‘म भूमिगत कवि’

परि थापा, नेता, नेकपा एकीकृत,

तपाईंको व्यक्तिगत जिन्दगी कतिको सुखी र खुसी छ ?
–    दुःख मान्ने गरी यो वा त्यो भइदिएको भए हुन्थ्यो, भएन भन्ने कुनै पश्चात्ताप र गुनासो छैन । असन्तुष्ट हुनपर्ने खास केही छैन । फेरि असन्तोषको कुनै सीमा हँुदैन र सन्तोषको पनि । राजनीतिमा अत्यन्त धेरै प्रतिस्पर्धा हुन्छ ।
तपाईंको दुःख के हो ?
–    जति व्यवस्थित भएर हिँड्न र चल्न सकिन्थ्यो, त्यति हुन सकिएन कि भन्ने लाग्छ ।
तपाईंको खुसी के हो ?
–विभिन्न क्षेत्रका मान्छेहरू मसँग केही आशा बोकेर आउँछन् । सकेको सहयोग गर्न पाउँदा, मैले आर्जन गरेका ज्ञान, सीप र अनुभव बाँड्न पाउँदा असाध्यै खुसी लाग्छ ।
तपाईंका कमजोरी ?
– जसरी सबै तह र तप्काका मान्छेसँग आफै घुलमिल गर्नसक्नुपर्ने हो, त्यसरी गर्न सकिनँ जस्तो लाग्छ । म एक्लै पनि रमाउन सक्छु । योचाहिँ मेरो कमजोरी हो भन्ने लाग्छ ।
तपाईंको बलियो पक्ष ?
– व्यक्तिगत, सामाजिक र राजनीतिक जीवनमा ठिक्कको (मोडोरेट) अवस्था रहोस् भन्ने चाहन्छु । यसले सधैँ एक प्रकारको सन्तुलन राख्छ । म सबै हिसाबले सन्तुलित छु भन्ने लाग्छ ।
कतिबेला भावुक हुनुहुन्छ ?
– जिन्दगीको लामो समय बिताइसकियो, जस्तोसुकै अवस्थामा पनि भावुकताले छुन्छ, कहिले हिँड्दा–हिँड्दै, कहिले बोल्दा–बोल्दै र कहिले खाँदा–खाँदै । खाली भावुकतालाई कसरी प्रस्तुत गर्ने भन्ने कुरामा मात्रै फरक हुन्छ ।
भावुकतालाई कसरी प्रकट गर्नुहुन्छ ?
– प्रायः लेख्छु । हिजोआज कविताका रूपमा फेसबुकमा पोस्ट गर्ने गरेको छु । अस्ति मेरो कविता पढेर एउटा साथीले ‘तपाईं त भूमिगत कवि हुनुहुँदोरहेछ’ भनेर कमेन्ट गर्नुभएछ । उहाँको भाषामा ‘म भूमिगत कवि’ ।
कति  वेला उत्तेजित हुनुहुन्छ ?
–छलफलको दौरानमा तर्कवितर्क हुँदा तथ्यमा आधारित नभएर आरोपित गर्ने हिसाबकिताबले तर्कवितर्क गरिँदा उत्तेजित हुन्छु ।
कति बेला संयमित हुनहुन्छ ?
– सधैँ संयमित हुने प्रयत्नमा हुन्छु । सबै काम सन्तुलित भएरै गरिरहेको हुन्छु ।
कति  बेला आँसु आउँछ  ?
– मैले नजिकका ठानेका आफन्त र मित्रजनले मेरो कुरा नबुझदा वा बुझे पनि नबुझेजस्तो गरिदिँदा आँसु आउँछ ।
तपाईंको आदर्श व्यक्ति ?
– म भौतिकवादी मान्छे । व्यक्तिपूजामा विश्वास छैन । आदर्श मान्नेभन्दा पनि मानवजातिका हितका पक्षमा, समाज–परिवर्तनका पक्षमा विभिन्न हिसाबले योगदान पुरायाएकाहरुबाट सिक्ने हो ।
तपाईंले घृणा गरेको मान्छे ?
– कुनै पनि मान्छेलाई घृणा गर्नुहुँदैन । कसैलाई घृणा गरियो भने त्यसले तपाईंलाई नकारात्मक बाटोतिर लैजान्छ । सकेसम्म सबै कुरा संयम र सन्तुलनमा राख्नुपर्छ ।
मन पर्ने लेखक ?
– धेरै छन् । दर्शनको हिसाबले हेगेल मनपर्छ । अरूले ‘हिस्ट्री अफ फिलोसोफी’ लेखे तर उनले ‘फिलोसोफी अफ हिस्ट्री’ लेखे । यस्तै कार्लमाक्र्स, सेक्सपियर र जर्ज बर्नाड मलाई मन पर्ने लेखक हुन् । बिपी कोइरालाले लेखेका साहित्य मन पर्छ । विश्लेषणको हिसाबले मोहनविक्रम सिंहका लेखन मन पर्छ । विचार फरक भए पनि चिजहरुलाई ठीक तरिकाले विश्लेषण गर्ने उहाँको खुबी मन पर्छ ।
मन पर्ने पुस्तक ?
– एउटै मात्रै पुस्तक छैन । सबै विद्याका पुस्तक उपयोगी हुन्छ । मलाई खासगरी दर्शन, राजनीति, साहित्य र विज्ञानका पुस्तक मन पर्छ ।
मन पर्ने  नेता ?
– तोकेरै भन्नपर्ने त्यस्तो कुनै नेता छैन । हामी नेपाली नेताहरू सम्बोधन गर्नेमा माहिर छौँ । तर, व्यवस्थापनमा भने सब कमजोर छौँ ।
नशाको हस्तक्षेप तपाईंको जीवनमा कस्तो छ ?
– सकारात्मक हस्तक्षेप छ । मेरो ‘प्रेसर लो’ छ । डाक्टरले पनि हल्का पिउन सल्लाह दिएको छ । त्यहीअनुसार पिउँछु ।
प्रेमको हस्तक्षेपचाहिँ तपाईंको जीवनमा कस्तो छ ?
– प्रेम भनेको आकर्षण मात्रै होइन, सम्मान पनि हो । यदि तपाईं कसैलाई प्रेम गर्नुहुन्छ भने सम्मान पनि गर्नुपर्छ । प्रेम र सम्मान दुवै गर्नुभयो भने खुसी रहन सक्नुहुन्छ । र, सम्बन्ध पनि दिगो हुन्छ । प्रेमले निराशा होइन ऊर्जा र उत्साह थप्नुपर्छ । मेरो जीवनको सन्दर्भमा पनि प्रेमले उत्साह र ऊर्जा थपेको छ । प्रेम गर्नुभन्दा पनि प्रेमिल भइराख्नु ठूलो हो ।
परि थापाबाट अरूहरूले के सिक्ने ?
– हामीबाट नयाँ पुस्ताले सिक्नुपर्ने लगनीशलता, नियमितता र  धैर्य हो । कसैको फ्यान हुनु ठूलो होइन तर, उसबाट सिक्नु ठूलो हो । धेरैले मेरो अध्ययन र प्रस्तुति ठीक छ भन्छन्, त्यो ठीक छ भने त्यही सिके हुन्छ ।

प्रस्तुतिः राजेश राई

प्रतिक्रिया