सहिद बस्तीमा वाढाङमी

कात्तिके पूर्णेपछिको पहिलो मङ्गलबार । प्रायः सधैँ सुनसान रहने छिन्ताङ बस्ती गुलजार छ । साँझ ढल्किदै छ । छिन्ताङको माझगाउँमा मान्छेको भिड बढ्दो छ, मानौ, यो कुनै व्यस्त सहर हो । ०३६ साल (छिन्ताङ हत्याकाण्ड) मा लागेको यो ‘सहिद गाउँ’ को गहिरो घाउ अझै निको भएको छैन । कम आशा, बढी गुनासो र आक्रोशका साथ बाँचिरहेका छिन्ताङेहरू गरिबीको माखेसाङ्लोमा नराम्ररी बाँधिएका छन् । नजिकै बगिरहेको तमोर नदीभन्दा लामो दुःखका शृङ्खला खेप्दै आएका छिन्ताङेहरू आज सबै दुःख भुलेर खुसी बाँड्न भेला भएका छन् । उनीहरू ‘वाढाङ्मी’ नाचेर आफ्नो दुःख भुल्छन् । ‘वाढाङ्मी’ नाचेरै खुसी र प्रेम बाँड्छन् उनीहरू । यस्तो लाग्छ, हरेक वर्ष ‘वाढाङ्मी’ले खुसी बोकेर ल्याउँछ उनीहरूका लागि । ‘हामी सबै दुःख भुलेर ६ दिनसम्म ‘वाढाङ्मी’ नाच्छौँ,’ उनीहरू भन्छन् । छिन्ताङेहरूलाई साथ दिन भोजपुर, तेह्रथुम, सुनसरीलगायत जिल्लाबाट पनि मान्छेहरू आएका छन् । बच्चादेखि पाकासम्म ‘मुड’मा छन् ।
नाच सुरु गर्ने बेला भयो । किराती पुजारीहरू साकेवा थानमा आफ्नो कुल देवता बुढाहाङलाई कुखुराको चल्ला, अन्डाले पूजा गर्दै छन् । बुढाहाङलाई आफ्नो जन्मदाता र कर्मदाता मान्छन् यस क्षेत्रका बासिन्दा । ‘बुढाहाङले यस क्षेत्रमा लामो समयसम्म शासन गरेका थिए,’ किराती मिथकमा भनिएको छ, ‘यसर्थ, उनी जन्मदाता र कर्मदाता दुवै हुन् ।’ पूजा सकिँदा रिमरिम साँझ परिसकेको छ । अधिकांशको हातमा ढोल, झ्याम्टा छ । बीचमा आगो बालिएको छ । त्यसका वरिपरि कुम जोडेर सबै गोलाकार भएर गाउँदै छन्
तम्बुरै कोसी, अरुनै कोसी
आ… है, बग्दछ सलल
खुसीले नाचौ“, सुखीले बा“चौ“
आ… है, मरेर लानु के छ र ?
नाच्न पनि उत्ति अप्ठ्यारो छैन । खुट्टा तीन ‘स्टेप’ अघि र तीन ‘स्टेप’ पछि सारे पुग्छ । ढोल, झ्याम्टा र गीतको तालमा बिस्तारै खुट्टा अघिपछि सर्नुपर्छ । ‘वाढाङ्मी’मा गाइने गीतलाई पापानी गीत पनि भनिन्छ । एकदमै ढिलो शैलीमा गाइन्छ यो गीत । सबैले सजिलै गाउन सक्छन् । गीतमा उनीहरूले बाँचेको विगत हुन्छ, भोगिरहेको वर्तमान हुन्छ र भोग्नुपर्ने भविष्य पनि । गीतमा भूगोल हुन्छ र समाज पनि । तर, निराशा भने कहीँ हुँदैन । ‘हामी खुसीका साथ उत्साह र ऊर्जाका गीत गाउँछौँ, निराशा हुँदैन’ स्थानीय गोविन्द राई भन्छन्, ‘जति बाँचिन्छ, खुसीले बाँच्नुपर्छ सबै गीतको सार यही हुन्छ । किराती संस्कारमा जाडरक्सी नभई हुँदैन । नाच्नेहरू सबैलाई घर–घरबाट ल्याइएको जाँडरक्सी बेलाबेलामा बाँडिन्छ ।
