काठ तस्करीमा लडाकुका कमाण्डर

चितवन, २० फागुन । काठ चोरी तस्करी गर्ने क्रममा चितवनको शक्तिखोरस्थित माओवादी लडाकु शिविर तेस्रो डिभिजनका दुई जना कमाण्डर सहित उनीहरुले प्रयोग गरेको गाडी पक्राउ गरिएको छ ।

पूर्वी चितवनको उदयपुर सामुदायिक वन उपभोक्ता समुह जुटपानीको वन क्षेत्रबाट चोरी तस्करी गरि लाँदै गरेको अवस्थामा सालका ३ थान गोलिया सहित दिनेश रामजी स्मृती व्रिगेडका बटालियन कमाण्डर भीमबहादुर के.सी. र कम्पनी कमाण्डर लक्ष्मण धामी पक्राउ परेका हुन् ।

उनीहरुलाई शुक्रबार राती नौ बजे पक्राउ गरिएको थियो । लडाकुका कमाण्डर केसी र धामीले शिविरको बा. ००१ अ. ५५ नम्वरको तरकारी बोक्ने गाडीमा राती करिब ९ वजे सालका गोलिया काठ अवैध रुपमा लाँदै गर्दा पक्रउ परेका हुन् । उनीहरुलाई वन समुहका हेरालु, स्थानीय उपभोक्ता एवं वनका अधिकारीले जुटपानी १ खोलेसिमलमा पक्राउ गरेका थिए ।
बरामद गरिएको सालको काठ, सवारी साधन राती नै जिल्ला वन कार्यालयका सहायक वन अधिकृत इमानाथ पौडेलको जिम्मा लगाएर जिल्ला वन कार्यालय चितवन पठाइएको उदयपुर वन समुहका अध्यक्ष केशव लामाले बताए ।

बरामद गरिएको काठ अन्दाजी ४० क्यु फिट रहेको र त्यसको बजार मुल्य १ लाख रुपैयाँ भन्दा बढि पर्ने अध्यक्ष लामाले बताए । यस अगाडि पनि सो वन समुहले माओवादी लडाकुहरुबाट अवैध ओसार पसार भएको काठ पक्राउ गर्दै आएको थियो ।  पक्राउ परेका माओवादी लडाकुलाई साल काठ चोरी तस्करी अभियोगमा मुद्दा चलाइने जिल्ला वन कार्यालय चितवनका प्रमुख इन्द्र प्रसाद सुवेदीले जानकारी दिएका छन् ।

प्रतिक्रिया