आगलागीमा ६ को मृत्यु, १ घाईते

काठमाडौं, २१ फागुन । काठमाडौंको कालिमाटीस्थित तरकारी बजारमा भिषण आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् ।
मृत्यु हुनेमा दाङ घर भएका एकै परिवारका चार जना रहेका छन । तरकारी बजारमा सुरक्षा गार्डको काम गर्दै आएका हिराबहादुर बुढा र उनकी छोरी शान्ति र निरा तथा छोरा निराजनको मृत्यु भएको महानगरीय प्रहरीले जनाएको छ । सुरक्षा गार्ड बुढाकी घाईते श्रीमती ३६ बर्षीया हिक्का रोकाको छाउनीस्थित नेपाली सेनाको अस्पतालमा उपचार भईरहेको छ । उनको अवस्था खतरा मुक्त रहेको छ । मृत्यु भएका अन्य दुई जनाको सनाखत हुन सकेको छैन ।
गएराती सवा दस बजेदेखि सुरु भएको आगलागीले कालिमाटी तरकारी बजार भित्र रहेका ३ सय ६४ टहरा पसल जलेर नष्ट भएको कालिमाटी प्रहरी बृत्तका प्रमुख डिएसपी टेकबहादुर तामाङले जानकारी दिएका छन् ।
अचानक विद्युत सर्ट भएर सुरु भएको आगलागी आज विहान पौने दुई बजे मात्रै नियन्त्रणमा आएको प्रहरीले बताएको छ । आगलागीले पुराएको भौतिक क्षतिको बिवरण संकलन गर्ने कार्य भईरहेको छ । प्रारम्भिक अनुमान अनुसार दस करोड भन्दा बढिका तरकारी र अन्य भौतिक सामान जलेर नष्ट भएका छन् ।
यसैवीच, प्रधानमन्त्री बाबराम भट्टराईले गृहमन्त्री विजय गच्छेदारलाई बोलाएर आगलागीमा ज्यान गुमाउनेका परिवारालाई क्षतिपूर्ति उपलब्ध गराउन निर्देशन दिएका छन् ।

प्रतिक्रिया