मूलतः छिन्ताङ क्षेत्रका किरात–राईहरूले नाच्ने नाच हो यो । तर, सबै धर्म सम्प्रदायका मान्छेहरू उत्तिकै रमाइलोका साथ नाचिरहेका छन् । ‘यस्ता मौलिक संस्कार, संस्कृतिहरू नेपालीका साझा हुन्,’ जोड–जोडका साथ पापानी गीत गाउँदै नाचिरहेका भोजपुरका हरि थापाले भने, ‘यो जात, त्यो जातको भन्नुभन्दा पनि हाम्रो भनेर संरक्षण गर्नुपर्छ ।’ रात छिप्पिइरहेको छ, नाचको रौनक झनै बढ्दै छ । झनै चर्को–चर्को स्वरमा ढोल, झ्याम्टा बजाउँदै जोड–जोडका साथ गीत गाइँदै छः
भेट भयो आज थुमथुममा
जोडेर सबै कुमकुममा
कसरी नाच्न सुरु गरियो वाढाङ्मी ? ‘यसको लामो मिथक छ,’ स्थानीय ओमकार राई भन्छन्, ‘यो नाचको सुरुआत हाम्रो आदिम सभ्यतासँग जोडिएको छ ।’ हरेक किराती मिथक उनीहरूको आदिम सभ्यताको इतिहास हो । किराती पुर्खाहरूको ओठमा झुन्डिएका मिथकमा किरातीहरूको सभ्यताको गौरवगाथा पाइन्छ । किराती मिथकअनुसार वाढाङ्मी राजा बुढाहाङको पालादेखि नाच्न थालिएको हो ।
‘बुढाहाङका ६ जना छोरी थिए, उनले आफ्ना छोरीलाई सबै खालका स्वतन्त्रता प्रदान गरेका थिए । कात्तिके पूर्णिमापछिको पहिलो मङ्गलबार बुढाहाङका तीन छोरीले नजिककै जङ्गलमा वनभोज खाएर ६ दिनसम्म नाच्दै रमाइलो गरेका थिए,’ किराती मिथकमा उल्लेख छ, ‘छोरीहरूको खुसियालीमा राजा बुढाहाङले राज्यमा ६ दिनसम्म सबैलाई बिदा दिएका थिए ।’
अझै पनि ६ दिनसम्म कुनै पनि काम गर्दैनन् छिन्ताङेहरू । उनीहरू यसलाई ‘बारन’ भन्छन् । ‘खेतबारीमा पस्नु हँुदैन,’ राई भन्छन्, ‘६ दिनसम्म बारन अनिवार्य हो ।’ अझ यो ‘बारन’को बेला आफ्ना छोरीचेलीलाई कुनै पनि खालको नराम्रो वचन गर्नु हँुदैन भन्ने मान्यता छ । सकेसम्म छोरीहरूलाई खुसी पार्नसके पितृ–देवता खुसी हुन्छन् भन्ने मान्यता उनीहरू राख्छन् ।
०००
छर्लङ्ग उज्यालो भइसकेको छ । तर, उत्तिकै जोसका साथ नाचिरहेका छन्, मानौँ भर्खरै मात्रै नाच्न सुरु गर्दै छन् उनीहरू । कसैले पनि थाकेको महसुस गरेका छैनन् । ‘कता थाक्नु नि हौ !’ स्थानीय जयन्ती राईले प्रतिप्रश्न गरिन्, ‘अझै पाँच दिन नाच्नुपर्छ एकदिनमै थाकेर कसरी हुन्छ त ?’ हामीलाई धनकुटा सदरमुकाम फर्किन हतारो थियो । मङ्गलबार साँझदेखि सुरु भएको नाच बुधबार अबेरसम्म चलिरहेको थियो । ‘अझै पाँच दिनसम्म नाचिन्छ,’ उनीहरू भन्दै थिए । हामी जयन्ती दिदीको अभैm पाँच दिनसम्म नाच्ने योजना र उत्साहलाई सलाम गरेर आफ्नो बाटो लाग्यौँ । उनीहरू झनै चर्को स्वरमा गाइरहेका थिएः
तम्बुरै कोसी, अरुनै कोसी
आ… है, बग्दछ सलल
खुसीले नाचौ“, सुखीले बा“चौ“
आ… है, मरेर लानु के छ र ?

प्रतिक्रिया