नु मात्र थियो । भाषा सिकाउन अमरकोश पढाइन्थ्यो । अमरकोश पढ्न पनि हामीले निकै मिहिनेत गर्नुपथ्र्याे, मैले पनि पढँे ।
हामीलाई पढाउने गुरुहरूले खासै वास्ता गर्नुहुन्थेन । जतिसुकै जेहेनदार भए पनि सबैलाई एउटै स्तरको मान्यता दिने चलन थियो । यसै कारण मतवालीलाई पढाइमा त्यति जोड गराइन्नथ्यो । परीक्षा सिस्टम थिएन । घरबाटै बोरा, राडी या चट्टी लगेर जान्थ्यौँ र त्यसैमा बसेर पढ्ने गथ्र्यौं । पछि २००३ सालमा नजिकै अङ्गे्रजी स्कुल खुल्यो, त्यसमा भर्ना भएँ । म अन्य साथीभन्दा अलि बुझ्ने भइसकेको थिएँ ।
त्यति बेला इलाममा बडाहाकिम महावीर राणा थिए, सुवर्णशमशेरका भाइ । तिनी राणा भएर पनि जहानियाँ शासनविरोधी थिए । हामीलाई राणाविरोधी अनेकन किस्सा सुनाउने गर्थे । मलाई यकिन मिति त थाहा छैन तर उनले एकपटक टङ्कप्रसाद आचार्यबारे सुनाएका थिए । आचार्य प्रजापरिषद्का अध्यक्ष थिए । श्री ३ का अगाडि बसेर सिगरेट खाएको कुरा सुनाउँथे । अनि हामीलाई पनि राणाविरोधी गतिविधिमा लाग्न प्रेरित गर्थे ।
पिताजी पत्रिकाप्रति खुब चासो राख्नुहुन्थ्यो । हाम्रो घरमा त्यस बेला प्रकाशित हुने सम्पूर्ण पत्रिका आउँथे । अरू पत्रिकाको नाम त याद छैन, गोरखापत्र पनि आउँथ्यो । तर, पिताजीलाई पढ्न आउँदैनथ्यो, मैले नै पढेर सुनाउनुपथ्र्यो । त्यसबाट म धेरै कुरा बुझ्थेँ । स्कुलमा अरूभन्दा बढी कुरा गर्न सक्थेँ । किनकि, ती पत्रिकाबाट राणाविरोधी गतिविधिबारे पनि मलाई चाँडै थाहा हुन्थ्यो । पढ्नमा अब्बल दर्जाकै मानिने हुँदा गुरुहरूले राम्रै गर्नुहुन्थ्यो ।
म तीन कक्षासम्म त प्रथम नै भएँ । चार कक्षा नपढी एकैचोटि पाँचमा फड्को मारेँ । तर, पछाडि पढाइ अलिकति खस्कियो । खेलमा चाहिँ म अब्बल भइसकेको थिएँ । हामी स्कुलमा पिटी खेल्थ्यौँ । सेतो कमिज र कालो हाफपेन्ट हाम्रो पहिरन हुन्थ्यो । त्यो ड्रेस लगाउँदा मान्छेहरू भन्ने गर्थे, ‘सेतो र कालो लगाउने त कांग्रेस हुन्छन् ।’ त्यसोभन्दा हामीलाई खुसी नै लाग्थ्यो ।
सेतो कमिज र कालो हाफपेन्ट कांग्रेसको पहिचान थियो, अनि हाम्रो पनि । सदस्यता नै त मैले लिइसकेको थिइनँ तर पनि कांग्रेस भनाउन साह्रै रहर लाग्थ्यो । यही कारण त्यसो ड्रेस पनि प्यारो लाग्थ्यो । राणाविरोधी गतिविधि गर्दा पुसमाघको जाडोमा पनि सेतो कमिज र कालो हाफपेन्ट मात्रै लगाएर जान्थ्यौँ । एकपल्ट हामीले तत्कालीन नेपाली सेनासँग पिटी खेल्ने मौका पायौं, सेनालाई जित्यौँ पनि । बाहिर त नेपाली सेनालाई कांग्रेसले जित्यो भन्ने प्रचार भएछ । त्यो मेरा लागि अत्यन्त खुसीको पल थियो ।
मेरा अधिकांश आफन्त सात सालको जनआन्दोलनमा मुक्तिसेनामा संलग्न हुनुहुन्थ्यो । गोरखापत्रमा लेखिएको थियो, ‘नेपाली कांग्रेसले धनकुटा पनि कब्जा ग¥यो ।’ खबरले मलाई साह्रै प्रभावित बनायो । म पनि झनै कस्सिएर राणाविरोधी आन्दोलनमा लागँे । प्रजातन्त्र स्थापनापछि २००८ सालमा बिपी इलाममा आउनुभयो, गृहमन्त्री भएर । त्यति बेलै मैले नेपाली कांग्रेसको सदस्यता लिएँ ।
प्रस्तुति, सरिता सुबेदी

प्रतिक्रिया