आफ्नै पार्टीका नेतामाथि गच्छदारको ‘सुराकी’

काठमाडौँ, २० फागुन । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदारले आफ्नै पार्टीका वरिष्ठ नेता शरत्सिंह भण्डारीमाथि ‘सुराकी’ गरिरहेका छन् । भण्डारीको गतिविधि निगरानी गर्न उनले राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी नै खटाउने गरेको स्रोतको दाबी छ ।
रक्षामन्त्रीबाट पदमुक्त हुनेबित्तिकै भण्डारीले एक महिना लामो मधेस जागरण अभियान सुरु गरेका थिए । पार्टी फुटाउन सो अभियान थालिएको ठानेर गच्छदार निकै सशङ्कित बनेको स्रोतले बतायो । ‘मधेस जागरण अभियानदेखि नै गृहमन्त्रीले चौबीसै घन्टा राष्ट्रिय अनुसन्धानका सुराकी खटाएर भण्डारीका हरेक गतिविधिको जानकारी लिने गरेका छन्,’ स्रोतले भन्यो । अभियानका क्रममा भण्डारीले मधेसका २२ वटै जिल्लाको भ्रमण गरेका थिए । ती सबै भ्रमणमा भण्डारीलाई सुराकीहरूले पछ्याएको स्रोतको दाबी छ । ‘उनले को–कोसँग भेटेर के–कस्ता कुरा गर्छन् भन्ने गच्छदारले जानकारी लिन खोजेका हुन्,’ स्रोत भन्छ ।
आफूमाथि कसैले सुराकी गरिरहेको गन्ध भण्डारीले पनि पाएका छन् । ‘ममाथि कसैले सुराकी खटाएजस्तो लाग्छ,’ उनले सौर्यसँग भने, ‘म जहाँ जाँदा पनि पहिले कहिल्यै नदेखेका नौला मानिस वरिपरि देख्छु ।’ विशेषगरी जिल्ला भ्रमणमा जाँदा अपरिचितहरूले आफूलाई पछ्याएको महसुस गरिरहेको उनले बताए ।
अध्यक्ष गच्छदारसित नजिक मानिने वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादवले सुराकी गरिएकोबारे आफूलाई जानकारी नरहेको बताए । ‘मलाई त्यस्तो लाग्दैन,’ उनले भने, ‘त्यसरी सुराकी खटाउनुपर्ने कुनै आवश्यकता छैन । यो बेकारको प्रचारबाजी हो ।’
रक्षामन्त्रीबाट पदमुक्त भएपछि भण्डारीको पार्टी अध्यक्ष गच्छदारसित सम्बन्ध बिग्रिन थालेको थियो । त्यसअघिसम्म भण्डारी गच्छदारका अभिन्न सहयोगी मानिन्थे । अहिले उनीहरूबीच सामान्य बोलचालसमेत छैन । यहाँसम्म कि भण्डारी पदमुक्त भएयता दुई नेता सार्वजनिक कार्यक्रममा कहिल्यै सँगै देखिएका छैनन् । मर्यादाक्रममा भण्डारी पार्टीको दोस्रा नेता मानिन्छन् र उनी संसदीय दलका उपनेता पनि हुन् ।
गच्छदारले आफूमाथि अन्याय गरेको भन्दै पार्टीका पछिल्ला बैठकमा भण्डारीले आक्रोश पोख्दै आएका छन् । उनले गच्छदारको व्यवहारबाट पार्टी दुर्घटनामा पर्ने भन्दै पार्टी फुटाउने घुमाउरो चेतावनी दिने गरेका छन् । भण्डारी भन्छन्, ‘पार्टीका बैठकमा मैले गच्छदारको यस्तो व्यवहारले पार्टीलाई हानि गर्छ भन्दै आएको छु, तर उहाँ मेरो कुनै कुरा सुन्नुहुन्न ।’
रक्षामन्त्रीबाट पदमुक्त भएकै दिन भण्डारीले सहयोगीहरूसित मिलेर पार्टी फुटाउने अन्तिम तयारी गरेका थिए । तर, एकपटक फुटिसकेको पार्टी फेरि फुट्दा सभासद् पद गुम्ने भएकाले नयाँ पार्टी घोषणा नभएको स्रोतको भनाइ छ ।

प्रतिक्रिया