गाँठो फुकाउन कांग्रेस तयार हुनुपर्छः प्रधानमन्त्री

काठमाडौं, २० फागुन । प्रधानमन्त्री बाबुराम भट्टराईले मुलुकमा देखिएको गतिरोध अन्त्यका लागि गाँठो फुकाउन कांग्रेस तयार हुनपर्ने बताएका छन् ।

कांग्रेस संस्थापक नेता कृष्णप्रसाद भट्टराईको प्रथम बार्षिकीका अवसरमा ललितपुरको बाडेगाउँमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री भट्टराईले शान्ति प्रक्रिया र संविधानका बिषयमा कांग्रेसले पनि गाँठो फुकाउन आवश्यक रहेको बताए । एकीकृत माओवादीले शान्ति प्रक्रिया र संविधानका हरेक बिषयमा सहयोग र योगदान गरेको दाबी गरेका उनले गाँठो फुकाउने पालो अब कांग्रेसको रहेको बताए ।

जेठ १४ गते भित्रै संविधान जारी गर्नुको बिकल्प नरहेको भट्टराईको भनाई  थियो । उनले अब शान्ति र संविधानको बिकल्प खोज्न नहुने बताएका छन् । संविधान जारी गर्न नसके मुलुकमा रक्तपात हुने भट्टराईको चेतावनी छ । उनले शान्ति प्रक्रिया अबका केही दिनमै टुङगो लाग्ने पनि दाबी गरे ।

कांग्रेस सभपाति सुशील कोइरालाले माओवादीका कारण शान्ति प्रक्रिया अल्झिएको आरोप लगाए । उनले माओवादी ईमान्दार हुने हो भने शान्ति प्रक्रिया र संविधान बनाउन कुनै समस्या नरहेन दाबी गरेका छन् । शान्ति प्रक्रियालाई टुङगोमा पुराएर मात्रै संविधान जारी हुने भएकाले माओवादीलाई त्यस बिषयमा गम्भिर हुन कोइरालाको सुझाव थियो ।

संविधानसभा अध्यक्ष सुवास नेम्वाङले पनि प्रमुख दलहरुलाई नजिकीदै गरेको जेठ १४ गतेका बिषयमा ध्यान दिन आग्रह गरेका थिए । उनले राजनीतिक सहमतिका साथ बिवादित बिषय टुङगो लगाएर निकास खोज्न माओवादी, कांग्रेस र एमालेलाई सुझाव दिएका छन् ।

प्रतिक्रिया